कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा आगामी ७ चैतबाट सुरु हुने छ।
शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने उत्तरपुस्तिका, परीक्षा केन्द्र, परीक्षामा खटिने जनशक्ति व्यवस्थापन लगायतका काम सकिएका छन्। परीक्षाका लागि आवश्यक पर्ने सामग्री सम्बन्धित जिल्लामा पठाइएको छ। जिल्लाबाट केन्द्राध्यक्ष तोक्ने बाहेकका सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले बताइन्।
यो वर्ष कर्णाली प्रदेशबाट ३७ हजार ९ सय ११ जना विद्यार्थी एसईईमा सहभागी हुने छन्। जसमध्ये नियमिततर्फ ३१ हजार ८ सय ४ जना, ग्रेडवृद्धितर्फ ६ हजार १ सय ७ र प्राविधिकतर्फ १ हजार ३ सय ४२ विद्यार्थी छन्।
शिक्षा विकास निर्देशनालयले देखाएको तथ्यांक अनुसार यस वर्ष कर्णालीमा एसईई दिने विद्यार्थीको संख्यामा वृद्धि भएको छ। गत वर्ष कर्णालीबाट ३५ हजार ८ सय ८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए।
यो वर्ष झण्डै दुई हजार १ सय ३ जना विद्यार्थीको संख्यामा वृद्धि भएको देखिन्छ। गत वर्ष कुल विद्यार्थी संख्याको ५८ प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी ननग्रेडेड भएका थिए।
एसईई परीक्षामा कर्णाली प्रदेशभरि १ सय ८० परीक्षा केन्द्र तोकिएको निर्देशक हमालले बताइन्। जसमा प्राविधिक धारतर्फ १६ वटा परीक्षा केन्द्र तोकिएका छन्। कर्णालीमा यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ करोड ३९ लाख ३० हजार ५ सय रुपैयाँ खर्च हुने छ। कर्णाली प्रदेशमा जुम्ला, कालिकोट, मुगु, डाेल्पा, हुम्ला, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम र सुर्खेत पर्दछन्।
कुन जिल्लाबाट कति विद्यार्थी एसईई दिनेछन्?
१६ वटा परीक्षा केन्द्र ताेकिएकाे जुम्लाबाट दुई हजार ६ सय ८१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै छन्। नियमिततर्फ दुई हजार पाँच सय १५ विद्यार्थी रहँदा एक सय ६६ ग्रेडवृद्धि अन्तर्गतका विद्यार्थी छन्। भने, जुम्लाबाट एक सय ४५ जनाले प्राविधिकतर्फको परीक्षा दिने छन्।
यस्तै, २५ वटा परीक्षा केन्द्र रहेको कालीकोटबाट चार हजार ८९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने छन्। जसमा तीन हजार एक सय ९६ नियमित र ८ सय ९३ जना ग्रेडवृद्धि र्फका छन्। कालीकोटबाट ७२ जनाले प्राविधिक धारतर्फको परीक्षा दिने छन्। ८ वटा परीक्षा केन्द्र रहेको मुगुबाट ९ सय ४६ जना विद्यार्थी एसईईमा सहभागी हुँदै छन्। जसमा नियमिततर्फ ७ सय ८५ र ग्रेडवृद्धितर्फ १ सय ६१ छन्।
मुगुबाट प्राविधिकतर्फ ५७ विद्यार्थीले परीक्षा दिने छन्। हुम्लामा ७ वटा परीक्षा केन्द्र तोकिएका छन्। हुम्लाबाट यस वर्ष एक हजार एक सय चार जनाले एसईई परीक्षा दिँदै छन्। जसमा नियमिततर्फ ९ सय ५० र ग्रेडवृद्धितर्फ १ सय ५४ विद्यार्थी छन्। डोल्पामा ७ सय ७७ विद्यार्थी एसईईमा सहभागी हुँदै छन्।
कुल ४ परीक्षा केन्द्र रहेको डोल्पामा ७ सय ३३ नियमित र ४४ ग्रेडवृद्धिका विद्यार्थीले परीक्षा दिने छन्। डोल्पाबाट एक सय ६५ विद्यार्थी प्राविधिकतर्फको परीक्षामा सहभागी हुने छन्। यस्तै, रुकुम पश्चिममा १५ परीक्षा केन्द्रबाट ३ हजार ६ सय ६८ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने छन्। जसमा नियमिततर्फ ३ हजार ४ सय ४४ र ग्रेडवृद्धितर्फ २ सय २४ जना विद्यार्थी छन्। रुकुम पश्चिमबाट १ सय ६ जनाले प्राविधिकतर्फको परीक्षा दिने छन्।
सल्यानमा २३ परीक्षा केन्द्रबाट ४ हजार २ सय ६९ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। नियमिततर्फ ४ हजार ८५ र ग्रेडवृद्धितर्फ एक सय ८४ विद्यार्थी छन्। सल्यानमा दुई सय ७१ जनाले प्राविधिकतर्फको एईई परीक्षा दिने छन्।
यस्तै, जाजरकोटबाट चार हजार ६ सय ६८ विद्यार्थीले २२ वटा परीक्षा केन्द्रबाट एसईई परीक्षा दिने छन्। जसमा नियमिततर्फ चार हजार तीन सय ३९ र ग्रेडवृद्धितर्फ तीन सय २९ विद्यार्थी छन्। जाजरकोटबाट एक सय ११ जनाले प्राविधिकतर्फको परीक्षामा सहभागी हुनेछन्।
यस्तै ,यस वर्षको एसईईमा दैलेखबाट ६ हजार १ सय ९६ विद्यार्थी एसईई परीक्षा सहभागी हुँदै छन्। कुल २७ परीक्षा केन्द्रबाट नियमिततर्फ चार हजार सात सय र ग्रेडवृद्धितर्फ १ हजार ४ सय ९६ विद्यार्थीले परीक्षा दिने छन्। कर्णालीका १० जिल्लामध्ये एसईईमा सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागी हुँदै छन्। सुर्खेतबाट ९ हजार ५ सय १३ विद्यार्थीले एसईई परीक्षा दिनेछन्। जसमा ३३ परीक्षा केन्द्रबाट सात हजार ५७ र ग्रेडवृद्धितर्फ २ हजार ४ सय ५६ विद्यार्थी छन्। सुर्खेतबाट यस वर्ष १ सय ३० विद्यार्थीले प्राविधिक एसईई दिने छन्।
प्रकाशित: २२ फाल्गुन २०८१ ०८:२९ बिहीबार





