२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

संस्कृतमा विद्यार्थीको आकर्षण

स्वर्गद्वारीको गुरुकुलमा अध्ययन गर्दै विद्यार्थी । तस्विर : नागरिक

प्यूठान– लामो टुप्पी पालेका बालकहरु लस्करै बसेका छन्। एकैस्वरमा ‘आनोभद्राकर्तबो जन्तुरविश्वतोदब्धासो अपरितासहुद्भिदह’ मन्त्रोच्चारण भइरहेको छ। सारमा सार मिलाउँदै बालकहरु हात चलाइरहेछन्। वैदिक सार–स्वरको यो सामञ्जस्यले जो काेहीलाई आकर्षित गर्छ। कुनै सामूहिक गायन र नृत्यले जस्तो आनन्द दिन्छ। कोही पहेंलो कमिजमा सेतो सुरूवाल त कोही सेतो कमिज–सुरूवाल अनि ढाकाटोपीले ठाँटिएका बालकहरु लहरै बसेका छन्। सानो टेबलका तल रातो कुशन राखिएका छन्। टेबलमा वेद, चण्डी, गीता र रुद्रीका पुस्तक अगाडि राखिएका छन्। 

तपाईंलाई लाग्ला–कुनै पूजापर्व चलिरहेछ। तर, तपाईंकाे अनुमान गलत हुनेछ। जब तपाईं प्यूठान, स्वर्गद्वारीको श्री बाल तपस्वी वेद विद्यालय गुरुकुलमा पुग्नुहुनेछ, त्यहाँ देख्नुहुनेछ- दैनिक बालकहरु सार–स्वरमा गुनगुनाई रहेछन्, संस्कृत भाषाका पुस्तकहरु। संस्कृत भाषामा लेखिएका वेद, वेदांग आफैंमा ज्ञानको अपार स्रोत भएपछि विद्यार्थीहरुको आकर्षण बनिरहेको छ। 

भिडियाे :

यज्ञको पुरकको रुपमा सञ्चालन भएको गुरुकुलम केन्द्रमा अहिले ९४ जना विद्यार्थी अध्ययन गर्छन्। ‘स्वर्गद्वारीको आश्रम तथा यज्ञ सञ्चालन गर्ने उद्देश्यले १९५२ सालमा गुरुकुल सुरु भयो। २०६९ सालदेखि औपचारिकतामै कक्षा ६ देखि १० सम्म पढाई हुन्छ,’ प्रधानाध्यापक मधुसुदन अर्यालले भने, ‘शैक्षिक वर्ष २०७२/०७३ मा ६९ जना, गत वर्ष ८३ हुँदै यस वर्ष ९४ जना विद्यार्थीहरु अध्ययनरत छन्।’ विद्यार्थी कक्षा ६ मा भर्ना हुन साधारण वा संस्कृत विद्यालयबाट कक्षा ५ पास गरेर आउने गर्दछन्। आवासीय सुविधासहित निःशुल्क पढाई हुने विद्यालयमा विद्यार्थी आउनासाथ गायत्री, सन्धोपासन, कण्डीका, स्तोस्त्र, महिंन, सप्तशती, अग्निस्थापना र रुद्री कण्ठ तयार गर्न लगाईन्छ। अनि कक्षा ६ मा भर्ना गरिन्छ, प्रधानाध्यापक अर्यालले भने। प्रअले पढाउनको लागि शिक्षक भने पाउन मुस्किल भएकाे सुनाए। उनी भन्छन्, ‘सरकारले पहिले अनुदान पनि दिन्थ्यो। अहिले सबै आश्रमकै आम्दानीबाट गुरुकुल चलेको छ।’ विद्यालयमा ६ जना शिक्षक कार्यरत छन्।

गुरुकुल विद्यालयमा अहिले कक्षा ६ मा १६, कक्षा ७ मा ९, कक्षा ८ मा ११, कक्षा ९ मा १२ र कक्षा १० मा ९ जना विद्यार्थी अध्ययनरत छन्। संस्कृतका २, ४ र ५ कक्षामा पनि अनौपचारिक रुपमै पढाई हुन्छ। कक्षा ६ मा दाङ्गबाट अध्ययन गर्न पुगेका शिशिर पोखरेलले संस्कृत भाषा बारे जानकारी लिन र पण्डित हुन गुरुकुलमा आएको बताए। कक्षा ९ मा अध्ययनरत काभ्रेका प्रकाश पाण्डे विद्वान बन्न तथा कथा प्रवचन गरि ज्ञानको ज्योती फैलाउन गुरुकुलमा आएको बताउँछन्। उनी भन्छन्, ‘स्वर्गद्वारी विश्वको प्रशिद्ध धार्मिक गन्तव्य हो। हिन्दू धर्मलाई पहिचान दिलाउन मन लाग्छ।’ कक्षा १० मा अध्ययनरत मकवानपुरका विनय सुवेदीले धर्मसँगै संस्कृति जोगाउन र प्रचार गर्न संस्कृत भाषा अध्ययन गरेको सुनाए। पर्वत जिल्लाबा पुगेर १० कक्षामा अध्ययनरत सन्दिप आचार्यले विश्वको सबैभाषा संस्कृतमा रहेकोले लोप हुन नदिन अध्ययन गरेको बताए। 

स्वर्गद्वारी आश्रममा दैनिक ५ सय जनासम्म भारतीय तथा नेपाली नागरिक दर्शनका लागि पुग्ने गरेका छन्। दर्शनार्थीबाट चढेको भेटीले गुरुकुल चलेको छ। आश्रममा ३ सय ५० गाई पालिएको छ। शिक्षक छविलाल न्यौपानेले अब एसइई दिने क्रममा विद्यार्थीहरु रहेकोले संस्कृत शिक्षाको महत्व उजागर हुने बताए। उनी भन्छन्, ‘यज्ञको पुरकको रुपमा विद्यालय भएपनि संस्कृत शिक्षामा विद्यार्थीको आकर्षण बढेको छ। ५० भन्दा बढी जिल्लाका छात्रहरुले गुरुकुलमा शिक्षा लिन्छन्।’

प्रकाशित: १३ असार २०७५ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App