१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

कोभिड जोखिमकै बीच १२ को परीक्षा

प्रश्नपत्र परीक्षाको आधा घण्टा अगाडिमात्र केन्द्राध्क्षलाई इमेल गरिने

कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण कार्यविधि २०७७ पारित गरी परीक्षा सञ्चालन गर्न लागेको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले बताए। उनले परीक्षा सञ्चालन गर्दा नेपाल सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सञ्चालन गर्न स्थानीय तह, परीक्षा समन्वय समिति तथा सबै केन्द्राध्यक्षलाई अभिमुखीकरणसमेत गरिसकेको जनाए।

जोखिमकै कारण बोर्डले कक्षा १२ को लिखित परीक्षा ४० प्रतिशत मात्र सञ्चालन गर्दै छ। समय बढीमा डेढ घण्टा मात्र कायम गरिएको बोर्डले जनाएको छ। ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थीका लागि ४ हजार १ सय ५ परीक्षा केन्द्र तोकिएको छ। कोरोना महामारीको समयमा भौतिक उपस्थितिमा गरिएको यो पहिलो परीक्षा भएको अध्यक्ष पैडेलले बताए।

‘प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्ने व्यवस्था गरिएको छ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअगाडि मात्र केन्द्राध्यक्षको इमेलमा पठाइने बोर्डको निर्णय हो।’ उनले थपे, ‘परीक्षार्थीका अभिभावक र मिडियालई केन्द्रवरिपरि भिडभाडका लागि निषेध गरिएको छ। परीक्षामा अनियमित तथा अमर्यादिन कार्य गर्नेलाई एक लाख जरिवाना वा ६ महिना कैद वा दुवै गरिने व्यवस्था गरिएको छ।

कात्तिक २ गते बसेको बोर्ड बैठकले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणिकीकरण कार्यविधि २०७७ पारित गरेको थियो। परीक्षा सोही कार्यविधिअनुसार हुने तय गरिएको प्रवक्ता अर्यालले जनाए।

–प्रश्नपत्र परीक्षाको आधा घण्टा अगाडिमात्र केन्द्राध्क्षलाई इमेल गरिने
–प्रत्येक केन्द्रमा हेल्थ डेस्कको व्यवस्था
–एउटा हलमा बढीमा २० परीक्षार्थी रहने
–परीक्षार्थीबीचको दूरी २÷२ मिटरको कायम गरिने
–सबै परीक्षार्थीले अनिवार्य साबुनपानीले हात धुने र अनिवार्य मास्क प्रयोग गर्नुपर्ने
–कोरोना पोजेटिभ देखिएका विद्यार्थीका लागि पुनः परीक्षाको व्यवस्था गरिने

परीक्षा मंसिर १६ गते सम्पन्न हुनेछ। कक्षा १२ को परीक्षा विश्वविद्यालय प्रवेश गर्ने आधार भएकाले विद्यार्थीले आआफ्नो परीक्षा केन्द्रमा पुगेर उपस्थितिकै आधारमा लिखित परीक्षा दिनु पर्नेछ। ‘यस वर्ष १२ को परीक्षामा ४० प्रतिशत अंकको लिखित हुन्छ। ४० प्रतिशत अंकभार कक्षा ११ को परीक्षाको जोडिने र २० प्रतिशत अंक कक्षा १२ कै आन्तरिक मूल्यांकनको जोडिने बोर्डले निर्णय गरेको छ,’ प्रवक्ता अर्यालले भने, ‘कक्षा १२ सञ्चालन भएको कुल ४ हजार १ सय ५ विद्यालयमध्ये २ हजार ९ सय ४ विद्यालयमा सयभन्दा कम विद्यार्थी छन्। जसले गर्दा परीक्षा सञ्चालन गर्न सहज भएको हो।’

कोभिड महामारीका कारण आफू अध्ययनरत विद्यालय रहेको जिल्लाभन्दा फरक जिल्लामा रहेका विद्यार्थीले बोर्डमा उपलब्ध गराएको विवरणमा उल्लिखित विद्यालय (परीक्षा केन्द्र)मा आफ्नो प्रवेशपत्रसहित पुगी परीक्षा दिन सक्ने व्यवस्था बोर्डले गरेको छ। तर यो सुविधा काठमाडौं उपत्यका भित्रका विद्यालयमा अध्ययन गरी उपत्यकाभित्रै बसोबास गरिरहेका विद्यार्थीको हकमा लागु हुनेछैन। कोभिड १९ शंका लागेका विद्यार्थीको हकमा अलग्गै कोठामा राखेर परीक्षाको व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

‘ढुक्क भएर परीक्षा दिऔं’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षार्थीलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर ढुक्कसँग परीक्षा दिन अपिल गरेका छन्। उनले आइतबार साँझ ४ मिनेट १६ सेकेन्डको भिडियो जारी गर्दै उनी आफू पनि कोभिड १९ संक्रमित भएर निको भएको अनुभव सुनाउँदै कोभिड पुष्टि भएर परीक्षा दिन सक्नेका लागि पुनः परीक्षाको व्यवस्था मिलाएको जनाए। ‘सेनिटाइजर, मास्क र साबुनपानीले हात धुने स्वास्थ्यसम्बन्धी सबै सुक्षाको व्यवस्था गरिएको छ। तपाईहरू ढुक्क भएर जाँच दिनुस्,’ मन्त्री पोखरेलले अपिल गरेका छन्, ‘सुरक्षासम्बन्धी सामान्य कुरा पनि पढेलेखेकाले नै पालना नगरेकाले कोरोना गहिरिएको मेरो अनुभव छ। त्यही भएर केन्द्रमा अभिभावकहरु भिडभाड नगर्नुस् र विद्यार्थी भाइबहिनीले अनिवार्य मास्क लगाएर केही छुनासाथ छिनछिनमा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नुस्।’

प्रकाशित: ९ मंसिर २०७७ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App