१६ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

एसइईमा आधाभन्दा बढी असफल

एसइई २०८० को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा (बायाँबाट दोस्रो) लगायत। तस्बिर: रासस

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजाले सरकारको परीक्षासम्बन्धी दशकदेखिको नीतिगत अस्थिरताको मारमा विद्यार्थी परेको तथ्य उजागर गरेको छ। बोर्डले लिने कक्षा १० को परीक्षालाई एसइई भन्ने गरिएको छ। बोर्डले २०८० सालको एसइई गत चैतमा लिएको हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सार्वजनिक गरेको नतिजामा कुल परीक्षार्थीमा आधाभन्दा बढी ननग्रेडमा परेका छन् अर्थात् असफल भएका छन्। बोर्डले चैत १५ देखि २७ गतेसम्म सञ्चालन गरेको एसइईमा चार लाख ६४ हजार सात सय ८५ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी (५२.१३ प्रतिशत) असफल भएका छन्। बोर्डले ननग्रेड वा जुनसुकै नाम दिए पनि ५२ प्रतिशत विद्यार्थीले पुनः परीक्षा दिएर पास नभएसम्म कक्षा १२ पढ्न पाउँदैनन्। नतिजाअनुसार ४७.८७ प्रतिशत परीक्षार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन्।

विगतमा कक्षा १० को परीक्षालाई एसएलसी भनिन्थ्यो। एसएसलसीमा विशेषगरी सामुदायिक स्कुलको नतिजा खस्कँदै गयो। सरकारले अनुसन्धान गरी नतिजा सुधारको उपाय खोज्नुको साटो १०० पूर्णांकमा ३२ नम्बर ल्याएर पास हुने व्यवस्था हटाई अक्षरांकन पद्धति कार्यान्वयनमा ल्यायो र कक्षा १० को परीक्षाको नाम पनि परिवर्तन गरी एसइई भन्न थालियो।

सरकारले कक्षा १० को परीक्षामा पास र फेल हुने व्यवस्था हटाएर सबै पास हुनेगरी २०७२ सालदेखि लेटर ग्रेडिङ प्रणाली कार्यान्वयनमा ल्यायो। यो प्रणालीमा सबै पास हुने व्यवस्था गरियो। लेटर ग्रेडिङ प्रणालीले शून्य अंक प्राप्त गर्नेलाई समेत ग्रेडेड अर्थात् उत्तीर्ण मान्न थाल्यो, जसले गर्दा विद्यार्थीमा पढ्ने बानी हरायो, शिक्षकले पनि मेहनत कम गर्न थाले।

‘विद्यार्थीको नतिजा हेर्दा कमजोर ग्रेड ल्याउने बढी हुन थालेपछि बोर्डले २०७८ सालमा आएर निर्देशिका संशोधन गरी कट अफ प्वाइन्ट ३५ प्रतिशत अंक सैद्धान्तिकमा ल्याउनैपर्ने व्यवस्था गरेको हो,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले नागरिकसँग भने, ‘यसले यसपटक ननग्रेडमा बढी विद्यार्थी परे पनि नपढीकन पास भइन्छ भन्ने भ्रम तोडेको छ। यसले कक्षाकोठाको सिकाइ पनि स्तरीय बनाउन शिक्षकलाई दबाब पर्छ। ननग्रेडमा धेरै विद्यार्थी पर्नु भनेको शिक्षकले राम्ररी पढाउन नसक्नु हो र राज्यको शिक्षा प्रणाली पनि फेल भएको सम्झनुपर्छ।’ उनले माथिलो ग्रेड ल्याउनेहरू क्रमशः बढ्दै गएकाले यसलाई सकारात्मक पाटोका रूपमा पनि लिनुपर्ने बताएका छन्।

बोर्डले यसपटक पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक र २५ पूर्णांकको व्यावहारिक (प्रयोगात्मक) परीक्षामा कम्तीमा ४० प्रतिशत अंक ल्याउनैपर्ने व्यवस्था गरेकाले आधाभन्दा बढी विद्यार्थी ननग्रेड अर्थात् असफल भएका हुन्। कक्षा १० को परीक्षामा पास र फेल हुने प्रणाली लागु गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अर्थात् सरकार फेरि पुरानै प्रणालीमा फर्किएको शिक्षाविद्को विश्लेषण छ।

