coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

‘९२ प्रतिशत अभिभावक विद्यालय खुल्ने बित्तिकै बालबच्चा पठाउन तयार छैनन्’

नेपाल परिवार विकास प्रतिष्ठानको सर्वेक्षण

नेपालका करिब ९२ प्रतिशत अभिभावकहरू आफ्ना बालबच्चालाई विद्यालय खुल्ने बित्तिकै विद्यालय पठाउन तयार नभएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।  

आफ्ना बालबच्चालाई तत्कालै विद्यालय पठाउन तयार नहुने अभिभावकहरू मध्ये आधाभन्दा बढीले स्थिति सामान्य भएपछि मात्र पठाउन चाहेको बताएका छन् भने त्यो भन्दा केही कमको धारणा भने कोभिड–१९ संक्रमणको दर शुन्य भएपछि मात्र विद्यालय पठाउन सकिने प्रकृतिको छ ।

बालबालिकाको पठनपाठनका लागि तत्कालै विद्यालय सञ्चालन गर्नुपर्छ या केहीदिन पर्खन पर्छ भन्ने बारेमा अभिभावकको धारणा बुझ्न नेपाल परिवार विकास प्रतिष्ठानले सञ्चालन गरेको अनलाईन सर्वेक्षण प्रतिवेदनको नतिजा यस्तो आएको हो ।

प्रतिष्ठानका व्यवस्थापक तथा सर्वेक्षक प्रमुख अनुप अधिकारीकाअनुसार सातै प्रदेशका ६ सय २८ जना अभिभावकलाई अनलाईन सर्वेक्षणमा सहभागी गराइएको थियो । उनका अनुसार प्रदेश १ का ८१, प्रदेश २ का ३६, बाग्मती प्रदेशका ३६६, गण्डकी प्रदेशका ५१, प्रदेश नं ५ का ४८, कर्णाली प्रदेशका १९ र सुदुरपश्चिम प्रदेशका २९ जना अभिभावकलाई अनलाइन सर्वेक्षणमा सहभागी गराईएको थियो ।

बन्दाबन्दीको अवस्थामा अभिभावकहरूलाई परेको प्रभाव, बालबच्चालाई तत्कालै विद्यालय पठाउन तयार भए/नभएको अवस्थाको पहिचान, विद्यालयले गरेको अनलाइन कक्षाबारे अभिभावको धारणा, बन्दाबन्दीमा विद्यालय तहका विद्यार्थीले कसरी समय बिताईरहेका छन् र यो बेला विद्यार्थीको व्यवहारमा आएको परिवर्तन कस्तो छ भन्ने बारेमा अनलाइन सर्वेक्षण अध्ययन केन्द्रित थियो ।

सर्वेक्षणको नतिजाले ९१.६ प्रतिशत अभिभावकले बन्दाबन्दी खुल्ने बित्तिकै आफ्ना बालबच्चालाई विद्यालय पठाउन तयार नभएको प्रतिक्रिया दिएका छन् भने ८.४ प्रतिशतले भने विद्यालय सञ्चालन भएको अवस्थामा आफ्ना बालबच्चालाई तत्कालै विद्यालय पठाउन तयार रहेको प्रतिक्रिया दिएका छन् ।

नेपाल परिवार विकास प्रतिष्ठानका अनुसार विद्यालय खुल्ने बित्तिकै आफ्ना बालबच्चालाई विद्यालय पठाउनमा सबैभन्दा बढी त्रास कर्णाली प्रदेशका अभिभावकमा देखिएको छ । त्यहाँका सतप्रतिशत अभिभावक विद्यालय खुल्ने बित्तिकै बालबच्चा विद्यालय पठाउन तयार छैनन् । 

त्यसपछिको त्रास गण्डकी प्रदेशमा देखिएको छ । त्यहाँका ९४.१ प्रतिशत अभिभावक विद्यालय खुल्ने बित्तिकै आफ्ना बालबच्चालाई विद्यालय पठाउने पक्षमा छैनन् । प्रदेश १ का ९३.८ प्रतिशत अभिभावक विद्यालय खुल्ने बित्तिकै आफ्ना बालबच्चालाई विद्यालय पठाउन तयार नरहेको बताएका छन् ।

यस्तै बाग्मती प्रदेशका ९१.५ प्रतिशत,प्रदेश २ का ८८.९ प्रतिशत,प्रदेश ५ का ८७.५ सुदुरपश्चिम प्रदेशका ८६ प्रतिशत अभिभावक विद्यालय खुल्ने बित्तिकै आफ्ना बालबच्चालाई विद्यालय पठाउन तयार छैनन् । अधिकारीका अनुसार तत्कालै विद्यालय पठाउन तयार नहुने अभिावकले स्थिति सामान्य भएपछि मात्र विद्यालय पठाउने धारणा राखेका छन् ।

४५ प्रतिशतले स्थिति सामान्य भएपछि मात्र विद्यालय पठाउने भनेका छन् भने ४० प्रतिशतले संक्रमणको जोखिम शुन्य भएपछि मात्र विद्यालय पठाउने भनेका छन् । ४.५ प्रतिशतले विद्यालय सञ्चालनमा आउन थालपछि विद्यालय पठाउने भनेका छन् भने करिब १० प्रतिशतले अवस्था हेर्ने र अरु अभिभावकले पठाउन थाले भने आफुले पनि पठाउने भनेका छन् ।

प्रतिष्ठानले विद्यालय सञ्चालन भईहालेको अवस्थामा विद्यालय प्रशासनले कुन–कुन व्यवस्था गर्दिए हुन्थ्यो होला जस्तो लाग्छ भनेर पनि अभिभावकलाई सोधेको थियो । सहभागी मध्ये ८८.५ प्रतिशतको राय भौतिक/सामाजिक दुरी कायम गरेर पठपाठन हुने व्यवस्था गर्नुपर्नेमा थियो । ६१ प्रतिशतले ज्वरो नाप्ने व्यवस्था गर्दा राम्रो हुन्छ भनेका छन् ।

उनीहरूको प्राथमिकता भौतिक/सामाजिक दुरी भन्दा बढी ज्वरो नाप्नुपर्नेमा देखिएको सर्बेक्षक अधिकारीले बताए । यस्तै ६९.६ प्रतिशतको राय साबुनपानी र सेनीटाईजरको व्यवस्था गर्नुपर्नेमा छ भने ६७.५ प्रतिशतले मास्क अनिवार्य गरेमा अरु मापदण्डलाई कम प्राथमिकता दिएपनि हुने राय दिएका छन् ।

प्रकाशित: १६ श्रावण २०७७ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App