२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

बन्दाबन्दीमै पुस्तक ढुवानी

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक जिल्ला भित्रिएको छ। कोरोना भाइरसको जोखिम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका बीच पुस्तक ढुवानी भइरहेको छ। शिक्षा मन्त्रालयले लकडाउनको अवस्थामा असार १ गतेदेखि वैकल्पिक व्यवस्था गरेर पठनपाठन गराउन निर्देशिका जारी गरेसँगै म्याग्दीका विद्यालयले विद्यार्थीलाई स्वअध्ययन गराउने तयारीमा जुटेका छन्। विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएर विद्यालय नखुले पनि घरमै बसेर पढ्ने वातावरण बनाउन लागेको बेनी–९ नेप्टेचौरको राष्ट्रिय माविका शिक्षक रामचन्द्र शर्माले बताए।  

सामाजिक दूरी कायम र लकडाउनको परिपालना गरेर विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन लागेका छौँ, उनले भने, वैकल्पिक माध्यमबाट पढाउन भने पनि स्पष्ट नभएकाले पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययन गर्न उपयोगी हुन्छ। भौगोलिक विकटता र प्रविधिको पहुँच नभएका ठाउँमा अनलाइनको माध्यमबाट पठनपाठन सञ्चालन गर्न चुनौती छ। सबै वर्ग र क्षेत्रका विद्यार्थीमा रेडियो–टेलिभिजनको पहुँच पनि छैन। विद्यार्थीहरुले घरमै बसेर पढ्ने, अभ्यास गर्ने, सिकाइ वृद्धि र विद्यालय खुलेपछि व्यवस्थापन गर्न सहज हुने भएकाले जेठ महिनाभित्र पुस्तक वितरण गरिसक्ने विद्यालयको योजना छ।  

पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ, म्याग्दीले सदरमुकाम बेनीमा सामुदायिक विद्यालयको पुस्तक ल्याएर बिक्रीकक्ष स्थापना गरेका छन्। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरास्थित क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी कक्षा १ देखि १० सम्मको पुस्तक आयात भएको छ।  

स्थानीय तहका शिक्षा शाखामार्फत तथ्याङ्क सङ्कलन गरेर मागका आधारमा पुस्तक ल्याइएको महासङ्घका जिल्ला अध्यक्ष मुकुन्दप्रसाद आचार्यले बताए। पुस्तक अभाव नहोस् भनेर पर्याप्त मात्रामा ल्याएका छौँ, उनले भने, टाढाका विद्यालयलाई प्राथमिकता दिएर पुस्तक पठाउन थालेका छौँ।  

उनका अनुसार पुस्तक अभाव र पूर्ण सेटमा नपाउने समस्या हुन नदिनका लागि लकडाउन भए पनि शैक्षिकसत्र शुरु हुनुअघि नै ढुवानी गरिएको हो। पालिकाले विद्यालयलाई पुस्तक खरिदका लागि माग गरिएकोमध्ये ७० प्रतिशत बजेट पेश्की उपलब्ध गराएका छन्। आन्तरिक स्रोत जुटाएर पुस्तक खरिदवापतको रकम भुक्तानी गरिएको रघुगङ्गा–४ दग्नामको जनता माविका प्रअ गुन पुनले बताए।  

दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा पुस्तक खरिदमा वार्षिक एक करोड रुपैयाँ बजेट खर्च हुने गरेको छ। एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार २५० सेट पुस्तक आवश्यक पर्छ। कोरोनाको जोखिम र लम्बिँदो लकडाउनका कारण तत्कालै विद्यालय खुल्ने सम्भावना नभए पनि पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययनको वातावरण बन्ने अपेक्षा गरिएको छ। मङ्गला गाउँपालिकाले तल्लो कक्षाका विद्यार्थीका लागि सिकाइ सामग्री तयार पारेर वितरणको तयारी गरेको शिक्षा शाखा संयोजक डेकबहादुर बानियाँले बताए।

प्रकाशित: २३ जेष्ठ २०७७ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App