माथिल्लो जिपिए ल्याउने बढे पनि औसतकै बाहुल्य

सार्वजनिक नतिजाअनुसार ३.२ देखि ४ जिपिए ल्याउने ३१ हजार दुई सय १६ (६.७१ प्रतिशत) र ३.२ देखि ३.६ जिपिए ल्याउने ६८ हजार दुई सय ५६ (१४.६८ प्रतिशत) छन्। यसपटकको नतिजामा पनि सबैभन्दा बढी औसतकै विद्यार्थी छन्। जिपिए २.८० देखि ३.२० ल्याउने ७८ हजार आठ सय ७४ (१६.९६ प्रतिशत) छन्।

२०७२ सालको नतिजाअनुसार ३.६ देखि ४ जिपिए ल्याउने १२ हजार २ सय ८७ (२.८१ प्रतिशत), ३.२ देखि ३.६ जिपिए ल्याउने ९.२ प्रतिशत र १.६ देखि २ जिपिए अर्थात् ३० देखि ४० प्रतिशत अंक ल्याउने एक लाख सात हजार ८९ (२४.५४ प्रतिशत) थिए। ३.६ देखि ४ जिपिए ल्याउने विगतका वर्षमा बढेकै छन्।

२०७९ सालको एसइईमा ३.६ देखि ४ जिपिए ल्याउने ४.६३ प्रतिशत थिए। २०७८ को परीक्षामा यो समूहमा १.९४ प्रतिशत मात्र परेका थिए। २ देखि २.४ जिपिए ल्याउने एक लाख दुई हजार दुई सय ९३ (२१ प्रतिशत) थिए। २०७८ मा यो समूहमा २२.७४ प्रतिशत अर्थात् एक लाख १२ हजार ७ सय ३३ थिए।

शिक्षासचिव दीपक काफ्लेका अनुसार एसइईको नतिजा विद्यार्थीको क्षमता मापन गर्ने ‘चेक प्वाइन्ट’ होे। अब परीक्षा नतिजाबारे बोर्डले समीक्षा गरी सुधारका पक्ष केलाउनुपर्ने उनले बताए। ‘नतिजा कमजोर देखियो। बोर्ड परीक्षा समितिले नतिजा विश्लेषण गरी सरकारलाई विद्यालय शिक्षा सुधारमा केके गर्नुपर्छ भन्ने सुझाव दिनुपर्छ,’ उनले भने, ‘अहिलेको नतिजाले परीक्षा पद्धति, नीतिगत व्यवस्था, प्रश्नपत्रलगायतमा सुधार गर्न सन्देश दिएको छ।’

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष नारायण कोइरालाका अनुसार एसइई नतिजाले सरकारले बिनातयारी दातृ निकायको इसारामा नेपाली शिक्षा प्रणालीलाई प्रयोगशाला बनाउँदै आएको प्रस्ट भएको छ।

२०७२ सालमै पूरक परीक्षाको व्यवस्था हटाएको सरकारले फेरि पूरक परीक्षाको व्यवस्था गरेको छ। यसपटक एसइईमा दुई विषयमा असफल (ननग्रेड) भएका विद्यार्थीले साउन १८ र १९ गते मौका (पूरक) परीक्षा दिन पाउनेछन्। दुई विषयमा फेल भएका १ लाख १२५ हजार ८ सय ३४ जना छन्।

दुईभन्दा बढी विषयमा ननग्रेड भएकाहरू लगातार तीन वर्षसम्म ननग्रेड विषयमा मात्र ग्रेडवृृद्धिका लागि वार्षिक परीक्षामा सहभागी हुन पाउने व्यवस्था लेटरग्रेडिङ निर्देशिका पहिलो सशोधन, २०७८ मा छ। ‘पूरक परीक्षा भन्नासाथ पास र फेल बुझाउँछ,’ कोइरालाले भने, ‘३५ प्रतिशत अंक कटअफ प्वाइन्ट राख्नासाथ पास र फेलकै कुरा अयो। अब एसइई फेरि पुरानै प्रणालीमा फर्किएको महसुस भएको छ। कक्षा १२ लाई माध्यमिक शिक्षा मान्ने हो भने कक्षा १० को परीक्षामा अन्य कक्षामा जस्तै पास हुनुपर्छ। कक्षा १२ मा एसइई लिनुपर्छ।’

