१८ असार २०८१ मंगलबार
image/svg+xml
शिक्षा

सहरमा अनलाइन पढाई, गाउँका अलमल

वैकल्पिक विधिबाट कक्षा संचालनको माग गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञाप्रसाद ढकाललाई ध्यानाकर्षण पत्र बुझाइदैँ । तस्बिर : सरिता/नागरिक

गजुरी गाउँपालिका वडा नं १ की साम्भवी थापा आर्दश बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत छिन्। कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढेसँगै विद्यालयको पठनपाठन पनि पूर्ण रुपमा बन्द भएपछि पढाई प्रभावित बन्न पुग्यो। पढाईलाई निरन्तरता दिनका लागि विद्यालयले अनलाइन माध्यमबाट पढाउँदै आइरहेको छ। अनलाईन कक्षा पढ्न कै लागि उनले मोबाइल किनिन्, घरमा इन्टरनेट जडान समेत गरिन्।  

अनलाइनमा कक्षा भइरहँदा समय समयमा बिजुलीबत्ती जाने, नेट नचल्ने समस्या भोग्नु परेको उनले बताइन्। ‘अनलाइन कक्षा पढ्नकै लागि मोबाइल किने, इन्टरनेट जोडे तर पढाई हुने बेला बिजुलीबत्ती जादाँ, नेट जाने गर्छ,’ उनले भनिन्, ‘कक्षाकोठामा पढेको जस्तो अनलाइन पढ्दा त्यति बुझिँदैन।’ अनलाइन कक्षा पढ्न सबैको पहुँच नहुदाँ विद्यार्थी संख्या पनि थोरै हुने गरेको उनले बताइन्।  

कोभिडको संक्रमण दर बढेपछि जारी गरिएको निषेधाज्ञापछि सहरका अधिकांश विद्यालयहरूमा अनलाइन माध्यमबाट पढाई भइरहेको छ भने ग्रामीण भेगका विद्यार्थी अन्यौलमा छन्। इन्टरनेट, विद्युत् तथा प्रविधिमा दक्ष शिक्षक–शिक्षिकाजस्ता स्रोतको कमीले गर्दा ग्रामीण क्षेत्रमा कोरोनाले विद्यालय बन्द भएपछि पढाइ सुचारु हुन सकेको छैन। यसले गर्दा भविष्यमा सहर र ग्रामीण क्षेत्रमा समान तहको शिक्षा हासिल गरेका विद्यार्थीमा डिजिटल डिभाइडको चुनौती बढ्दै जाने देखिएको हो।

चितवनमा कक्षा ८ मा पढ्दै गरेका नीलकण्ठ नगरपालिका वडा न १२ का कृष्ण अधिकारीलाई पनि थापाको जस्तै समस्या छ। अनलाइन कक्षा सुरु हुने बेला नेट जाने, पढाई नबुझिने लगायतको समस्या हुने गरेको उनले बताए। ‘कक्षामा पढेको जस्तो राम्रोसँग बुझिँदैन पनि, सबै जना उपस्थित पनि हुँदैन,’ उनले भने, ‘नेट राम्रो नचल्दा समस्या भोग्नुपरेको छ।’ उनको एकाघरमा तीन जनाले अनलाइनबाट पढ्ने गरेका छन्। प्रत्येकलाई छुट्टाछुट्टै मोबाइल पनि चाहिने भएका कारण आर्थिक भार हुने गरेको अभिभावकको भनाई छ।    

निजी विद्यालयका विद्यार्थीहरूले अनलाइन कक्षा लिएपनि सरकारी विद्यालयमा भने पढाइ हुन सकेको छैन। शहर बजार समेत यस्ता समस्या भोग्दै आइरहेका ठाउँमा ग्रामीण क्षेत्रका विद्यार्थीहरु भने अलमलमा छन्। न मोबाइलको नेटवर्क चल्ने न इन्टरनेट नै चल्ने, प्रविधिसँग जोडिन नसकेको विद्यार्थीहरुको भनाई छ। प्रविधिलाई राम्रोसँग प्रयोग गर्न नसक्ने विद्यालयका धेरै शिक्षकलाई अनलाइन कक्षा लिन समस्या हुने गरेको छ। सधैँ कक्षा कोठामा अध्यापन गराएका शिक्षकहरुलाई एकैपटक अनलाइनमा कक्षा लिनुपर्दा सुरुसुरुमा निकै समस्या भएको थियो।  

लामो समय पढाई प्रभावित हुँदा विद्यार्थीहरुले पढाई समेत विर्सन थालेका छन्। यसै सन्दर्भलाई ध्यानमा राखेर अनेरास्ववियु धादिङले वैकल्पिक विधिबाट कक्षा संचालनको माग गर्दै जिल्लाका सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ। जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय इकाईसहित जिल्लाका १३ वटै स्थानीय सरकारलाई माधव नेपाल पक्षका अनेरास्ववियुले ध्यानाकर्षण पत्र बुझाएको हो।  

सुरक्षित उपायहरुको अवलम्बन गरेर वा अन्य प्रविधि मार्फत विद्यालय पुनः सञ्चालन गर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराइएको अनेरास्ववियु धादिङका अध्यक्ष मिश्र शाक्यले बताए। ‘सुरक्षित उपायहरुको अवलम्बन गरेर हामीले भौतिक रुपमा वा अन्य प्रविधि मार्फत विद्यालय पुनः सञ्चालन गर्न सकेनौ भने यसबाट शिक्षा क्षेत्रमा अपुरणीय क्षति हुने सम्भावना उच्च रहन्छ’, उनले भने, ‘स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर विद्यालय गर्ने अथवा सम्पूर्ण विद्यार्थीसम्म बैकल्पिक विधिबाट नियमित शिक्षा आर्जन गर्न सक्ने व्यवस्था मिलाउने निर्णय लिनु उत्तम हुने देखिन्छ।’  

उच्च जोखिम क्षेत्रको पहिचान गरि त्यस क्षेत्रमा दुर शिक्षाको प्रभावकारितालाई बढाएर न्युन जोखिम क्षेत्रको पहिचान गरि त्यस क्षेत्रमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ गरि विद्यालय सञ्चालन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा लेखिएको छ। उत्तरी र दक्षिणी भेगका दुर्गम भूभागमा अनलाइन कक्षाको प्रभावकारिता नरहेकोले २ समुहमा विभाजन गरेर भएपनि कक्षा संचालनको व्यवस्था मिलाउन अनेरास्ववियुले माग गरेको छ। विद्यालय पुनः सञ्चालन कहिले र कसरी गर्ने भन्ने विषय आजको प्राथमिकतामा राखिनुपर्ने मिश्रले बताए।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढेका कारण सरकारको निर्देशनमा जिल्लाका सबै विद्यालयमा भौतिक उपस्थिति बन्द गराइएको धादिङप्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए। ‘सरकारले कोरोनाको त्रास बढेकोले विद्यालयहरू तत्कालका लागि नखोल्न भनेको छ हामीले पनि त्यहि अनुसार सबै स्थानीय तहलाई निर्देशन दिएका हौँ,’ प्रजिअ ढकालले भने, ‘बैकल्पिक विधिको बारेमा छलफल भइरहेको छ।’

प्रकाशित: १ भाद्र २०७८ १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App