१८ चैत्र २०८१ सोमबार
image/svg+xml २३:५२ अपराह्न
शिक्षा

आधारभूत तहको सिकाइ प्रभावकारी बनाउन मन्टेश्वरी तालिम

आधारभूत तहबाटै सिकाइ सहज र प्रभावकारी बनाउने उद्देश्यले ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभरिका बाल विकास केन्द्रका शिक्षकलाई ६५ दिने मन्टेश्वरी तालिम दिएको छ। 

पालिका अध्यक्ष विजयप्रकाश वनेमले सार्वजनिक शिक्षा सुधार अभियानअन्तर्गत आधारभूत तहको सिकाइ प्रभावकारी बनाउन यो तालिम आयोजना गरिएको बताए। ३९० घण्टाको यो तालिममा पालिकाभरिका २६ जना शिक्षक सहभागी थिए। व्यवसायिक प्रशिक्षण केन्द्र इटहरीको सहयोगमा तालिम सञ्चालन भएको उनले जानकारी दिए। तालिमबाट सिकेको ज्ञान कक्षाकोठामा प्रयोग हुने र त्यसको अधिकतम लाभ लिइने पालिकाको विश्वास छ। 

निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले आधारभूत तहमा प्रभावकारी सिकाइ केन्द्रित अध्यापनका लागि यो तालिम उपयोगी हुने बताए। तालिमपछि शिक्षकले कक्षाकोठामा सिकेका सीप प्रयोग गरे वा नगरेको नियमित अनुगमन गर्ने पालिकाको योजना छ। पछिल्लो समय मैवाखोला गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका विभिन्न अभियान चलाइरहेको छ। 

मन्टेश्वरी शिक्षाले बालबालिकालाई अनुशासित, सभ्य र मर्यादित बनाउन मद्दत गर्छ भन्ने अपेक्षा छ। यो शिक्षाले बालबालिकाको प्रतिभा प्रस्फुरण, बौद्धिक र शारीरिक विकास, समूहमा काम गर्ने क्षमता र सकारात्मक भावनाको विकासमा सहयोग गर्ने ठानिएको छ। तालिम लिएका शिक्षकले कक्षाकोठामा यो अभियान प्रभावकारी रूपमा लागू गरेर सिकाइ उपलब्धिमा सुधार ल्याउने पालिकाको अपेक्षा छ।

प्रकाशित: ९ चैत्र २०८१ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App