विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र स्थानीय अभिभावकले व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी खोल्न चाहे विद्यालय सुचारु गर्न सकिने ताप्लेजुङ जिल्ला शिक्षा समितिका अध्यक्ष घनेन्द्र मादेनले बताएका छन्।
चालू शैक्षिक सत्र गुज्रने अवस्थामा पुगेको भन्दै बुधबार फुङ्लिङ नगरपालिकाको संयोजनमा भएको सरोकारवालाको बैठकमा शिक्षा समितिका अध्यक्ष मादेनले स्थानीय शिक्षक र अभिभावकले सामूहिक दायित्व लिने गरी विद्यालय खोल्न सकिने सुझाएका हुन्। ‘भरसक जोखिम आउन नदिने गरी काम गर्ने हो, आइहाले स्थानीय शिक्षक र अभिभावकले त्यसको संयुक्त सामना गर्नुपर्छ’ उनले भने।
विद्यार्थी संख्याका आधारमा भौतिक दूरी समेतका सबै स्वास्थ्य सुरक्षाका उपायलाई कायम राख्दै पठपाठन सुरु गर्न सकिने मादेनको भनाई थियो। उनले दैनिक १२ घण्टालाई समय मिलाएर २ वा ३ सिफ्टमा पढाई सुरु गर्न सकिने सुझाए। शिक्षकहरुका पेशागत संघ/संगठनका अगुवा, शिक्षक महासंघ, संस्थागत विद्यालयका प्रतिनिधि, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखसहितको बैठकमा शिक्षा समितिका अध्यक्ष मादेनले यस्तो बताएका हुन्। उनले व्यक्ति स्वास्थ्य सुरक्षाका उपाय क्रमशः तर अनिवार्य अवलम्बन गर्दै लैजाने वातावरण भने शिक्षक तथा अभिभावक आफैंले बनाउनुपर्ने उनको धारणा थियो।
छलफलमा ताप्लेजुङ अहिले कोरोना शुन्य संक्रमित जिल्ला बनेकोले संक्रमणग्रस्त क्षेत्रबाट आउने शिक्षक बाहेक यहिँ रहेका शिक्षकहरुमार्फत व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी पढाइ सुरु गर्न सकिने विषयमा समेत बहस चलेको थियो।
प्रकाशित: ३१ भाद्र २०७७ ११:१३ बुधबार





