१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

पुल नहुँदा चेपाङ विद्यार्थी शिक्षाबाट वञ्चित

मलेखु - माथिल्लो कक्षा पढ्ने ठाउँ नै नभएपछि चेपाङ बालबालिकाले पढेनन् भनेर कसरी भन्ने रु घैराङ आधारभूत विद्यालयका शिक्षक मानबहादुर चेपाङको यो प्रश्नले गाउँमा शिक्षाको कुरा गर्न आउने सबैलाई एक पटक झस्काउँछ।

डाँडामा बस्ती भएकाले गाउँवासीका लागि माध्यमिक तहको अध्ययन गर्न पाँच घण्टाको दूरी तय गर्नुपर्ने भएकाले सो गाउँका कसैलाई पनि माध्यमिक तहको शिक्षा पाउनु भनेको ‘टाढाको फल आँखातरी मर’ भएको जस्तो छ।

दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ तल्तीबाहेकको चेपाङगाउँबाट माध्यमिक शिक्षा अध्ययनका लागि विद्यालय आउन पाँच घण्टाको दूरी तय गर्दा पनि पुल अभावमा विद्यालय आउनै नसक्ने अवस्था आएको छ।

मलेखु खोलाको ताल्ती क्षेत्रमा हिउँदमा खोला सुख्खा हुने र पानी पर्न थालेपछि वारपार गर्न नै नसकिनेगरी ठूलो हुन्छ । खोला बढेपछि विद्यार्थीमात्र होइन, गाउँवासीसमेत बजारतर्फ आउजाउ गर्न सक्दैनन्।

यस वडाका पाँच विद्यालय र एक बालविकास केन्द्रबाट आधारभूत तहको शिक्षा हासिल गरेपछि माध्यमिक शिक्षा हासिल गर्न सिमथली र ताल्ती जोड्ने मलेखु खोलामा पुल नहुँदा गाउँका विद्यार्थी हिउँदमा पढ्ने गर्छन् भने वर्षा लागेपछि पढाइ छाड्ने गरेको शिक्षक मानबहादुर चेपाङको भनाइ छ।

प्रजा आधारभूत विद्यालयमा ९४ जना, देउराली आधारभूत विद्यालयमा १०१ जना, बागेश्वरी आधारभूत विद्यालयमा ५५ जना, पञ्चकन्या आधारभूत विद्यालयमा ६५ जना र अति विकट ब्रुसबाङको बालविकास केन्द्रका २८ जना विद्यार्थी छन्। मलेखुखोलामा पुल नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुनु परेकाले तत्काल पुल आवश्यक भएको वडाध्यक्ष टंकबहादुर थापाको भनाइ छ।

गाउँका विद्यार्थी जेठ लागेपछि पानी परेको दिन विद्यालय जाँदैनन् । वर्षा शुरु भएपछि असार साउन र भदौ तीन महिना त खोला पार गर्न नै नसकिने भएकाले उनीहरु विद्यालय जाँदैनन् ।यस क्षेत्रका विद्यार्थीको समस्या भनेको मलेखु खोलामा पुल र गाउँमै माध्यमिक तहको विद्यालय हुनुपर्ने ज्ञानबहादुर चेपाङको भनाइ छ।

सिमथली, मासखर्क, ब्रुसबाङ, माङ, झिरुबास, थुन्द्राङ, चोतेस, पार्लाकलगायतका गाउँबाट बल्लतल्ल आधारभूत तहको शिक्षा लिएका विद्यार्थी पुलको अभावमा कक्षा छाड्ने गर्नाले शिक्षाबाट वञ्चित हुने गरेका छन् तर सरकारले यसतर्फ ध्यान नदिएको रवीन्द्र चेपाङको आरोप छ ।आफ्नो खारियाबारीको उत्पादनले तीन महिनामात्र खान पुग्ने १८० घर चेपाङ बस्ती रहेको गाउँमा खानेपानीको सुविधा छैन।

उत्पादनको वैकल्पिक उपाय नहुँदा ज्याला मजदुरी गरेर परिवार पल्नु पर्ने अवस्था रहेकाले काम गर्न सक्नेहरु दशैँ तिहारबाहेक गाउँमा भेटिँदैनन्।खोला तर्नुपर्ने भएपछि ७० प्रतिशत चेपाङ बालबालिकाले बीचैमा पढाइ छाड्ने गरेको शिक्षक तिलक चेपाङले बताए।रासस

 

प्रकाशित: २१ चैत्र २०७४ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App