२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

रित्तिँदै दुर्गमका विद्यालय, छैनन् विद्यार्थी

दुर्गम कर्णालीका सामुदायिक विद्यालयले भौतिक पूर्वाधारसँगै अन्य सेवासुविधाको अभाव झेल्दै आएका छन्। पछिल्लो समय सामुदायिक विद्यालय रित्तिन थालेका छन्। निजी विद्यालयप्रतिको आकर्षण, गरिबी, बेरोजगारीलगायतका समस्या तथा विद्यालय जाने उमेरका युवा विदेश जान थालेपछि यहाँका सामुदायिक विद्यालय विद्यार्थी अभावले रित्तिन थालेका हुन्।

सुर्खेतमा रहेको बालमन्दिर प्राविमा ४० जना विद्यार्थी छन्। विद्यालय कक्षा १ देखि कक्षा ५ सम्म सञ्चालन भइरहेको छ। विद्यालयले विद्यार्थी अभाव झेलिरहँदा नजिकैका निजी विद्यालयमा भने विद्यार्थीको संख्या खचाखच छ। विद्यालयकी शिक्षिका शान्ता खत्रीले पछिल्लो समय विद्यार्थी संख्या घट्दै गएको बताइन्।

‘हाम्रो विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म जम्मा एक सय विद्यार्थी छन्। भर्ना भएका सबै विद्यार्थी पनि विद्यालय आउँदैनन्। पहिले विद्यार्थीको भीड हुन्थ्यो। पछिल्ला वर्षमा भर्ना हुने विद्यार्थीको संख्या अत्यन्तै न्यून छ,’ उनले भनिन्। 

कर्णालीका दुर्गम जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा पाठ्यक्रमअनुसार पूरा पढाइ सकिँदैन। त्यसैले विद्यार्थी ट्युसनमा महँगो शुल्क तिर्न बाध्य छन्। कालिकोटकी उषा शाहीले भनिन्, ‘सक्ने त नेपालगन्ज सुर्खेत गएर तयारी कक्षा लिन्छन्। नसक्नेले आफ्नै जिल्ला सदरमुकाम आएर पनि तयारी कक्षा लिन्छन्।

मुख्यगरी अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा अनिवार्य नै हो। एसइईमा राम्रो अंक ल्याएर आफूले चाहेको उच्च शिक्षा पढ्न हाम्रा लागि ट्युसन कक्षा अनिवार्य बनेको छ। हाम्रो गाउँका अधिकांश विद्यार्थी तयारी कक्षाका लागि सहर गइसकेका छन्।’

काकिलोटकै विजोसी माविमा जम्मा ४८ विद्यार्थी छन्। सामुदायिक विद्यालयलाई निःशुल्क माध्यमिक शिक्षा नीति लिएर शुल्क उठाउन बन्देज लगाएको छ। तर, निजी विद्यालयले जति शुल्क लिए पनि केही बोल्दैनन्। सामुदायिक विद्यालयमा न शिक्षक दिन्छ, न कर्मचारी दिन्छ, न अन्य व्यवस्थापन खर्च नै दिन्छ। जसका कारण सामुदायिक विद्यालयमा विषयअनुसार शिक्षक नै व्यवस्थापन गर्न समस्या थपिने गरेको छ।

यी मात्र त विद्यर्थी रित्तिन थालेका प्रतिनिधि उदाहरण विद्यालय मात्र हुन्। कर्णालीका १० वटै जिल्लामा सञ्चालनमा रहेका सयौं विद्यालय विद्यार्थी नपाउँदा रित्तै छन्। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयको संख्या आठ सय ६९ छ।

सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाका अधिकृत बलवीर सुनारका अनुसार कर्णालीका सयौं विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून छ। बडिमालिका मारास्कोट, कालाशिल्ला मावि रास्कोटका विद्यालयमा पनि विद्यार्थी संख्या कम रहेको छ।

