३ मंसिर २०८१ सोमबार
image/svg+xml
शिक्षा

शिक्षक नियुक्ति पारदर्शी बनाउन गाउँपालिकाको यस्तो उपाय

खोटाङ– शिक्षक नियुक्तिलाई मर्यादित र पारदर्शी बनाउन खोटाङको चुइचुम्मा गाउँपालिकाले नयाँ तरिका अपनाएको छ। पहुँचका भरमा आफ्ना मान्छे नियुक्त गरिएको आरोप चौतर्फी लाग्दै गरकाले गाउँपालिकाले भने फरक तरिकाले शिक्षक नियुक्तिको प्रक्रिया थालेको हो। 

गाउँपालिकाले क्षमता र योग्यताभन्दा पनि ‘पहुँच लगाउने’ वा ‘आफ्नो मान्छे छान्ने’ प्रवृत्तिको अन्त्य गर्दै रोस्टर शिक्षकमाथि सबैभन्दा बढी निगरानी बढाएको छ। शिक्षक नियुक्तिको लागि हुने परीक्षामा गाउँपालिकाले प्रश्नपत्र तयार पार्ने, उत्तरपुस्तिका जाँच्नेदेखि नतिजा प्रकाशन नहुन्जेलसम्म रोस्टर शिक्षकको मोबाइल चलाउन र झोला र साथमा राख्न नदिने र त्यस अवधिमा अरूसँग सम्पर्क गर्न नदिने गरी राखिने बताएको छ। यस्तो तरिकाले लिइएको परीक्षा निष्पक्ष र विश्वसनीय हुने गाउँपालिका अध्यक्ष अध्यक्ष भूपेन्द्र राईले बताए। 

परीक्षा सञ्चालनका दिन गाउँपालिकाले छानेका ४१ रोस्टर शिक्षकलाई परीक्षा केन्द्रमा बोलाइने छ। सबै परीक्षार्थी, वडाध्यक्ष, गाउँपालिकाका प्रतिनिधि, प्रअ र व्यवस्थापन समितिका अध्यक्षको उपस्थितिमा रोस्टर शिक्षकको नाम कागज गोलो पारेर पारदर्शी बट्टामा राखेर सानो बच्चालाई टिप्न लगाएर परीक्षाका लागि रोस्टर शिक्षक चयन गर्ने गरिएको गाउँपालिका प्रमुख राईले बताए। ‘गोलाप्रथाबाट छानिएका रोस्टर शिक्षकले मोबाइल र झोला गाउँपालिकालाई बुझाउनुहुन्छ, त्यसपछि उहाँहरुले प्रश्नपत्र तयार पार्नुहुन्छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘परीक्षाको नतिजा प्रकाशन नभएसम्म उहाँहरू अरूको सम्पर्कमा जान पाउनुहुन्न। शिक्षक छनोट परीक्षालाई मर्यादित बनाउन र साँच्चिकै ट्यालेन्ट उम्मेद्वार छान्न हामीले यो विधि अपनाएका हौँ।’ 

शिक्षक छनोट परीक्षा हलमा गाउँपालिकाका प्रतिनिधि र वडाध्यक्षलाई मात्र प्रवेश दिने गरिएको छ। तर, उनीहरुलाई प्रश्नबारे थाहा हुन्न। रोस्टर शिक्षकलाई समेत परीक्षा हलमा प्रवेश गर्न दिइन्न। लिखित परीक्षा सकिएपछि परीक्षार्थीको कापीलाई कोडिङ–डिकोडिङ गरेर परीक्षार्थीको नाम र रोल नम्बर गाउँपालिका प्रतिनिधिले साथमा लिन्छ। नाम र रोल नम्बरबिनाको उत्तर पुस्तिकका जाँचका लागि रोस्टर शिक्षककहाँ लगिन्छ। प्रअ र विव्यास अध्यक्षको उपस्थितिमा हरेक रोस्टर शिक्षकले १ नम्बरबाट क्रमशः उत्तर बाचन गरेर कापी काट्नुपर्छ। कापी जाँच गरेर प्राप्तांक जम्मा गरेपछि पुनः कोडिङ–डिकोडिङ गरेर नाम र रोल नम्बरलाई सम्बन्धित परीक्षार्थीको उत्तरपुस्तिकामा टाँसेर रिजल्ट घोषणा गर्ने गरिएको गाउँपालिका प्रमुख राईले बताए। ‘शिक्षक छनौटकाक्रममा पारदर्शीता कायम गर्दै योग्य उम्मेदवारलाई शिक्षकका रुपमा छनौटका लागि यो उपाय अपनाएका हौँ,’ राईले भने, ‘क्षमताको आधारमा शिक्षक छानिए मात्र शैक्षिक गुणस्तरलाई उकास्न सकिन्छ भन्ने हाम्रो लक्ष्य हो।’ 

महेन्द्रोद्धय आधारभुत बिद्यालय याम्खा बालविकास केन्द्रको सहयोगी शिक्षक, शान्ति मावि छोरम्बुको लेखा, जनचेतना प्रावि सछितापोखरीको प्रावि अनुदान र पञ्चकन्या आधारभूत विद्यालयको अंग्रेजी राहत शिक्षक नियुक्तिका लागि शनिबार सञ्चालन गरिएको परीक्षा यसै विधिबाट गरिएको छ।  

शिक्षक छनोटमा हुने चलखेल तथा योग्य र क्षमतावान् उम्मेदवारलाई भन्दा ‘आफ्नो मान्छे’लाई परीक्षामा उत्तीर्ण गराउने प्रवृत्ति रोक्न तत्कालीन जिल्ला शिक्षा कार्यालय खोटाङले २०७२ साल पुसमा रोस्टर शिक्षक छनोटमा गोलाप्रथा प्रणाली अपनाएको हो।

प्रकाशित: ११ फाल्गुन २०७५ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App