१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

उपकुलपति नियुक्तीको माग गर्दै विद्यार्थी आन्दोलन

डिन नियुक्तीको माग गर्दै प्रदर्शनमा उत्रिएका पोखरा विश्वविद्यालयका विद्यार्थीहरु। तस्बिर : उमेश /नागरिक

पोखरा विश्वविद्यालयका विद्यार्थीहरु उपकुलपति नियुक्तीको माग गर्दै आन्दोलित भएका छन्। विगत १० महिनादेखि निमित्त उपकुलपतिको भरमा चलेको पोखरा विश्वविद्यालय पछिल्लो ३ महिनादेखि उपकुलपति विहिन् भएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन्। गत असोज ५ गतेबाट निमित्त उपकुलपतिको भरमा चल्दै आएको विश्विद्यालय गत चैतदेखि उपकुलपति विहिन रहेको हो। उपकुलति मात्र नभई पोखरा विश्वविद्यालयमा रजिस्टार र परिक्षा नियन्त्रक नभएकोपनि महिनौं भइसक्यो। 

उसो त विश्वविद्यालयमा ५ संकाय मध्ये ४ संकायका डिनपनि खाली छन्। विश्वविद्यालयमा ब्यबस्थापन (म्यानेजमेन्ट) संकाय, विज्ञान तथा प्रविधि (साइन्स एण्ड टेक्नोलोजी) संकाय, स्वास्थ्य विज्ञान (हेल्थ साइन्सेस) संकाय र मानविकी (ह्युमानिटी एण्ड सोसल साइन्सेस) संकायका डिनहरु रिक्त रहेका हुन्।

उपकुलपति नहुँदा विश्वविद्यालयको काममा असर परेको तत्काल उपकुलपति नियुक्त हुनुपर्ने उनीहरुको भनाई छ। विद्यार्थीहरुले उपकुलपति नहुँदा अध्ययन, अध्यापन प्रभावित भएको, परिक्षा हुन नसकेको, परिक्षाफल प्रकाशनलगायतका कार्य समयमा हुन नसकेको पोखरा विश्वविद्यालय अन्तर्गत कम्प्युटर ईञ्जिनियरिङ तेश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी श्रृष्टी जोसीले बताइन्।

कुनैपनि दल निकट विद्यार्थी संगठनमा आबद्ध नभएका स्वतन्त्र विद्यार्थीहरुले शुक्रबार पोखराको सहीदचोकमा प्रदर्शनसहित कोणसभासमेत गरे। साथै उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्रसमेत पठाएका छन्।

प्रदर्शनमा उत्रिएकाहरुले विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन पाईंदैन, मेरो भगवान ! आफ्नो भविष्यमाथि डर लाग्यो, शिक्षामा घुस्या ब्यापार, विद्यार्थीको भविष्य अन्धकार, निमित्त होइन अब पूर्णकालिन् नेतृत्व चाहियो, हामी पढ्ने कि अभिभावक खोज्न जाउँ ? भन्नेलगायतका ब्यानर लेखिएका प्लेकार्ड र ब्यानर लिएका थिए।

आन्दोलनका नेतृत्वकर्ता महेश चौलागाईले उपकुलपति नहुँदा अध्ययन÷अध्यापन तथा परिक्षामासमेत प्रभाव परेकाले आन्दोलनमा उत्रिनुपरेको बताए। ‘विश्वविद्यालयलाई राजनीतिक थलो बनाउनु हुँदैन, उनले भने, ‘राजनीतिक भागवण्डा नमिलेको बहानामा उपकुलपति नियुक्तीमा विलम्व गर्नु हुँदैन।’ उनले माग सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिए।

विद्यार्थी माधव बास्तोलाले राजनीतिक खिचातानीका कारण उपकुलपति नियुक्त नहुँदा आफूहरुको भविष्य नै अन्यौलमा परेको बताए। ४ वर्षे कोर्षका लागि भर्ना भएका हामी ५ वर्ष बित्दापनि पास आउट भएका छैनौं, ‘आक्रोसपूर्ण भावमा उनले भने, ‘हाम्रो १ वर्ष त्यसै खेर गयो, यसको जिम्मेवारी कसले लिन्छ ?।’ आन्दोलन नगरी माग पूरा नगर्ने सरकारी रवैयाप्रति आक्रोस व्यक्त गर्दै उनले भने, ‘के ढुंगा नहानी, सीसा नफुटाई माग सम्बोधन नहुने हो ?।’ यदी त्यस्तो हो भनेपनि आफूहरु त्यस प्रकारको आन्दोलन गर्न तयार रहेको उनको भनाई थियो।

पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा ईञ्जिनियरिङ कलेजका विद्यार्थी अभिजित तामाङले उपकुलपति नगरेर सरकारले विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरिरहेको आरोप लगाए। उनले उपकुलपति नियुक्त गर्न नसक्ने कुलपतिसमेत रहेका प्रधानमन्त्री र शिक्षामन्त्रीले त्यसको जिम्मा लिनुपर्ने बताए।यसैबीच, नेपाल विद्यार्थी संघलेपनि डिन नियुक्तीको माग गर्दै रिले अनसन शुरु गरेका छन्। विश्वविद्यालय परिसरमै उनीहरुले अनसन शुरु गरेका हुन्।

प्रकाशित: ९ श्रावण २०७७ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App