coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

‘कोभिडको अवस्था हेरी कक्षा १० र १२ को परीक्षा लिनू’

राष्ट्रिय परीक्षा बोर्डले गठन गरेको एसइई र कक्षा १२ को परीक्षा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी अध्ययन समितिले बिहीबार सुझावसहितको अध्ययन प्रतिवेदन बुझाएको छ। समिति संयोजक बैकुण्ठ अर्यालले बुझाएको अध्ययन प्रतिवेदनमा कोरोना माहामारीको अवस्था आँकलन गरेर मात्र परीक्षाको मोडल तय गरी एसइई र कक्षा १२ को परीक्षा सञ्चालन गर्न सुझाइएको छ।

बोर्ड अध्यक्ष डा. चन्द्रमणि पौडेलले प्रतिवेदनमा एसइई र कक्षा १२ को परीक्षाको मोडेलबारे विकल्पहरू उल्लेख छन्। उनका अनुसार प्रतिवेदनमा सूचनाहरू बढी समेटिएका छन्। बोर्डले सूचनाहरूको अध्ययन गरेर मात्र निर्णय लिनेछ।  ‘समितिले मेचीदेखि महाकालिसम्मका शिक्षक, विद्यालय सञ्चालक, विद्यार्थी, विद्यार्थी संगठन, अभिभावक, प्याब्सन, एनप्याबसन तथा हिसानलगायत सबै सरोकारवालासँग एसइई र कक्षा १२ को परीक्षा सञ्चालन र कोभिडको अवस्थाबारे स्थानीय निकायका प्रतिनिधिहरूसँग छलफल गरी सूचना र सुझावसहितको प्रतिवेदन बुझाएको छ,’ अध्यक्ष पौडेलले प्रतिवेदन बुझेपछि नागरिकसँग भने, ‘सूचनाहरू धेरै आएका छन्।’ उनले थपे, ‘विशेष गरी महामारीको अवस्था घट्दै गए उपस्थितिकै आधारमा, बढ्दै गए वैकल्पिक माध्यम र यथावत् रहे विद्यालयसँग सहकार्य गर्ने लगायत विकल्पहरू प्रतिवेदनले सुझाएको छ।’ उनले अब बोर्ड बैठक दुई दिनभित्र बसेर सदस्यहरूसँग छलफल गरी निर्णय गरिने जनाए।  

बोर्डका सदस्य सचिव दुर्गा अर्यालले समितिले बुझाएको प्रतिवेदनको सुझावहरूमा केही कानुनी बाधाअड्चन आउने भएकाले त्यस विषयमा बोर्डले छलफल गरि अघि बढ्ने बताए। उनले शिक्षा ऐनअनुसार एसइईको परीक्षा सञ्चालन, व्यवस्थापन र नतिजा प्रकाशन तथा प्रमाणपत्र वितरणसम्मको जिम्मेवारी बोर्डलाई दिएको छ। तर माहामारीका कारण गत वर्ष पनि मन्त्रिपरिषद्को निर्णयबाट अघि बढेको बताउँदै उनले हाल पनि समितिको प्रतिवेदनको सुझावअनुसार कोरोना अवस्था आँकलन गरी बोर्डले निर्णय गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाउने बताए।  

‘हाल एसइई र कक्षा १२ को परीक्षा सञ्चालनका लागि समितिले अध्ययन गरी बुझाएको प्रतिवेदनका विकल्पमा कानुनी जटिलता देखिएको छ,’ सदस्य सचिव अर्यालले भने, ‘शिक्षा ऐनले बोर्डले लिने भनेको छ। यसैगरी पाठ्यक्रमले बोर्डले विद्यार्थी उपस्थितकै आधारमा लिखित परीक्षा लिने व्यवस्था गरेको छ।’ उनले थपे, ‘हाल कोरोना माहामारीको उच्च जोखिमकै कारण परीक्षा फरक तरिकाले लिने कुरा छ। बोर्डले केही दिनमै बैठक बसी मोडलबारे टुंगो लगाई मन्त्रालयमा पठाउँछ। मन्त्रालयले मन्त्रिपरिषद्बाटै कानुनी जटिलता हटाएर जानुपर्छ। ’ उनले परीक्षाको मोडेलबारे जेठभित्रै टुंगो लाग्ने गरी काम भइरहेको दाबी गरे।  

यसपटकको एसइई परीक्षा जेठ १३ गतेदेखि सञ्चालन हुने बोर्डले तय गरेको थियो। तर देशभरि कोरोना जोखिम उच्च बन्दै गएपछि सिसिएमसीले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। हाल एसइई दिने करिब ५ लाख विद्यार्थी परीक्षालाई लिएर अन्योलमा छन्।

प्रकाशित: १४ जेष्ठ २०७८ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App