२२ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

सामुदायिकका विद्यार्थी र शिक्षकलाई पोसाक

सामुदायिक विद्यालयका शिक्षकलाई पोसाक वितरण गर्दै अध्यक्ष राई (दायाँ)। तस्बिर : नागरिक

खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गरेको छ। सामुदायिक विद्यालयप्रति आकर्षण थप्न तथा गुणस्तरीय शिक्षा कायम गर्न प्रोत्साहनस्वरुप गाउँपालिकाले शिक्षक र विद्यार्थीलाई पोसाक वितरण गरेको हो।

गाउँपालिका ५ मात्तिमबिर्ताले चालु आर्थिक वर्ष ०८०÷८१ को वडागत स्वीकृत कार्यक्रमअनुसार पोसाक खरिद गरेर वितरण गरेको हो। बिहीबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले वडाभित्रका सबै सामुदायिक विद्यालयलाई पोसाक वितरण गरे, जसअनुसार बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म अध्ययनरत वडाभित्रका चारवटै सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ५० विद्यार्थीले पोसाक (ट्र््याक सुट र टिसर्ट) पाएका छन्।

पालिकाले ४० जना शिक्षकलाई पनि पोसाक वितरण गरेको छ। कार्यक्रममा अध्यक्ष राईले सामुदायिक विद्यालयमा विद्यार्थी संख्ख्या घट्दै गएकाले गाउँपालिका अगाडि बढेको बताए।

अध्यक्ष राईले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय समायोजन (मर्ज) गर्नेदेखि नयाँ पाठ्यक्रम निर्माणसम्मका काम सुरु गर्ने योजना बनाएको बताए।  नैतिक, व्यवहारिक र प्रयोगात्मक शिक्षणका लागि पाठ्यक्रम निर्माण गर्न गाउँपालिका लागिरहेको अध्यक्ष राईले बताए।

‘अहिलेको पुस्तासँग नैतिक, व्यावहारिक र वस्तुवादी शिक्षाको कमी छ। त्यसैले वर्तमान समाज निर्माणमा भन्दा पनि ध्वंसतर्फ गइरहेको छ’, अध्यक्ष राईले भने, ‘अब भावी पुस्तालाई असल नागरिक बनाउने हो भने शिशुकक्षादेखि नै बालबालिकालाई नैतिक, वस्तुवादी, व्यावहारिक र वैज्ञानिक शिक्षाको खाँचो छ।’

५ नम्बर वडाध्यक्ष जीवन खत्रीले गाउँपालिकाबाट प्राप्त वडागत बजेट एकमुष्ठ शिक्षा क्षेत्रमा खर्च गरिएको बताए। पोसाक वितरणले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने उनले बताए।

प्रकाशित: ९ चैत्र २०८० १४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App