पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने स्थानीय विद्यार्थीलाई छात्रवृत्ति दिन आवेदन माग गरेको छ। शिक्षा शाखा प्रमुख अर्जुन श्रेष्ठका अनुसार छात्रवृत्ति पाउन जेठ ११ गतेभित्र शिक्षा शाखामा आवेदन दिनुपर्नेछ।
आवेदनसँगै नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, वडाको सिफारिस पत्र, बैंक खाता चेकको प्रतिलिपि र पढिरहेको शिक्षण संस्थाको पत्र संलग्न गर्नुपर्नेछ।
पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअनुसार स्थानीय बासिन्दा भएका र कक्षा ११ वा १२ मा विज्ञान विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो।
यो कार्यक्रम पहिलेदेखि नै सञ्चालनमा छ। विज्ञान पढ्न चाहने तर आर्थिक समस्या झेल्ने विद्यार्थीको मनोबल बढाउन र उनीहरूको पढाइमा सहयोग गर्न यो कार्यक्रम अघि बढाइएको पालिका अध्यक्ष केशरकुमार सुब्बाले बताए।
प्रकाशित: ५ जेष्ठ २०८२ २०:११ सोमबार





