१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

फागुन १४ मा स्ववियु निर्वाचन नहुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले निर्णय गरेअनुसार फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ। त्रिविले फागुन १४ गते चुनाव गराउनका लागि सबै आगिक र सम्बन्धन प्राप्त कलेजलाई तयारीका लागि निर्देशन दिएको थियो। तर नेपाल विद्यार्थी संघका कारण उक्त निर्वाचन नहुने निश्चित भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापामगरले बताए।

त्रिवि स्ववीयु निर्वाचन केन्द्रीय अनुगमन समितिले चुनावको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहँदा नेविसंघका विद्यार्थीले आफूहरू तयार नभएकोले चुनाव सार्न अनुरोध गरेको उनले बताए। नेविसंघको कार्यसमिति भर्खरै गठन भएकाले फागुन १४ गते चुनावको लागि तयारी नपुगेको भन्दै नेताहरूले निर्वाचन सार्न अनुरोध गरेको बताइएको छ। विद्यार्थीनै निर्वाचनका लागि तयार नभएपछि चुनौती थपीएको कार्यकारी निर्देशक थापाले बताए।

अब १४ गते निर्धारण गरिएको निर्वाचनको मिति सार्नुपर्ने भएको छ। चुनाव अनुगमन समीतिले छलफल गरी अर्को निर्वाचनका लागि अर्काे मिति सार्वजनिक गरिने थापाले बताए। विश्वविद्यालयको शिक्षाध्यक्षको संयोजकŒवमा चुनाव अनुगमन समिति गठन भएको छ। विश्वविद्यालयमा नियमित स्ववियु निर्वाचन नभएको करिब १० वर्ष भएको भएको कार्यकारी निर्देशक थापाले बताए। निर्वाचन नहुँदा कलेजको शैक्षिक, आर्थिक तथा प्रशासकिय कामसमेत बाधा पुगेको उनले बताए। स्ववीयु नहुँदा विद्यार्थीलाई उपलब्ध गराउने छात्रावृत्ति व्यवस्थापन र वितरणमा समस्या भएको उनको भनाइ छ।

२०७३ सालमा त्रिविले स्ववियु गराउँदा समेत विभिन्न समस्या उत्पन्न भएको थियो। जसले गर्दा ६० आंगिक कलेजमध्ये २६ वटामा मात्रै निर्वाचन भएको थियो। सम्बन्धन प्राप्त ११ सय बढी कलेजमध्ये दुई सय ५० वटामा निर्वाचन भएको थिएन। ‘हामीले चुनवाको सबै तयारी गरे पनि विद्यार्थीबीचनै सहमति हुन नसकेका कारण निर्वाचन सार्नुपर्ने अवस्था आयो,’ कार्यकारी निर्देशक थापाले भने, ‘प्रत्येक २/२ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन हुन नसक्दा कलेजले सोचेजस्तो गति लिन सकेको छैन।’

नेपाल विद्यार्थी संघकी उपाध्यक्ष उर्मीला थपलियाले नेविसंघले चुनाव सार्ने कुरा नगरेको बताइन्। आफूहरू कहिल्यै पनि चुनावबाट भाग्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले नेविसंघ स्ववियु निर्वाचनको पक्षमा रहेको दावी गरिन्। अनेरास्ववियु र त्रिवि आफैँ चुनावको पक्षमा नरहेकोले फागुन १४ मा चुनाव हुन नसक्ने अवस्था सिर्जना भएको उपाध्यक्ष थपलियाको आरोप छ।

‘विश्वविद्यालय अन्तरगतका कलेजहरू अहिले आर्थिक भ्रष्टाचारमा डुबेका छन्। त्यही भएर त्रिवि आफैले निर्वाचनको वातावरण तयार गरेको छैन, उनले भनिन् ‘निर्वाचन भए कलेजहरूमा स्ववियुको सहभागिता हुने र कलेजको आर्थिक भ्रष्ट्राचार सार्वजनिक हुने त्रासकै कारण निर्वाचन गर्ने वातावरण त्रिविले तयरा नगराएको हो।’

नेविसंघले चुनावलाई अन्योलतातर्फ धलेको अनेरास्ववियुका केन्द्रीय सदस्य आरसी लामिछानेले आरोप लगाए। ‘एकसाताअघि मात्र स्ववियु निर्वाचन सम्बन्धी छलफमा नेविसंघका साथीहरूले तयारीका लागि केहि समय मागेका थिए,’ उनले भने, ‘ अहिले अनेरास्ववियु बलियो संगठन छ, निर्वाचन भएपछि नेविसंघ हार्ने त्रासका कारण चुनावबाट भाग्न खोजेको छ।’ लामोसमयदेखि स्ववियु नहुँदा कलेजमा विद्यार्थीका समस्या समाधान हुन नसकेकाले निर्वाचन गर्नुको विकल्प नरहेको उनको भनाइ छ।

प्रकाशित: २ फाल्गुन २०७६ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App