coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

कक्षा सञ्चालनका लागि शिक्षकको आरडिटी परीक्षण

लकडाउनका कारण अवरुद्ध पठन–पाठन सुचारु गराउनका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६२ शिक्षकको आरडिटी परीक्षण गरिएको छ । कोभिड–१९ का कारण ठप्प भएको पठन–पाठनलाई सुचारु गराउनका लागि जिल्ला बाहिर बसेर गाउँपालिका भित्रिएका शिक्षक/शिक्षिकाको शनिबार आरडिटी परीक्षण गरिएको हो । साउन ७ गतेदेखि टोल–टोलमा सुरु गरिने पठन–पाठन अगाडि अन्यत्रबाट भित्रिएका शिक्षक/शिक्षिकाको आरडिटी परीक्षण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

लकडाउनमा जिल्ला बाहिरका घरमा गएर बसेका तथा हालसम्म अन्यत्र अड्किएर बसेका सबै शिक्षक/शिक्षिकाको आरडिटी रिपोर्ट नेगेटिभ देखिएको छ । ‘लकडाउनको अवधिमा गाउँपालिकाभित्रै बसोबास गरिरहेका शिक्षक/शिक्षीकाको बाहेक अन्यको आरडिटी परीक्षण गरिएको हो,’ अध्यक्ष राईले भने, ‘अव अवरुद्ध कक्षा सुचारु गराउँदा संक्रमणको त्रास नहोस् भनेर आरडिटी परीक्षण गरेका हौँ ।’ असार मसान्त बित्न लाग्दा समेत कोभिड–१९ को अशर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएकाले गाउँपालिकाले आगामी साउन ७ गतेदेखि सामाजिक दूरी कायम गरेर पठन–पाठनलाई सुचारु गराउने तयारी थालेको हो । कोभिड–१९ का कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर सुचारु गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

पठन–पाठनका लागि आईतबार अनिवार्य विद्यालयमा उपस्थित भएर आ–आफ्नो विषयको कार्यतालिका निर्माण गर्ने र साउन ७ गतेदेखि टोल वस्तीमा पुगेर शिक्षण सिकाई कार्य अघि बढाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । शैक्षित्र–सत्र सुरु भएको तीन महिना बित्न लाग्दा गाउँपालिकाका हरेक टोलमा विषयगत शिक्षकलाई पठाएर पठन–पाठनलाई अघि बढाउन लागिएको हो । एक टोलमा दैनिक एक विषयको पठन–पाठन गरिने गाउँपालिका अध्यक्ष राईले बताए । शिक्षण सिकाईका लागि आफ्नो विषय अनुशार टोल–टोलमा पुग्ने शिक्षक/शिक्षिकाले विद्यार्थीलाई पढाउने छन्, होमवर्क दिने छन् र मूल्यांकन गर्ने छन् ।  

७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५१२ विद्यार्थी अध्ययनरत छन् । उनीहरुको शिक्षण सिकाईका लागि बाल बिकास केन्द्रमा कार्यरतसहित २७६ शिक्षक/शिक्षिकालाई परिचालन गर्ने तयारी गरिएको छ । कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्नका लागि विद्यालय कक्षाको बिकल्प अघि सारिएको हो । टोल–टोलमा गरिने शिक्षण क्रियाकलापका लागि नजिक र पायक पर्ने विद्यालयलाई प्रयोग गर्न सकिने जनाइएको छ । विद्यालयको भवन प्रयोग गर्ने अवस्था नभए सामुदायीक भवन, महिला तथा युवा समूहको भवन वा अन्य सार्वजनिक स्थललाई उपयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।  

शैक्षिक–सत्रको सुरुबाट पठन–पाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदा कटौती गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘बैसाखबाट सुरु हुनुपर्ने पठन–पाठन हालसम्म ठप्प छ । हालसम्म सिकाई उपलब्धि शुन्य छ । विद्यार्थीमा पढ्ने बानी हट्दै जान थालेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तत्काल नै यो कोरोना संक्रमण अन्त्या हुने अवस्था पनि देखिन्न । महामारी रहिरह्यो भन्दैमा सिकाई उपलब्धिबिना विद्यार्थीलाई माथिल्लो कक्षामा अपग्रेड गर्ने कुरा पनि भएन । त्यही भएर सामाजिक दूरी कायम गरेर पठन–पाठन सुचारु गराउने निर्णय गरिएको हो ।’  

टोल–टोलमा सञ्चालन गरिने शिक्षण सिकाईका लागि गाउँपालिकाले विद्यार्थीलाई पाठ्यापुस्तक वितरण गरिसकेको छ । टोलमा पुग्ने शिक्षक/शिक्षिकाले मास्क, ग्लोव्स र सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: ३ श्रावण २०७७ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App