शिक्ष विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख प्रकाशचन्द्र धितालका अनुसार कालिकोटको तिलागुफा नगरपालिका र महावै गाउँपालिकामा हिउँदे बिदाले गर्दा विद्यार्थी सहरमा ट्युसन पढ्न जाने गरेको बताए। कालीकोटको हकमा विद्यार्थिको संख्या घट्नुमा गरिबी मुख्य कारण रहेको उनको भनाइ छ।

कर्णालीमा जम्मा तीन हजार २६ सामुदायिक विद्यालय छन्। जसमा ४५ जनाभन्दा कम विद्यार्थी संख्या भएका विद्यालय एक हजार एक सय ५२ वटा छन्। संस्थागत विद्यालय कर्णालीमा दुई सय १७ छ। जम्मा विद्यार्थी संख्या कर्णालीमा पाँच लाख ९५ हजार पाँच सय ९९ छ। जसमा छात्र दुई लाख ९९ हजार आठ सय ६४ र छात्रा दुई लाख ९५ हजार सात सय ३५ छन्।

कर्णालीमा सामुदायिक २५, आंगिक १८ र निजी १७ गरी ६० वटा क्याम्पस छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत ४४ क्याम्पस छन् भने मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत १५ वटा छन्। सामुदायिक क्याम्पसमा ६ हजार पाँच सय ७३, आंगिकमा पाँच हजार पाँच सय ९६ र निजीमा एक हजार आठ सय ५१ गरी जम्मा विद्यार्थी संख्या १४ हजार २० रहेको छ। प्राविधिक विद्यालय एक सय ६२ वटा छन्।

बालविकास केन्द्र तीन हजार तीन सय ७० वटा छन्। बालविकास केन्द्रमा विद्यार्थी संख्या ४२ हजार नौ सय ६१ छ। नेपालमा चार सय २२ वटा नमुना विद्यालय छन्। कर्णालीमा नमुना विद्यालयको संख्या ३७ वटा मात्रै छ। कर्णालीमा दुई सय ४८ वटा सामुदायिक सिकाइ केन्द्र सञ्चालनमा छन्।

किन रित्तिए विद्यालय?

कर्णालीमा सरकारी विद्यालय रित्तिनुको प्रमुख कारण गरिबी, बेरोजगारी र अन्य जोखिमका कारण ग्रामीण भेगका बालबालिकाहरू विद्यालय नै नजानु हो।

राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीका पाँच देखि १२ वर्ष उमेरका १८ हजार पाँच सय ४३ बालबालिका विद्यालय नै जाँदैनन्। जसमा आठ हजार नौ सय ९५ बालिका र नौ हजार ६ सय ६ बालक छन्। यसले पनि सरकारी विद्यालयमा जाने बालबालिका विभिन्न कारण विद्यालय जानबाट वञ्चित रहेको देखाउँछ।

आर्थिक हिसाबले निकै कमजोर परिवारहरूका बालबालिका नै बढीजसो सरकारी विद्यालयमा पढ्छन्। सम्पन्न परिवार बालबालिका निजी विद्यालयमा नै पढ्छन्। पछिल्लो समय दैनिक मजदुरी गरेर गुजरा चलाउने परिवारहरूले पनि सकिनसकी बालबालिकालाई निजी स्कुलमै पढाउने प्रचलन बढिरहेको छ।

जनचेतनाको अभाव, भौगोलिक विकटता, अशिक्षा, सामुदायिक शिक्षामा नीतिगत अस्पष्टता, फितलो अनुगमन, समन्वयको अभाव, चरम राजनीतिक हस्तक्षेप, दोहोरो नीति, शिक्षकमा विविधता, शैक्षिक व्यवस्थापनमा अन्योलताजस्ता समस्याले सामुदायिक शिक्षा तहसनहस बन्ने अवस्थामा छ।

शिक्षाको अवस्था नाजुक

कर्णाली प्रदेशका धेरै विद्यालयहरूमा विद्यार्थी संख्या न्यून छ। विद्यालयमा भर्ना भएका विद्यार्थीसमेत नटिक्ने समस्या छ। अर्थात् विद्यालय छाड्ने दर पनि धेरै छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कक्षा १ मा भर्ना भएका एक सय विद्यार्थीमा कक्षा ५ सम्म पुग्दा ८० जना मात्र हुन्छन्।

