१६ चैत्र २०८० शुक्रबार
शिक्षा

वैकल्पिक कक्षा आजबाट

असार १ गते (आज) बाट वैकल्पिक सिकाइ प्रणालीका माध्यमबाट पठनपाठन हुने भएको छ । सरकारले वैकल्पिक सिकाइ प्रणाली निर्देशिका, २०७७ जारी गर्दै विद्यालय तहका कक्षा १ देखि १० सम्मका ६० लाख विद्यार्थी रेडियो तथा टेलिभिजनबाट पठनपाठन अघि बढाउन लागेको हो । यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तक तथा पाठ्यक्रममा आधारित श्रव्यदृश्य सामग्री तयार पारेर आफ्नो वेबसाइटमा समेत राखेको छ ।  

केन्द्रका उपमहानिर्देशक इमानारायण श्रेष्ठका अनुसार कक्षा ९ र १० का लागि विभिन्न सेवा प्रदायक माध्यमकहरू डिसहोम, नेट टिभी र मेघा म्यास च्यानलका माध्यमबाट पढाइनेछ । केन्द्रले पहिलो चरणको कार्यक्रमअन्तर्गत असार १ बाट १५ दिनको तालिका सार्वजनिक गरेको उनले बताए ।  

‘केन्द्रले चार माध्यमबाट पठनपाठनको आधार तय गरेको छ । जसमा इन्टरनेट भएको ठाउँमा लर्निङ सेट, नभएको ठाउँमा टिभी, टिभी पनि नभएको ठाउँमा रेडियो र रेडियो पनि पहुँच नभएको स्थानमा प्रिन्ट सामग्री छनोट गरिएको छ,’ उपमहानिर्देशक श्रेष्ठले नागरिकसँग भने, ‘विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेकै छ, शिक्षकको सहयोगमा आफैं अध्ययन गर्नेछन् ।’ उनका अनुसार पाठ्यक्रम निर्माणमा करिब १५ करोड रकम खर्च हुनेछ ।  

केन्द्रका शैक्षिक, प्राविधिक तथा अनौपचारिक महाशाखाका उपमहानिर्देशक विष्णु अधिकारीका अनुसार कक्षा १ देखि ८ सम्मका बालबालिकालाई रेडियो नेपाल र एनटिभी प्लसबाट पठनपाठन गराइनेछ । उनका अनुसार बिहान साढे ९ देखि दिउँसो साढे ३ बजेसम्म कक्षा सञ्चालन हुनेछ । कक्षा १ देखि ३ सम्म नेपाली, अंगे्रजी र गणित विषय पढाइनेछ । कक्षा ४ देखि ८ सम्मका लागि विज्ञान, गणित र अंग्रेजी विषय र कक्षा ९ र १० का ६ वटै अनिवार्य विषय पठनपाठन गराइनेछ ।

‘सम्बन्धित विद्यालय, शिक्षकका संघसंस्था, स्थानीय तह, समाजका अगुवा सबैलाई सहजीकरणका लागि आग्रह गरिसकिएको छ,’ उपमहानिर्देशक अधिकारीले नागरिकसँग भने, ‘शिक्षकले विद्यार्थीको ट्रेकिङ गरेर सहजीकरण गर्ने केन्द्रले निर्देशन दिइसकेको छ ।’ उनले लकडाउनका कारण एसइई र कक्षा ११ र १२ बाहेक नयाँ शैक्षिक सत्रका ६० लाख विद्यार्थी घरमै छन् । ती सबैमा कुनै न कुनै प्रकारको मनौवैज्ञानिक असर परिरहेको छ । यो वैकल्पिक कक्षा असार १ गतेदेखि सुरु भएपछि विद्यार्थीहरूमा उत्साह अवश्य पनि बढ्छ भने शिक्षकहरूसमेत अभ्यस्त हुन्छन् ।  

अधिकारीका अनुसार हाल देशभरि ३५ हजार विद्यालय सञ्चालनमा रहेकोमा २५ भन्दा कम विद्यार्थी भएका तीन हजार सात सय छन् भने सयभन्दा कम विद्यार्थी भएका १५ हजार छन् । यसैगरी हजारभन्दा बढी विद्यार्थी भएका नौ सय ९१ विद्यालय मात्र सञ्चालनमा छन् । पाँच सयदेखि हजारसम्म विद्यार्थी भएका विद्यालय १५ हजार तीन सय नौवटा छन् । ‘धेरै सामुदायिक विद्यालयमा थोरै विद्यार्थी छन् । वैकल्पिक शिक्षाको पठनपाठनले यस्ता विद्यालय सुधारका लागि अवसर पनि हो,’ उनले भने, ‘शिक्षक र विद्यालय प्रविधिमैत्री बन्ने यो सुनौलो अवसर हो ।’

वैकल्पिक पठनपाठनका लागि सामुदायिक विद्यालयहरूसमेत तयारीमा जुटेका छन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यमिक विद्यालयले सोमबार सबै शिक्षकहरूलाई स्कुलमै बोलाएको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । उनले जिल्ला बाहिर भएका शिक्षकलाई समेत तीन दिनको म्याद दिएर विद्यालयमा भौतिक रूपमै उपस्थित हुन सूचना जारी गरिएको बताए । उनले देशभरिकै सामुदायिक विद्यालयहरूले असार १ गतेदेखि विद्यालयमा आ–आफ्ना शिक्षकहरू उपस्थित गराउने सूचना नै जारी गरेको जनाए । यति मात्र होइन, उनले लकडाउनका कारण हालसम्म शिक्षकहरूले घरबाटै अनलाइन कक्षा सञ्चालन प्रभावकारी नभएको अवस्थामा स्कुलबाटै भर्चुअल कक्षा चलाउँदा बढीभन्दा बढी विद्यार्थी सहभागिता जनाउने दाबी गरेका छन् ।

‘सोमबारदेखि स्कुलहरूले भौतिक दूरी कायम गर्दै विद्यार्थी तथा अभिभावकलाई विद्यालयमै बोलाएर किताब वितरण गर्ने कार्यक्रम तय गरेका छन्,’ उनले भने, ‘विद्यार्थीको हातमा किताब भएपछि रेडियो टिभीबाट भर्चुअल कक्षा सञ्चालन गर्दा प्रभावकारी हुन्छ ।’ विद्यालयका विषयगत विभागीय शिक्षकहरूले विद्यालयकै प्रविधि प्रयोग गरी आ–आफ्नै विषयमा भर्चुअल कक्षा सञ्चालन गर्ने र त्यसले धेरै विद्यार्थी समेट्ने उनको भनाइ छ ।

प्रकाशित: १ असार २०७७ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App