दक्ष जनशक्ति उत्पादन गरी देश विकासमा सहयोग पु¥याउनुपर्ने सबैभन्दा पुरानो र जेठो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय तालाबन्दीको चपेटामा परेको छ। शैक्षिक क्षेत्रकै शीर्ष व्यक्तित्व मानिने निमित्त उपकुलपतिले कार्यालयभन्दा बाहिर बसेर काम गर्नुपर्ने अवस्थामा विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक उन्नयन कसरी हुन्छ भन्ने बहसको विषय बनेको छ।
जेठ १४ देखि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नजिकिँदै गरेको परीक्षाको मुखमा विद्यार्थी भर्ना खुलाउनुपर्ने माग राखेर निमित्त उपकुलपति खड्ग केसी, शिक्षाध्यक्ष दुविनन्द ढकाल र रजिस्ट्रार केदार रिजालको कार्यकक्षमा तालाबन्दी गरेको छ। तालाबन्दीको पर्यायवाची बनेको विश्वविद्यालयका निमित्त उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले आआफ्नो कार्यकक्षभन्दा बाहिर बसेर काम गर्नुपर्दा सामाजिक मर्यादामा समेत आँच पुगेको महसुस गरिरहेका छन्।
केसीले आफू निमित्त उपकुलपति पदमा नियुक्ति भए पनि दैनिक कामकारबाही आफ्नो कार्यालयमा बसेर गर्न नपाएको बताए। ‘स्नातक तहको परीक्षा असार २५ देखि सुरु हुने तालिका रहेको छ। परीक्षाको मुखमा आएर विद्यार्थी संगठनका माग पूरा हुन सक्दैन’, निमित्त उपकुलपति केसीले भने, ‘म बस्ने कार्यालय तोडफोड गरिएको छ। विश्वविद्यालयको वातावरण त्रासपूर्ण बनाइएको छ। कार्यालय प्रवेशमा रोक लगाएपछि कहिले इन्जिनियरिङ अध्ययन संस्थान, कहिले महाराजगन्ज मेडिसिन त कहिले पनिका बल्खुमा बसेर काम गर्नुपर्दा मानसिक तनाव भएको छ।’
त्रिभुवन विश्वविद्यालय पछिल्लो समय तलाबन्दीको पर्यायवाची बन्न पुगेको छ। आंशिक र करार शिक्षक तथा विद्यार्थी संगठनले विभिन्न बहानामा विश्वविद्यालयमा तालाबन्दी गर्दै आएका छन्। राजनीतिक आडमा हुने गरेका यस्ता तालाबन्दीले विश्वविद्यालयको वातावरण दूषित बन्दै गएको छ। शिक्षाध्यक्ष ढकालका अनुसार जुनसुकै संगठनले गर्ने तालाबन्दीको मुख्य उद्देश्य नै भय त्रास उत्पन्न गराउनु हो। ‘यसैको परिणामा हो जेठ १४ मा निमित्त उपकुलपति कार्यकक्षमा भएको तोडफोड र तालाबन्दी’, उनले भने।
उपत्यकाका शंकरदेव क्याम्पस, सरस्वती क्याम्पस, पाटन संयुक्त क्याम्पस र भक्तपुर क्याम्पसका नेविसंघका विद्यार्थी नेताले त्रिवि पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी र निमित्त उपकुलपतिको कार्यक्षमा तोडफोड गरेका छन्। उनीहरू स्ववियु निर्वाचनअघि स्थगित गरिएको विद्यार्थी भर्ना खुलाउनुपर्ने माग राख्दै तोडफोडमा उत्रिएका हुन्, तर त्रिविले स्नातक तहको परीक्षा फाराम खुला भइसकेको अवस्थामा भर्ना खुलाउन नसकिने जवाफ दिएको छ।
‘त्रिविमा बेथितिको पराकाष्ठा कायम छ’, ‘शिक्षाध्यक्ष ढकालले भने, ‘विद्यार्थी भर्ना फागुनमै बन्द भइसक्यो। असारको अन्तिम साता स्नातक परीक्षा सुरु हुन्छ। तर विद्यार्थीले अहिले स्नातकमै भर्ना खोल्नुपर्ने दबाब दिँदै निमित्त उपकुलपति कार्यालयमा तोडफोड गरे, यो गलत प्रवृत्ति हो।’ उनले कार्यकक्षमा बसेर काम गर्न सक्ने वातावरणसमेत नरहेको खुलस्त पारे।
त्रिवि पदाधिकारीले किटानी जाहेरी दिएपछि प्रहरीले मंगलबार दुई आरोपीलाई पक्राउ गरेको छ। आरोपी पक्राउ परेपछि विश्वविद्यालयका पदाधिकारी थप त्रासित बनेका छन्। उनीहरूले गृह प्रशासनसँग सुरक्षाको माग पनि गरेका छन्। विश्वविद्यालयमा तालाबन्दी र तोडफोड नयाँ विषय होइन। यसअघि पूर्वउपकुलपति धर्मकान्त बाँस्कोटाको चारबर्से कार्यकाल तालाबन्दीमै बित्यो। उनकै कार्यकालमा सबैभन्दा धेरै ३४३ दिन तालाबन्दी भयो।
त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेले त्रिविमा बढ्दै गएको दन्डहीनताका कारण पछिल्लो समय विश्वविद्यालयभित्र गैरविद्यार्थीको गुन्डागर्दी बढ्दै गएको बताए। २०७७ साल असोज २० गते नेविसंघकै केही विद्यार्थीले उनीमाथि संघातिक हमला गरेका थिए। घटना भएको पाँच वर्ष बित्दासमेत न्याय नपाएको उपप्राध्यापक चलाउनेले बताए। ‘नियमित अध्ययन गर्ने विद्यार्थीले कहिल्यै तालाबन्दी र तोडाफोड गर्दैनन्। गुरुलाई अपमान पनि गर्दैनन्’, उपप्राध्यापक चलाउनेले भने।
२०६२÷०६३ को जनआन्दोलनपछि विश्वविद्यालयमा राजनीतिक भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने प्रक्रियाले संस्थागत रूपमै मान्यता पाउन थाल्यो। यसकारण विश्वविद्यालयको शैक्षिक, कर्मचारी र विद्यार्थीले खुलेरै दलकै झन्डा बोकेर हिँडेपछि विश्वविद्यालयमा अराजकता फैलिँदै गएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए।
विश्वविद्यालयका पदाधिकारी विश्वविद्यालयभित्र प्रणाली बनाएर अघि बढ्न नसक्नुको कारण विश्वविद्यालय राजनीतिक दलदलमा फस्दै गएको विश्लेषण शिक्षाविद् कोइरालाको छ। विश्वविद्यालयहरूको प्राज्ञिक र संस्कृति मर्यादा भत्काउने काम लोकतन्त्र स्थापनापछि झांगिएको उनको तर्क छ।
प्रकाशित: २९ जेष्ठ २०८२ ०८:५८ बिहीबार





-600x400.jpg)