हरेक तहमा २० प्रतिशतका दरले विद्यालय ‘ड्रपआउट’ भइरहेको छ। कर्णालीमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर न्यून हुनु, विद्यालयमा विद्यार्थी निरन्तरता नहुनु, पढ्दा पढ्दै विद्यालय छाड्नु र समग्र विद्यालय शिक्षामा देखिएका समस्या धेरै छन्।

सामुदायिक शिक्षामा पर्याप्त जनशक्तिको पनि अभाव छ। प्राथमिक तहमा कर्णालीमा दुई हजार नौ सय ३१ विद्यालयमा हुनुपर्ने दरबन्दी आठ हजार सात सय ९३ हो। तर, आठ हजार एक सय ४९ मात्रै छ। ६ सय ४४ दरबन्दी अभाव छ।

यस्तै निम्न माध्यमिक तहमा एक हजार एक सय ४० विद्यालयमा चार हजार पाँच सय ६० दरबन्दी आवश्यक पर्नेमा एक हजार आठ सय ६१ मात्र छ। निमावि तहमा मात्र दुई हजार ६ सय ९९ दरबन्दी अभाव छ। यस्तै मावि तहका ६ सय पाँच विद्यालयमा तीन हजार २५ दरबन्दी हुनुपर्नेमा एक हजार दुई सय ७६ मात्र छ।

मावि तहमा एक हजार सात सय ४९ दरबन्दी अभाव छ। यस्तै उच्च शिक्षाका दुई सय ६९ विद्यालयमा एक हजार ३६ दरबन्दी हुनुपर्नेमा पाँच सय ७९ दरबन्दी मात्र छ। उच्च माविमा चार सय ५७ शिक्षक दरबन्दी अभाव छ। यसरी सबै तहमा जम्मा पाँच हजार पाँच सय ४९ शिक्षक दरबन्दी अभाव छ। हाल कर्णालीमा सबै प्रकारका शिक्षक जम्मा १८ हजार नौ सय ४६ जना कार्यरत छन्।

आधा पढेर परीक्षा  

कर्णालीको अर्को समस्या हो, आधा पढेर परीक्षा दिनुपर्ने बाध्यता। कर्णालीका कालीकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका जिल्लामा विभिन्न कारण वर्षमा आधा दिन पनि विद्यालय सञ्चालन हुँदैनन् । हिउँदमा जाडो त वर्षायाममा बाढीपहिरोका कारण पनि विद्यालयमा नियमित पढाइ हुँदैन। अर्को समस्या विषयअनुसारका शिक्षक दरबन्दी पनि नहुँदा परीक्षा दिने बेलासम्म पनि प्रायः आधा पढाइ मात्र हुने समस्या छ।

एसइई परीक्षा आउन दुई महिना मात्रै बाँकी छ। कर्णाली प्रदेशका सहरबजारमा खचाखच विद्यार्थी छन्। ट्युसन नपढी राम्रो नतिजा ल्याउन सम्भव नहुने भएकाले विद्यार्थीहरू सहर केन्द्रित छन्। सक्नेले सहरमै पढ्ने, नसक्नेले गाउँमा पढेर भए पनि सहरमा ट्युसन पढ्ने चलन छ।

मुगुबाट सुर्खेत एसइईको तयारीका लागि आएका नवीन रावलले भने, ‘हाम्रो विद्यालयमा सबै विषयको आधा मात्र पढाइ भएको छ। त्यसैले थप स्वअध्यायन र तयारी कक्षाका लागि सुर्खेत झरेको छु,’ उनले भने, ‘यो हाम्रो रहर होइन, बाध्यता हो। स्कुलमा राम्रोसँग पढाइ नै हुँदैन। पढाइ नियमित नहुँदा कोर्स पनि सकिएन। त्यसैले मैले घरमा सल्लाह गरेर सुर्खेतमा भाडामा बसी एसईई तयारी गरिरहेको छु।’ उनीजस्तै काकिलोटका विद्यार्थीहरू पनी एसइईको तयारीका लागि सुर्खेत झरेका छन्।

प्रकाशित: २० फाल्गुन २०८० ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App