१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

ठूलो कक्षाका विद्यार्थीले साना कक्षाका विद्यार्थीलाई पाठ्यपुस्तक दिएर घरमै अध्ययन गराईने

रसुवाको नौकुण्ड गाउँपालिका–३, लारच्याङका अर्जुन तामाङ अहिले कक्षा पाँचमा पुगे । उनी अहिले विद्यालय गएका छैनन् । लकडाउनका कारण विद्यालय नखुलेकाले उनले घरमै बसेर अध्ययन गरिरहेका छन् ।  गत वर्ष जस्तो विद्यालयले पाठ्यपुस्तक पनि दिएको छैन । तर उनलाई गाउँकै विशाल तामाङले पाठ्यपुस्तक उपलब्ध गराएकाले घरमै बसिरहेर आफ्ना दाइहरूको सहायताले पढिरहेका छन् । उनलाई पाठ्यपुस्तक दिने तामाङले ५ कक्षा पास गरेर ६ मा पढ्ने तयारी गरिरहेका छन् ।  

सोही विद्यालयका प्रकाश तामाङ पनि ४ कक्षा पास गरेर यसै वर्ष ५ मा पढ्ने तयारीमा छन् । उनलाई पनि गाउँकै सोममाया तामाङले पाठ्यपुस्तक दिइकी छिन् । उनले अहिले घरमै बसेर बिहान बेलुका पढिरहेका छन् ।  उनीहरू मात्रै होइनन् यो अध्ययन गरिरहेका अधिकांश विद्यार्थीले अहिले घरमै बसेर पढिरहेका छन् । यसमा अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिले निरन्तर निगरानी गरिरहेको छ ।  

विद्यालयले ठूलो कक्षाका विद्यार्थीबाट साना कक्षाका विद्यार्थीलाई पाठ्यपुस्तक दिएर घरमै अध्ययन गर्ने वातावरण मिलाएको छ । यस क्षेत्रमा सञ्चारको पहँुच राम्रो नभएका कारण पाठ्यपुस्तक दिनुको विकल्प नभएको प्रधानाध्यापक प्रभाकर अधिकारीले बताए ।  यो विद्यालयको सेवा क्षेत्रमा डेड सय घर छ । ‘यो क्षेत्रमा पाँचवटा घरमा मात्र रेडियो छ’, उनले भने, ‘फोन गर्न डाँडामा जानुपर्ने ठाउँमा अनलाइन कक्षा सञ्चालन गर्न सक्ने अवस्था नै छैन ।’ यसकारण विद्यालयले समन्वय गरेर पाठ्यपुस्तक उपलब्ध गराउने काम गरेको हो ।

घरमै पढ्ने वातावरण मिलाउनका लागि अभिभावकसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको उनले बताए । यस विद्यालयमा ७२ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ६० प्रतिशतले पुस्तक पाएका छन् । कक्षा ३ देखि ५ सम्मका विद्यार्थीले पुस्तक पाएका उनले बताए ।  ‘विद्यार्थीले पुरै पाठ्यपुस्तक भने पाएका छैनन्’, उनले भने, ‘घरमा खेल्ने वातावरण नहोस तथा गोठालो जाने वातावरण नहोस भने यसो गरिएको हो ।’ विद्यार्थीले दिनमा एक दुई घण्टा पाठ्यपुस्तक हेर्ने गरेका छन् ।  यसले पढाइलाई निरन्तरता दिन सहज हुने उनको भनाइ छ ।  

विद्यालयमाले पाठ्यपुस्तक खरिदका लागि ७५ प्रतिशत रकम बिक्रेतालाई दिइसकेको छ  । पाठ्यपुस्तक आएपछि सामाजिक दूरी कायम गरेर विद्यालयले पाठ्यपुस्तक वितरण गर्ने छ । लकडाउन हुनु अगाडि विद्यालयले परीक्षा सञ्चालन गरेको थियो ।  लकडाउनको समयमा विद्यालयले परीक्षाफल प्रकाशित ग¥यो । केहीले विद्यालयमा आएर परीक्षाफल हेरे भने केहीलाई फोनबाट नै नतिजा सुनाइयो । ‘प्रत्येक दिन छुट्टाछुट्टै कक्षाका विद्यार्थीको नतिजा प्रकाशित ग¥यौं’, उनले भने, ‘यसले सबैलाई सहज भयो ।’  लकडाउनका कारण नतिजा कहिले प्रकाशित हुन्छ भन्नेमा विद्यार्थी र अभिभावक दुवै अन्योलमा थिए ।  

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App