काठमाडौं - १९ वर्षीय रविन्द्र राम दिउँसोको टन्टलापुर घाममा सुन्धाराको नजिकैको पेटीमा बसेर बटुवाहरुको चुडिएको जुत्ताचप्पल सिलाउने र पालिस गर्ने गर्छन् । दिउँसभरिको कमाई जम्मा गरेर घरपरिवारको बिहान–बेलुकाको छाक टार्छन् । बाँकी रहेको रुपियाँ बिरामी बुवाको उपचारका लागि लिइएको ऋण तिर्र्न जोगाउँछन्।
जनकपुरका रामले कक्षा ८ पढ्दापढ्दै उनको बुवाको मृत्यु भयो । त्यसपछि परिवार पाल्ने व्यक्ति उनी बने र बुवाको बिँडो सम्हाले । आमाको हेरचाह र घरखर्च चलाउन उनले काम थाले । तर, पढाइ छाडेकोमा उनलाई साह्रै चित्त दुखेको छ । ‘दिनभरि जुत्ता सिलाउँछु, राति डेरा पुगेपछि स्कुल र पढाइ सम्झेर धुरुधुुरु रुन्छु,’ अंग्रेजीमा अब्बल रामले सुनाए, ‘आमा निरक्षर भए पनि मलाई पढ्न जा भन्नु हुन्छ । म पढ्न गए कसले कमाउने ?’ उनले प्रश्न गरे।
उनका समवयी साथीहरु स्नातक तहमा अध्ययन गरिरहेका छन् । त्यो देख्दा उनलाई आप्mनो जीवन त्यत्तिकै सकियो भन्ने चिन्ता लाग्छ । ‘म पढ्नमा अब्बल नै थिए, सपना त डाक्टर बन्ने थियो,’ रामले भावुक हुँदै भने, ‘गरिबको जिन्दगी गरिबीमै बित्छ जस्तो लाग्न थालेको छ ।’ रविन्द्रले त आर्थिक अभावका कारण स्कुल छाडे । देशभरमा उनीजस्ता ९ लाख बालबालिकाले बिचैमा स्कुल छाड्ने गरेका छन्।
दश वर्षअघि कक्षा एकमा भर्ना भएका कुल विद्यार्थी संख्या १३ लाख ६२ हजार ९ सय २० थियो । जसमध्ये ४ लाख २२ हजार ७ सय ८७ मात्र एसइईमा सहभागी भए । कक्षा १ देखि १० सम्म ९ लाख ४० हजार १ सय ३३ विद्यार्थीले पढाइ छाडे।
भर्ना हुँदा छात्रभन्दा छात्राको संख्या कम भए पनि कक्षा १० सम्म पुग्दा छात्राको संख्याले जितेको पाइन्छ । कक्षा १ मा ६ लाख ८२ हजार ४ सय २३ छात्र र ६ लाख ८० हजार ४ सय ८२ छात्रा मात्र भर्ना भएका थिए । जसमध्ये २०७४ को एसइईमा छात्रको सहभागिता २ लाख ९ हजार ३ सय ४८ थियो भने छात्राको संख्या २ लाख १३ हजार ४ सय ३९ रहेको थियो।
शिक्षाविद् प्राडा सिद्धिप्रसाद कोइरालाका अनुसार विद्यार्थीहरुले बीचैमा पढाइ छाड्नुको मुख्य कारण आर्थिक समस्या हो । अझै पनि ७० प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा बस्छन् । ‘आर्थिक रुपमा कमजोर जनसंख्या ६० प्रतिशत छ,’ शिक्षाविद् कोइरालाले नागरिकसँग भने, ‘यही समूहका बालबालिका नै बिचैमा विद्यालय छाड्न बाध्य बन्छन् ।’ उनले सुझाए, ‘तेल, खाजा र पोशाक मात्र बाँडेर विद्यार्थीलाई विद्यालयमा विद्यार्थी दिगो रुपमा टिक्दैनन् । जनताको जीवनसँग जोडिने शिक्षा कार्यक्रम तथा नीति तय गर्नुपर्छ।’
अर्का शिक्षाविद् प्राडा हरिप्रसाद उपाध्यायाले विद्यार्थीलाई दिइने शिक्षा गरिखाने नभएकाले उनीहरु पढाइ छोडेर आर्यआर्जनका काममा लाग्ने गरेको बताए । ‘सरकारले विज्ञहरुसँग छलफल गरी रोजगार र सीपसँग जोड्ने शिक्षा उपलब्ध गराउनु पर्छ,’ शिक्षाविद् उपाध्यायले नागरिकसँग भने, ‘शैक्षिक प्रमाणपत्र भित्तामा झुण्ड्याउने होइन विश्वबजारमा उत्पादित जनशक्ति बिक्ने शिक्षा दिनुपर्छ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुन्ठ अर्यालले विगतमा प्रतिविद्यार्थी लागत अनुदान र सरकारले उपलब्ध गराउने विभिन्न खालका सेवासुविधाका कारण पनि विद्यालयहरुले नक्कली विद्यार्थी भर्ना गराएर तथ्यांक बढाउने गरेकाले कक्षा १ मा विद्यार्थी बढी देखिएको प्रस्ट्याए । ‘त्यही भएर अब मन्त्रालयले मातहतका निकायहरुमा सबै तथ्यांक चुस्त पार्न अत्याधुनिक प्रविधिको प्रयोग थालेको छ,’ प्रवक्ता अर्यालले नागरिकसँग भने, ‘अब कति विद्यार्थी भर्ना भए र कतिले बीचैमा छाड्नेबारे सही तथ्यांक संकलन गर्ने काम पनि सम्बन्धित निकायले गरिरहेको छ,’ उनले थपे, ‘अब सरकारले विद्यार्थी भर्ना निरन्तरता गर्न तथा विद्यालयमा टिकाउने कार्यक्रम केन्द्रित गरिरहेको छ।’
प्रकाशित: १४ भाद्र २०७५ ०४:४५ बिहीबार