१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

एसइईमा राम्रो अंक ल्याउने ‘शिक्षामन्त्री सूत्र’

माध्यमिक शिक्षा परीक्षा (कक्षा १० एसइई) यही चैत १५ गते सुरु हुँदैछ। परीक्षा आउन एक साता मात्र बाँकी रहेको बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षामा राम्रो अंक ल्याउने सूत्रसहित विद्यार्थीलाई शुभकामना दिएकी छन्। उनले बुधबार मन्त्रालयबाट एक भिडियो सन्देश जारी गरेर एसइई पर्खिरहेका करिब ५ लाख विद्यार्थीलाई परीक्षामा उत्तर लेख्ने उपाय बताएकी हुन्।

मन्त्री श्रेष्ठले सजिलो प्रश्नको उत्तरबाट परीक्षा दिन सुरु गर्नुपर्ने भन्दै विद्यार्थीलाई हौसला दिएकी छन्। राम्रो अंकका लागि उत्तर लेख्ने सूत्र बताउने सम्भवतः उनी नै पहिलो शिक्षामन्त्री हुन्। उनले आफूले एसएलसी परीक्षा (अहिले एसइई भनिने) दिँदाखेरिको अनुभवसमेत विद्यार्थीसँग बाँडेकी छन्।

 विद्यार्थीले सुरुमै गाह्रो प्रश्नको उत्तरमा समय खेर फाल्नुभन्दा आफूले जानेको जुनसुकै प्रश्नको उत्तर लेखेर छोटो समयमा छिटो र सही लेख्नुपर्ने आफ्नो अनुभव उनले साझा गरेकी हुन्।

‘भाइबहिनीहरू ! आउँदै गरेको एसइईका लागि सबैलाई अल द बेस्ट। जाँच हो, महत्त्वपूर्ण छ तर चिन्ता नलिनुहोला,’ मन्त्री श्रेष्ठले भिडियो सन्देशमा भनेकी छन्, ‘मैले परीक्षा दिँदा प्रश्नपत्र हात परेपछि पहिले माथिदेखि तलसम्म एकपटक खरर्र पढ्थें। आफूलाई सजिलो लाग्ने र उत्तर जानेको प्रश्नबाट लेख्न सुरु गर्थें।’

मन्त्री श्रेष्ठले परीक्षामा राम्रो अंक हासिल गर्न प्रश्न नं. १ बाटै सुरु गर्नुपर्छ भन्ने कुनै बाध्यता नभएको बताइन्। ‘विशेषगरी गणितमा अड्किने र आफूलाई नआउने समस्याको समाधान गर्नतर्फ कहिल्यै नलाग्नुहोला। समय निश्चित भएकाले गणितमा जानेको समस्या समाधान गर्दै जानुभयो भने मात्र राम्रो अंक प्राप्त गर्न सकिन्छ।’

उनले एसइई दिने विद्यार्थीले राम्ररी पढ्न जति जरुरी छ, त्यतिकै जरुरी निद्राको पनि हुने भएको स्पष्ट पारिन्। उनले विद्यार्थीलाई परीक्षाको समयमा राम्ररी सुत्न पनि आग्रह गरिन्। ‘आफ्ना बच्चाहरूलाई पढ्न धेरै दबाब नदिनुहोला,’ अभिभावकहरूसँग मन्त्री श्रेष्ठको अनुरोध छ।

एसइईको धेरै तनाव लिए भने परीक्षामा राम्रो अंक नआउने उनको भनाइ छ।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार शिक्षामन्त्रीको परीक्षासम्बन्धी हौसला दिने सन्देशले विद्यार्थीलाई प्रोत्साहन मिल्छ। यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ। ‘जीवन नै परीक्षा भएकाले पाइला–पाइलामा परीक्षा दिनुपर्छ। यसकारण एसइई नै सबै थोक हो भन्ने चिन्ता कहिल्यै लिनुहँुदैन,’ शिक्षाविद् कोइरालाले भने, ‘तर परीक्षाको तयारी भने नआत्तीकन गर्नुपर्छ।’

उनका अनुसार घोकेर भन्दा पनि बुझेर अध्ययन गर्नुपर्छ। परीक्षा हलमा पहिले प्रश्नपत्र राम्ररी पढेर आफूले जानेकोबाट उत्तर लेख्न सुरु गर्दा समयमै प्रश्नहरूको सही उत्तर लेख्न सकिने उनले बताए।

राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार चैथ १५ देखि २७ सम्म चल्ने एसइईमा ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन्। देशभरि कुल ४ लाख ७५ हजार १३४ विद्यार्थीका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। बोर्डले सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्‍याइसकेको र प्रश्नपत्र सम्बन्धित प्रहरी चौकीमा सुरक्षित राखिएको जनाएको छ।

‘यसपटक नयाँ ग्रेडिङ प्रणालीअनुसार एसइई हुन्छ। उत्तीर्ण हुन विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ,’ अध्यक्ष शर्माले नागरिकसँग भने, ‘अब विद्यार्थीले राम्ररी पढ्नुपर्छ तर तनावमुक्त भएर। अभिभावकले पनि बढी दबाब दिनु आवश्यक हुन्न।’

 उनले परीक्षालाई आतंकित नभई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न बोर्डले सबै सरोकारवालालाई आग्रह गरेको जानकारी दिए।

प्रकाशित: ९ चैत्र २०८० ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App