९ मंसिर २०८१ आइतबार
image/svg+xml
शिक्षा

सर्भे एन्ड म्यापिङमा पोस्ट ग्य्राजुयट

बनेपा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले नापनक्सा कार्य (सर्भे एन्ड म्यापिङ) मा पोस्ट ग्य्राजुयट पढाइ सुरु गर्ने भएको छ। केन्द्रले उक्त विषय पढाइ सञ्चालनका लागि त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान र पश्चिमाञ्चल क्याम्पससँग सहकार्य गर्ने बताएको छ।

‘धुलिखेलमा मंगलबारबाट आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा स्वदेशी तथा विदेशी विज्ञ सम्मिलित प्रि–कन्फरेन्सबाट सर्भे एन्ड म्यापिङमा पोस्ट ग्य्राजुयट पढाइ सुरु गर्न उल्लेख्य सुझावहरू आएका छन्,’ केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले भने, ‘त्यसैका आधारमा हामी पाठ्यक्रम तयारीमा लाग्दैछौं।’ केन्द्रले ‘एड्भान्स्ड जिओस्पासल टेक्नोलोजी र भूमि व्यवस्थापन क्षेत्रमा क्षमता अभिवृद्धि र शिक्षण’ विषयमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो।

धुलिखेलमा आयोजित सम्मेलनको मंगलबार उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले विश्वविद्यालयहरूसँग यस्तो प्रकारको सहकार्य गर्दै जान केन्द्रका पदाधिकारीहरूलाई निर्देशनसमेत दिइन्। ‘२०२५ सालमा नापी तालिम केन्द्रका रूपमा सानो स्तरमा स्थापित केन्द्रले पछिल्ला वर्षहरूमा नापनक्सा र भूमि व्यवस्थापनका क्षेत्रमा मुलुकमै उच्च शिक्षा हासिल गर्न सक्ने अवस्था सिर्जना गरेको छ,’ उनले भनिन्, ‘नापनक्सा कार्य पूर्वाधार विकासको मेरुदण्ड भएको र नेपाल समृद्धिको यात्रामा लम्किरहेको अवस्थामा अन्य मुलुकमा प्रचलित तौरतरिकाका साथै नवीनतम अभ्यासहरूलाई यहाँ पनि लागू गर्न सकिन्छ।’ सम्मेलनमा प्रस्तुत कार्यपत्र तथा विचारहरू महŒवपूर्ण हुने उनको भनाइ थियो।

केन्द्रले यतिखेर काठमाडौं विश्वविद्यालय (केयु) सँग मिलेर जियोम्याटिक्स इन्जिनियरिङमा ग्य्राजुयट र भूमि व्यवस्थापनमा पोस्ट ग्य्राजुयट तहको पढाइ सञ्चालन गर्दै आएको छ। अब पश्चिमाञ्चल थपिँदा सो क्षेत्रका विद्यार्थीहरूलाई नापनक्सा र भूमि व्यवस्थापनमा उच्च अध्ययनको मौका मिल्ने केन्द्रका पूर्वपदाधिकारीहरूको भनाइ छ। सम्मेलनमा इन्टरनेसनल सोसाइटी फर फोटोग्रामेट्रिक एन्ड रिमोट सेन्सिङ (आइएसपिआरएस), वर्किङ ग्रुप सेभेनका अध्यक्ष एवं साइबेरियन स्टेट युनिभर्सिटी अफ आर्किटेक्चर एन्ड सिभिल इन्जिनियरिङका प्राध्यापक भ्लादिमिर सेरेदोभिचले नेपालमा यस्तो किसिमको सम्मेलन गर्न पाउँदा खुसी लागेको बताए। सम्मेलन सञ्चालनमा नेपाल रिमोट सेन्सिङ एन्ड फोटोग्रामेट्रिक सोसाइटी (एनआरएसपिएस), नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स (एनआइसिएस) लगायत संघसंस्थाले सहकार्य गरेका हुन्।

बुधबारसम्म चल्ने सम्मेलनमा एडभान्स्ड जिओस्पासल टेक्नोलोजी र भूमि व्यवस्थापनबारे ५० भन्दा बढी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कार्यपत्रमा छलफल हुने केन्द्रका कार्यकारी निर्देशक भट्टको भनाइ छ। ‘नापनक्सा र भूमि व्यवस्थापनको क्षेत्रसँग सम्बन्धित प्राध्यापकहरू, अनुसन्धानकर्ताहरू, विद्यार्थीहरू गरी डेढ सयजनाको सहभागिता छ,’ उनले भने, ‘उहाँहरू नेपालसहित नेदरल्यान्ड्स, चेक रिपब्लिक, टर्की, युक्रेन, रसिया, अस्ट्रेलिया, बेल्जियम, मंगोलिया, भारत, चीन, अफगानिस्तानलगायत १३ देशबाट सहभागी भइरहनुभएको छ।’

प्रकाशित: २५ मंसिर २०७६ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App