१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

विद्यालय शिक्षा ऐन यही अधिवेशनभित्र पास हुन्छ: राज्यमन्त्री यादव

०७२ को संविधानले सबै बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि संघीयता अनुसारको नयाँ विद्यालय शिक्षा ऐन आउन नसक्दा विद्यालय शिक्षा व्यवस्थापन गर्न चुनौती थपिँदै गएको शिक्षा विज्ञान तथा राज्यमन्त्री प्रमीला कुमारी यादवले बताएकी छिन्।

शनिबार काठमाडौंको बुढानीलकण्ठ नगरापालिका रहेको लोयल्टी एकेडमीको १८ औं वार्षिक उत्सवमा बोल्दै राज्य मन्त्री यादवले यस्तो बताएकी हुन्। उनले अझै पनि २०२८ सालकै शिक्षा ऐनबाट नेपालको शिक्षा क्षेत्र संचालन भइरहेकोले यसबाट विद्यालय शिक्षा नयाँ राज्य संरचना अनुसार हुन नसकेको बताइन्।

‘हाम्रो शिक्षा २०२८ सालको शिक्षा ऐन अनुसार नै चलिरहेको छ। यसले बालबालिकाको पढ्न पाउने अधिकार सुरक्षित गर्न सकेको छैन,’ मन्त्री यादवले भनिन् ‘संविधानले शिक्षा मौलिक हकमा राखेको छ। अनिवार्य र निःशुल्क शिक्षा कायम गरेको छ। तर अझै पनि साढे आठ लाख बालबालिका विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क छ।’

उनले नयाँ विद्यालय शिक्षा र उच्च शिक्षा ऐन नआउनजेलसम्म विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा व्यवस्थित हुन नसक्ने जिकिर गरिन्। ‘यस कारण अब हामी यही अधिवेशनभित्र कम्तीमा विद्यालय शिक्षा ऐन पास गराउँछौँ। नयाँ ऐन कार्यान्वयनमा आएपछि मात्र बालबालिकाको शिक्षाको अधिकार सुरक्षित हुन्छ।’ उनले भनिन्।

नेपालसँग आफ्नो शिक्षा ऐन नभएकै कारण विदेशी दातृ निकायहरूले शिक्षा क्षेत्रमा बढी हस्तक्षेप गर्दै आएको र आफू अनुकूल शिक्षाका नीति तथा कार्यक्रम बनाउने गरेको उनकाे भनाइ थियाे।

‘हामीसँग आफ्नो शिक्षा ऐन छैन। जसका करण विदेशी दातृ निकायले थरीथरीका नीति नियम ल्याउन नेपालको शिक्षालाई प्रयोगशाला बनाइरहेका छन्।’ उनले भनिन् ‘विद्यालय शिक्षा ऐन ल्याउन सके देश र माटो सुहाउँदो शिक्षाका नीति तथा कार्यक्रम तय गरि नेपाल अनुकूलको दक्ष र आवश्यक जनशक्ति विद्यालय स्तरबाटै उत्पादन गर्न सहज बन्छ।’

उनका अनुसार हाल विदेशीको इशारामा बन्ने शिक्षाका नीति कार्यक्रमकै कारण समस्या आएको हो। 

लोयल्टी शैक्षिक पत्रकारिता पुरस्कार अधिकारीलाई

यसैबिच यस वर्षको लोयल्टी शैक्षिक पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका उपसम्पादन पत्रकार प्रकृति अधिकारीले पाएका छन्। शनिबार राज्य मन्त्री यादवले उनलाई पुरस्कृत गरेकी हुन्। २१ हजार नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर उनले पत्रकार अधिकारीलाई सम्मान गरेकी थिइन्।

स्कुलले बर्सेनि नेपाली शिक्षा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना विशिष्टपत्रकारलाई सो पुरस्कार दिने लक्ष्यले गत वर्ष पुरस्कारको स्थापना गरेको हो।

पहिलो पटक यो पुरस्कार नागरिक दैनिककी पत्रकार रूबी रौनियारले पाएकी थिइन्। वार्षिक दिवसको अवसरमा पत्रकार रौनियारलाई दोसल्ला ओढाएर सम्मान गरिएको  थियो।

वार्षिक दिवसको अवसरमा स्कुलका विद्यार्थीले नाच गान तथा सृजनात्मक कार्यको प्रस्तुति गरेका थिए।

स्कुलले बालबालिकाको कक्षा कोठाको सिकाई उपलब्धिकासाथै चौतर्फी विकासमा ध्यान दिँदै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको स्कुलका संस्थापक अध्यक्ष एवं प्याबसनका पूर्व अध्यक्ष विजय सम्हाम्फेले बताए।

उनका अनुसार स्कुलले शिक्षा र सिपलाईसँगै लिएर अघि बढेको छ।

प्रकाशित: १९ फाल्गुन २०८० १९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App