३ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

बंगलादेशमा एमबिबिएस पढिरहेकाको प्रश्न: ‘हामी विदेशी भएर दर्ता हुने कि नेपाली ?’

विद्यार्थी नेतृत्वको विद्रोहले बंगलादेशमा प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको केही दिनपछि अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीमाथि भएको आक्रमणका कारण पीडित बनेका मेडिकल शिक्षा अध्ययनरत नेपाली विद्यार्थीको समस्या समाधानका लागि सरकारले गरेको पहल कूटनीतिक रूपमा कमजोर देखिएको छ।

बंगलादेशको परराष्ट्र मन्त्रालयले बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिललाई उद्धृत गर्दै नेपालको शिक्षा मन्त्रालयलाई पठाएको जबाफमा त्यहाँको मेडिकल काउन्सिलमा दर्ता हुन विदेशी विद्यार्थीले अध्ययन गरेकै मेडिकल कलेजमा इन्टर्नसिप पूरा गर्नुपर्ने भनिएको छ। तर बंगलादेशमा मेडिकल शिक्षा पढे पनि नेपालबाटै इन्टर्नसिप गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने व्यवस्था मिलाइदिन हारगुहार गर्दा पनि सरकार संवेदनशील नभएको विद्यार्थीले बताएका छन्। 

‘हामी विदेशी डाक्टर भएर दर्ता हुने कि स्वदेशी भएर ? हामी स्वदेशमै इन्टर्नसिप गरी काउन्सिलको परीक्षा दिएर दर्ता हुन तयार छौं भने राज्य किन संवेदनशील छैन ?’ नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका अध्यक्ष डा. नवीन यादवले भने। उनले अगाडि थपे, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बंगलादेश सरकारसँग त्यहाँ मेडिकल शिक्षा पढेका नेपाली विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्नेबारे सोधेको प्रश्नमै हामीलाई शंका छ। मन्त्रालयले अध्ययन समितिको प्रतिवेदन पनि सार्वजनिक गरेन। मन्त्रालयले कस्तो किसिमको प्रश्न सोधेको हो, हामीले थाहै पाएनौं ।’ उनले थपे, ‘यसबाट प्रष्ट हुन्छ कि हाम्रो समन्वय र कूटनीतिक पहल कमजोर छ।’

यसअघि छिमेकी मुलुक भारत, पाकिस्तान, भुटानलगायत विभिन्न देशका विद्यार्थीले बंगलादेशमा अध्ययन गरे पनि आफ्नै देशमा इन्टर्नसिप गरेका छन्। त्यहाँ पढेका नेपालीले अहिले आफ्नै देशमा आएर इन्टर्नसिप गर्न नपाउने भन्ने हुन नसक्ने पीडित विद्यार्थीको भनाइ छ। ‘यस विषयमा १० दिनभित्र अध्ययन गरी प्रतिवेदन पेस गर्ने भनेर गठन गरिएको समितिले आफ्नो दायित्व नै पूरा गर्न सकेन। यसमा हाम्रो आपत्तिज छ। समितिले केही अध्ययन गरे जस्तो देखिएन। यसको हामी घोर निन्दा गर्छौं,’ नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका तर्फबाट अध्यक्ष डा. यादवद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘समस्या समाधान गर्ने भनेर विद्यार्थीलाई छल्ने काम भयो, विद्यार्थीलाई निरुत्साहित गर्ने काम मात्र भयो ।’ 

विज्ञप्तिमा यस विषयमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय हुँदै बंगालदेशस्थित नेपाली राजदूतावासमार्फत बंगलादेशको सम्बन्धित निकायसँग मागेको धारणा एवं अध्ययन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाली विद्यार्थीको समस्या समाधान गर्न अध्ययन गरी १० दिनभित्र प्रतिवेदन दिनेगरी समिति गठन गरेको थियो। बंगलादेशमा आन्दोलनका कारण असुरक्षा बढेपछि नेपाल फर्किएका मेडिकलका विद्यार्थीले त्यहाँ विशेष परिरिस्थति उत्पन्न भएकाले स्वदेशमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेर दुई महिनादेखि सरकारका विभिन्न निकायलाई गुहारिरहेका छन्। बंगलादेशबाट करिब दुई हजार विद्यार्थी स्वदेश फर्केका थिए। उताको स्थिति समान्य बन्दै गएपछि विद्यार्थी फर्कने क्रम पनि जारी छ।

