२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

निजी विद्यालयका शिक्षकलाई खोप व्यवस्था गर्न माग

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) काठमाडौंले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पनि कोरोना भाइरसविरुद्धको खोप व्यवस्था गर्न माग गरेको छ। सोमबार काठमाडौं जिल्ला अध्यक्ष सुरेश भट्ट, सचिव भूपाल उप्रेतीलगायत कार्य समितिका सदस्यहरूले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पनि सहज रूपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पहल गरिदिन भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय टेकु र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाएका छन्।

निषेधाज्ञाको अघिल्लो दिन वैशाख १५ गतेसम्म पनि विद्यालय खुलेका र फेरि भौतिक रूपमा विद्यालय सञ्चालन हुने बित्तिकै शिक्षक तथा कर्मचारी विद्यार्थीको प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने भएकाले प्राथमिकतामा राखी खोप उपलब्ध गराउन माग गरिएको अध्यक्ष भट्टले बताए। उनले सरकारले वास्ता नगरेकोमा गुनासो गरेका छन्। ‘स्वास्थ्य, सुरक्षा, पत्रकारिता लगायत क्षेत्रलाई अग्रपंक्तिमा राखेर प्राथमिकता दिइयो,’ उनले भने, ‘तर विद्यार्थीको भिडभाडमा रहेर अध्ययन अध्यापन गराउने शिक्षकलाई भने अहिलेसम्म पनि वास्ता गरिएको छैन।’  

सरकारले खोल्ने अनुमति नदिए पनि निजी विद्यालयले कहिले अभिभावकसँग छलफल, कहिले स्टाफ मिटिङ त कहिले विद्यार्थीसँग अन्तर्क्रिया गर्ने बहानामा विद्यालय बोलाउने गरेको र भेलामा प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने भएकाले शिक्षक तथा कर्मचारीहरू बढी जोखिममा रहेको पत्रमा उल्लेख छ। हालै शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई प्राथमिकताका साथ निजी विद्यालयका शिक्षकलाई पनि खोप व्यवस्था गराउन आग्रह गरी पत्र पठाएको भए पनि कार्यान्वयन नभएको युनियनका सचिव भूपाल उप्रेतीले गुनासो गरेका छन्।

प्रकाशित: २२ असार २०७८ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App