पर्याप्त शिक्षकको व्यवस्था नगरी नतिजा सुधारको कल्पना गर्न नसकिने उनी बताउँछन्।

विश्वनिकेतन मावि काठमाडौंका प्रधानाध्यापक हेरम्बराज कँडेल सरकारले मावि तहमा विषयगत शिक्षकको व्यवस्था गर्न नसक्दाको नकारात्मक असर एसइईमा परेको हो। ‘२०७२ सालमा शून्य अंक ल्याउनेलाई पनि ग्रेडिङ गरियो र सबै पास हुने प्रणाली विकास गरियो। त्यसअघि पास नम्बर ३२ कायम थियो। २०७२ पछि सबै पास हुने भएपछि विद्यार्थीमा पढ्ने बानी हरायो। शिक्षकमा पनि मेहनत गरी पढाउने बानी हरायो,’ कँडेलले भने, ‘अब फेरि आएर पास हुने अन्तिम प्वाइन्ट ३५ कायम गरेपछि विद्यार्थीले मेहनत गरी पढ्नुपर्ने र शिक्षकले कक्षाकोठामा पनि मेहनत गरी पढाउनुपर्ने भएको छ।’

ननग्रेडमा छात्रा बढी

सार्वजनिक नतिजाअनुसा ननग्रेडमा पर्नेमा छात्रा बढी छन्। कुल ननग्रेड २ लाख ४२ हजार ३ सय १३ मध्ये १ लाख २८ हजार २ सय ५७ छात्रा छन्। ज्ञानोदय मावि, वाफल काठमाडौंका प्रधानाध्यापक विष्णु रिमालका अनुसार छात्रा बढी ननग्रेडमा पर्नुको मुख्य कारण उनीहरू पढाइभन्दा घरायसी काममा व्यस्त हुनुपर्ने बाध्यता हो। नतिजाले छात्रा शिक्षामाा बढी जोड दिनुपर्ने देखाएको छ।

गणितमा सबैभन्दा कमजोर नतिजा

एसइई नतिजाअनुसार गणितमा सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण छन्। बोर्डका अध्यक्ष शर्माका अनुसार गणितमा एक लाख ७७ हजार नौ सय ८५ अर्थात् ३८.२९ प्रतिशत विद्यार्थी ननग्रेडमा परेका छन्। गणितपछि विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ अर्थात् २७.३३ प्रतिशत विद्यार्थी ननग्रेडमा परेका छन्। त्यस्तै अंग्रेजीमा एक लाख एक हजार तीन सय ८३ अर्थात् २१ प्रतिशत र सामाजिक विषयमा ७३ हजार ८ सय ७७ अर्थात् १६.१६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (ननग्रेड) छन्।

‘देशभरिका सामुदायिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषय शिक्षको अभाव छ,’ ज्ञानोदय माविका प्रधानाध्यापक रिमालले भनिन्, ‘कक्षाकोठाको सिकाइ विषयगत शिक्षकबिना स्तरीय हँुदैन। यसकारण अनिवार्य विषय विज्ञान, गणित र अंग्रेजीमा नतिजा कमजोर अयो। अब राज्यले विषयगत शिक्षकको व्यवस्था गर्नुपर्छ।’

सुदूरपश्चिम सबैभन्दा कमजोर

प्रदेशगत रूपमा हेर्दा एसइईमा सबैभन्दा कमजोर नतिजा सूदूरपश्चिमको छ। यो प्रदेशका ६८.१२ प्रतिशत विद्यार्थी ननग्रेडमा परेका छन्। बागमती प्रदेशको नतिजा भने सबैभन्दा राम्रो छ। बागमती प्रदेशमा ३३.८८ प्रतिशत विद्यार्थी ननग्रेडमा परेका छन्। ननग्रेडमा पर्नेमा लुम्बिनीमा ६१.२७ र कर्णालीमा ५८.१७ प्रतिशत विद्यार्थी छन्। त्यस्तै गण्डकीमा ५०.०२, मधेशमा ५३.१२, कोसीमा ५२.५० प्रतिशत विद्यार्थी ननग्रेडमा छन्। 

प्रकाशित: १४ असार २०८१ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App