एसोसिएन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले प्रेस विज्ञप्ति जारी गरी सरकारले अनुमति दिए बंगलादेशमा मेडिकल पढेका नेपाली विद्यार्थीलाई स्वदेशमै निःशुल्क इन्टर्नसिप गराउन तयार रहेको सार्वजनिक प्रतिबद्धता जनाइसकेको छ। बंगलादेशमा नेपाली विद्यार्थी मेडिकल शिक्षा अध्ययनका लागि पनि जाने गरेका छन्। तर बंगलादेशमा उत्पन्न अप्ठेरो अवस्थाका कारण नेपाली विद्यार्थी त्रासपूर्ण बातावरणमा बाँच्नुपरेको नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका अध्यक्ष डा. यादवले बताए। 

यादव पनि बंगलादेशको पपुलर मेडिकल कलेजमा इन्टर्नसिप गर्दागर्दै त्रासका कारण बीचमै छाडेर नेपाल फर्केका हुन्। स्वदेशमै अध्ययन गर्न चाहँदा पनि नपाउने, बिदेसिन बाध्य हुनुपर्ने, विदेश गएर महँगो शुल्क तिरेर डिग्री लिइसक्दा पनि राज्यका तर्फबाट प्रोत्साहन र कुनै सुविधा नदिनु दुःखलाग्दो अवस्था रहेको विद्यार्थीहरूको गुनासो छ। बंगलादेशमा अध्ययनपछि एक वर्ष इन्टर्नसिप गर्नसाथ त्यहाँको मेडिकल काउन्सिलमा बिनापरीक्षा चिकित्सक दर्ता हुन पाउने सहज प्रावधान छ। हाल बंगलादेशका विभिन्न कलेजमा करिब ३ हजार ५ सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत रहेको नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले जनाएको छ। तीमध्ये अहिले असुरक्षाका कारण २ हजारजति इन्टर्नसिप छाडेर नेपाल फर्किसकेका छन्। शिक्षा मन्त्रालयका प्रवक्ता कमल पोखरेलले मन्त्रालयले अध्ययन समितिको प्रतिवेदनकै आधारमा विद्यार्थीको समस्या समाधानका लागि कूटनीतिक पहल गरेको दाबी गरे।

‘मित्र राष्ट्र बंगलादेशस्थित विभिन्न कलेजमा चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस, बिडिएस अध्ययनरत नेपाली विद्यार्थी बंगलादेशमा सुरक्षाको असहज अवस्थाका कारण स्वदेशमै फर्किएको अवस्था छ,’ पोखरेलले भने, ‘र बाँकी रहेको इन्टर्नसिप नेपालबाटै गर्न पाउने, नपाउने विषयमा पराराष्ट्र मन्त्रालयमार्फत बंगलादेशको सम्बन्धित निकायलाई साधेी पठाएका थियौं। परराष्ट्रले ढाकास्थित नेपाली राजदूतावासमार्फत बंगलादेश सरकारको सम्बन्धित निकायमा समन्वय हुँदा त्यही अध्ययनरत कलेजले तोकेको कलेजममै इन्टर्नसिप गर्नुपर्ने जवाफ आयो।’ तर यो जवाफ त बंगलादेश सरकारले बंगलादेशकै मेडिकल काउन्सिलमा दर्ता हुने विदेशी डाक्टरको सवालमा पठाएको हो नि भन्ने प्रश्नको जवाफ प्रवक्ता पोखरेलले दिन चाहेनन्। यसले पनि नेपालको कूटनीतिक पहल कमजोर रहेको देखिन्छ। 

प्रकाशित: ३१ भाद्र २०८१ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App