२८ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

शिक्षामा एकरुपता ल्याउन एकै प्रकारको विद्यालय पोशाक

बेझाङ- शिक्षामा एकरुपता ल्याउन पाल्पाको पूर्वखोला गाउँपालिकाले एकै प्रकारको विद्यालय पोशाक शुरुआत गरेको छ।आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समेटेर गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा एकै प्रकारको पोशाक लगाउने निर्णय भएपछि विद्यालयले विद्यार्थीलाई सोही अनुसार पोशाक वितरण गर्न थालेका छन्।

गाउँपालिकाभित्र सञ्चालित ३८ विद्यालयमा एकै प्रकारको विद्यालय पोशाक प्रयोग गराउन १८ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए। 'शिक्षामा फरक पहिचान बनाउन, आपसी सद्भाव बढाउन, विद्यालयबीचको पोशाकमा हुने विभेद अन्त्य गरी एकरुपता ल्याउन शैक्षिक क्षेत्रलाई फराकिलो बनाउन यो अभियान थालनी गरेका हौँ', उनले भने।

गाउँपालिकाभित्र रहेका सबै विद्यालयमा एकै प्रकारको रङ लगाउने योजना पनि रहेको छ। यस सम्बन्धमा भने प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष थापाले बताए। गाउँपालिकाभित्रका विद्यालयमा खरानी रङको सर्ट र गाढा निलो रङको पाइन्ट विद्यालय पोशाकको रुपमा तय गरिएको छ।

गाउँपालिकाको सहयोगमा पूर्वखोला गाउँपालिकाको वडा नं ३ मा रहेको जनउज्ज्वल आधारभूत विद्यालयका १०३ विद्यार्थीलाई एकै प्रकारको पोशाक वितरण गरेको प्रधानाध्यापक कृष्णप्रसाद पङ्गेनीले बताए। 'एकै प्रकारको पोशाक बनाएपछि जहाँ गए पनि पूर्वखोलाको विद्यार्थी भनेर पहिचान हुनेछ, शैक्षिक गुणस्तरमा सहयोग पुग्ने आशा लिइएको छ', उनले भने।

अन्य विद्यालयले पनि गाउँपालिका सहयोगमा विद्यालय कोषको केही रकम थप गरेर वितरण गर्ने तयारी गरिरहेका छन्। गाउँपालिकाले शैक्षिक क्षेत्रमा गुणस्तर बढाउन, संस्थागत र सामुदायिक विद्यालय बीचको अन्तर हटाउन यसै शैक्षिकसत्रदेखि पाँच संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा गाँभेर पठनपाठन सञ्चालन गरिरहेको छ। रासस

प्रकाशित: ७ कार्तिक २०७६ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App