१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यालयमा कोरोना फैलियो भने रोक्न कठिन हुन्छ, खोल्न हतार नगरौं : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षामन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन्।  

न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन सुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकलाई अनिवार्य पुग्न निर्देशन दिइएको उनले बताए।  

शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापित गर्न सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रूपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको शिक्षामन्त्री पोखरेलले बताए।  

कतिपय जिल्लाका विद्यालयले अहिले भौतिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन्। 

सञ्चारविद् डा. निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रूपमा उच्चगतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गर्दै मिडिया साक्षरतालाई प्रभावकारी नबनाइए वैकल्पिक सिकाइ प्रणाली सफल नहुने बताए।  

सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न उनको सुझाव छ।

आसमान नेपालका कार्यकारी निर्देशक नोवलकिशोर यादवले प्रदेश–२ मा गरिएको पछिल्लो अध्ययनले ५१ प्रतिशत बालबालिका वैकल्पिक सिकाइको पहुँचमा पाइएकाले सञ्चारमाध्यमको भूमिका बढाएर पहुँच वृद्धि गर्नुपर्ने बताए।  

पहुँच वृद्धि हुँदै गए पनि सिकाइको स्तर २० प्रतिशतको हाराहारीमा रहेको अध्ययनले देखाएको छ। आसमान नेपालले समुदाय तहमा युवालाई स्वयंसेवी परिचालन गरेर करिब १० हजार बालबालिकालाई स्वाध्यायन सामग्री वितरण गरिएको उनले जानकारी दिए।  

समाजका अध्यक्ष प्रकाश सिलवालले सञ्चारको एउटा धर्म शिक्षा पनि भएकाले वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन सूचना र सचेतनामूलक भूमिकाका लागि प्रदेश र जिल्लागत बहश गरिने उनले जनाए।  

प्रकाशित: १० आश्विन २०७७ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App