१६ चैत्र २०८० शुक्रबार
शिक्षा

एसइईमा ३५ नम्बरमुनिका फेल हुने

दातृ निकायको इसारामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा कार्यान्वयन गरिएको ५ नम्बर ल्याएर पास हुने अक्षरांकन प्रणालीले विद्यालय शिक्षाको गुणस्तर थप खस्काएको निष्कर्ष निकाल्दै सरकारले हालको अक्षरांकन प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ । सो प्रणालीले विद्यार्थीले सैद्धान्तिक परीक्षामा ५ नम्बर ल्याए पास गराउने व्यवस्थाले विद्यालय शिक्षाको गुणस्तर झनै खस्केको निष्कर्ष सरकारले नै गठन गरेको समितिले निकालेको छ ।

यस वर्षको एसइई परीक्षाको नतिजा प्रकाशन भएसँगै नतिजामा धेरै विद्यार्थीले प्राक्टिकलमा २५ नम्बरमा २५ नम्बर नै विद्यालयबाट प्राप्त गरेको तर ७५ नम्बरको सैद्धान्तिक लिखित परीक्षामा ५ नम्बर पनि मुस्किलले प्राप्त गरेको देखायो । यसले विद्यार्थीमा अध्ययन गर्ने बानी समेत हटाएको प्रमाणित गरिदिएको राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले जनाए । उनले एसइईको नतिजाले विद्यालय शिक्षाको गुणस्तर खस्कँदै गएको देखाएपछि यसबारे अध्ययन अनुसन्धान गर्न राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य उषा झाको अध्यक्षतामा भदौ पहिलो साता एसइई विद्यार्थी सिकाइ सुधारका लागि अक्षरांकन पद्धति सिफारिस समिति गठन गरेको थियो । सोही समितिले साढे चार महिना अध्ययन अनुसन्धान गरी तयार पारेको प्रतिवेदनले एसइईमा विद्यार्थी सिकाइ उपलब्धि गुणस्तर विकास गर्न हालको अक्षरांकन पद्धति असफल रहेको निष्कर्ष निकाल्दै सुधारको सुझावसहित विकल्प माघ १५ गते परिषद्लाई बुझाएको छ । परिषद् अध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ हुन् ।

हालको अक्षरांकन प्रणालीले विद्यार्थीको सिकाइ र विद्यालयको शैक्षिक स्तर खस्काएको सरकारी प्रतिवेदनको निष्कर्ष

समितिले हाल कार्यान्वयनमा रहेको ९ श्रेणीको अक्षरांकन पद्धतिले विद्यार्थीको सिकाइ उपलब्धिको स्तर घटाएको, विद्यार्थीमा नपढे पनि पास हुने नकारात्मक भावना विकास भएको, विद्यार्थीमा लिखित परीक्षामा ५ नम्बर ल्याएमा पास हुने व्यवस्थाले अध्ययन गर्ने बानी हटाएको र समग्र शैक्षिक गुणस्तर घटेको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा विद्यार्थी सिकाइ उपलब्धिको गुणस्तर वृद्धि गर्न हालको ९ श्रेणीको अक्षरांकन प्रणालीलाई झारेर ८ श्रेणीमा गरिनुपर्ने सुझाएको छ । यसका साथै हालको २० नम्बरभन्दा तलकालाई ननग्रेडिङ गर्ने व्यवस्था हटाएर ३५ नम्बरलाई आधारभूत नम्बर तय गरेको छ । ३५ भन्दा तल नम्बर प्राप्त गर्ने विद्यार्थी फेल हुने अर्थात् ननग्रेडिङ गर्ने व्यवस्था गरिएको समिति सदस्य पारसनाथ यादबले बताए । हाल सिफारिस गरिएको प्रस्तावले ई ग्रेड हटाएको छ । डी ग्रेडसम्मका विद्यार्थीलाई मात्र कक्षा ११ पढ्ने बाटो खोलेको छ । नयाँ व्यवस्था कायम हुने हो भने ३५ नम्बरमुनिका विद्यार्थी कक्षा ११ अध्ययनका लागि अयोग्य हुने उनले बताए ।  

‘हालको व्यवस्थाले २५ नम्बरको प्राक्टिकलमा विद्यालयले सबैले पूर्ण नम्बर दिएका छन् तर सोही विद्यार्थीले ७५ नम्बरको लिखित परीक्षामा ५ नम्बर पनि मुस्किलले ल्याएका छन्,’ समिति सदस्य यादबले समितिले परिषद्लाई बुझाएको प्रस्तावबारे बताए, ‘हाम्रो समितिले स्थानीय तह, शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षाविद्, स्वदेशी अन्य विश्वविद्यालय तथा विदेशी र सार्क राष्ट्रहरूको ग्रेडिङ प्रणालीबारे अध्ययन गरेको छ । भारतको सिबिएसई बोर्डले समेत बेन्च मार्क ३३ नम्बर रोखेको छ । हामीकहाँ नतिजा राम्रो देखाउन दातृ निकायको इसारामा कार्यान्वयनमा ल्याएको लिखित परीक्षामा ५ नम्बर प्राप्त गरे पास हुने व्यवस्थाले विगत ५ वर्षदेखि विद्यालय शिक्षाको शैक्षिक गुणस्तर खस्केको हाम्रो अध्ययनले देखाएको छ ।’ उनले थपे, ‘अब हामीले फेललाई फेल भन्न किन डराउने ? हालको ३० नम्बर प्राप्त गर्ने व्यवस्थाले विद्यार्थीमा अध्ययन गर्ने बानी हरायो । प्राक्टिकलमा शिक्षकलाई थर्काएर २५ नम्बर प्राप्त गर्ने बानी बढाएको अध्ययनले देखायो ।’

हालको व्यवस्थाले ई ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई स्वदेशी कलेजले भर्ना नलिनुका साथै विदेशी विश्वविद्यालयले समेत मान्यता नदिएको पाइएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले अनुभव सुनाए । उनले समितिले बुझाएको नयाँ प्रस्तावअनुसार अब विद्यार्थीले नपढी एसइई पास हुन नसक्ने भएको जनाए । ‘प्रस्ताव गरिएको नयाँ प्रस्तावमा लिखित परीक्षामा विद्यार्थीले कम्तीमा २५ नम्बर ल्याउनुपर्ने र प्राक्टिकलमा कम्तीमा १० नम्बर ल्याउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘परिषद्लाई समितिले बुझाएको प्रस्तावमा छलफल गरी केही दिनमा टुंगो लाग्ने छ ।’ उनले नयाँ शैक्षिक सत्रदेखि एसइईमा गुणस्तर सुधारको नयाँ अक्षरांकन प्रणाली कार्यान्वयन हुने जानकारी दिए ।’

प्रकाशित: ७ फाल्गुन २०७७ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App