पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र संकायले बाल विकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयले मङ्सिर २१ र २२ गते विराटनगरको बिग होटलमा सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनमा नेपाल, अमेरिका, बेलायत, मलेसिया, बांग्लादेशलगायतका १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सहभागितामा रहने विश्वविद्यालयको शिक्षा शास्त्र संकायका डिन प्राडा. अनिल पोखरेलले जानकारी दिए ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै डिन पोखरेलले यस अन्तर्राष्ट्रिय सम्मेलनमा बाल विकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने उद्देश्य रहेको बताए । ‘प्रारम्भिक शिक्षामा नवीनतम विषयहरू आएका छन्। बालबालिकाको शिक्षा पाउने अधिकार, राज्यका साथै शिक्षक र अभिभावकको दायित्वको विषयमा पनि हाम्रा धारणामा पनि परिवर्तन आएको छ,’ उनले भने, ‘यस परिदृश्यमा विश्वविद्यालयले बालबालिकासँग सम्बन्धित विषयलाई तत्काल सम्बोधन गर्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ।’
विश्वविद्यालयका उपकुलपति प्राडा. बिजु थपलियाले सम्मेलन नेपालका लागि एउटा महत्त्वपूर्ण सुरुवात रहेको बताए । ‘यसले बालबालिकालाई न्याय, समता र अधिकार सुनिश्चित गर्न सघाउ पुग्नेछ,’ उनले भने ।
यस सम्मेलनले बाल विकासका क्षेत्रमा नयाँ एवं बजारको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर लगायतका विशेष कार्यक्रमहरूको पहिचान गर्न र सो अनुरूप कार्यक्रमहरू थप गर्न सघाउ पुग्ने विश्वविद्यालयको विश्वास छ ।
प्रकाशित: ८ मंसिर २०८१ १६:३७ शनिबार