२१ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

केयुको २५औं दीक्षान्त आज

बनेपा – काठमाडौं विश्वविद्यालय (केयु) को २५औं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमअन्तर्गत शुक्रबार एक हजार ५ सय ४६ जना विद्यार्थी विभिन्न उपाधिबाट दीक्षित हुने भएका छन्। यसअघि पहिलो चरणमा मेडिकलतर्फका १ हजार ६ सय ४ जना दीक्षित भइसकेका छन्।

केयुले बिहीबार पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यसपटक स्कुल अफ आर्ट, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट र साइन्स विधाका विद्यार्थीलाई दीक्षित गरिँदै छ। ‘दीक्षान्तमा १६ जना पीएचडी र ५५ जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ५ सय ४६ जनाले उपाधि लिनेछन्। त्यसमध्ये आर्ट्सका २ सय ११ जना, एजुकेसनका १ सय ६८ जना, इन्जिनियरिङका ३ सय ७१ जना, लका ४१ जना, म्यानेजमेन्टका ४ सय ८३ जना र साइन्सका २ सय ६० जना हुनेछन्। दीक्षित हुनेमध्ये ८ सय ६४ पुरुष र ६ सय ७९ महिला रहेको सूचना अधिकारी एवं एसोसिएट प्रोफेसर डा. हेमराज काफ्लेले बताए।

केयुको कान्छो एवं सातौं स्कुलका रूपमा पाँच वर्षअघि सुरु भएको स्कुल अफ लबाट पहिलो पटक ४१ जनाले पाँच बर्से अवधिको ब्याचलर अफ बिजिनेस म्यानेजमेन्ट एन्ड ब्याचलर अफ ल (बिबिएम, एलएलबी) मा स्नातक तहको पढाइ सकाएका छन्। उनीहरू पनि यसै चरणमा दीक्षित हुँदै छन्। ‘मुलुकमै कर्पोरेट वकिलहरूको अभाव भइरहेको अवस्थालाई ध्यानमा राखी यो कोर्स सुरु भएको थियो। पहिलो पटक हाम्रा विद्यार्थी उपाधि लिएर पेसामा जाँदै छन्। हामीलाई गौरवको अनुभूति भइरहेको छ,’ स्कुल अफ लका डीन डा. ऋषिकेश वाग्लेले भने।

यस्तै, मुलुकमै पहिलो पटक सुरु भएको बिई इन केमिकल इन्जिनियरिङका विद्यार्थी पनि पहिलो पटक दीक्षित हुँदै छन्। यस पटक २५ जना केमिकल इन्जिनियर दीक्षित हुने भएका छन्। ‘देशमा सिमेन्ट, चिनीलगायत प्रोसेसिङमा आधारित धेरै उद्योग स्थापना भएका छन्। धेरै खुल्ने तरखरमा छन्। यी उद्योगले अहिले केमिकल इन्जिनियरका लागि विदेशमा भर पर्नुपरेको छ। स्वदेशमै उत्पादन भएका १ हजारदेखि १२ सयसम्म केमिकल इन्जिनियरले आगामी ५ देखि ७ वर्षसम्म काम पाइरहन्छन्। विदेशमा त स्कोप छँदै छ,’ नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष इन्जिनियर ध्रुव थापाले भने। केयुमा अहिले उत्पादन भएका केमिकल इन्जिनियरहरूले नेपालकै सिमेन्टलगायत प्रोसेसिङ उद्योगमा इन्टर्नसिप गरेकाले उनीहरूलाई काम गर्न पनि सहज हुने उनको भनाइ छ।

यसै दीक्षान्तमा ल्यान्ड म्यानेजमेन्ट विषयमा पहिलोपटक पीएचडी उपाधि प्रदान गरिनेछ। कार्यक्रममा दीक्षित हुनेमध्ये अर्जेन्टिना, भारत, इजरायल, जापान, केन्या, माल्दिभ्स, पाकिस्तान, स्विडेन, युक्रेन, बेलायत र अमेरिका गरी ११ देशका १३ जना विद्यार्थी विदेशी छन्। दुवै चरणको कार्यक्रममा गरी २५औं दीक्षान्त समारोहमा ३ हजार १ सय ५० जना दीक्षित हुनेछन्। तीमध्ये १४ देशका २ सय ५९ जना विद्यार्थी विदेशी छन्। २५औं दीक्षान्तसम्म आइपुग्दा केयुबाट ३१ हजार ९ सय ४३ जना दीक्षित भइसकेका छन्। यस पटकको कार्यक्रममा चिनियाँ मूलका प्रसिद्ध अमेरिकी वैज्ञानिक तथा थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) का प्रेसिडेन्ट डा. इडेन वाई वुनले दीक्षान्त सम्बोधन गर्ने केयुले जनाएको छ।

प्रकाशित: ४ पुस २०७६ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App