१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयले पाउने भए विषयगत शिक्षक

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा रिक्त रहेको चार सय ३६ स्थायी पदपूर्तिका लागि शिक्षक माग गरेको छ। माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा खुला प्रतियोगितात्मक परीक्षा हुने छ।

सामुदायिक विद्यालयमा वर्षौंदेखि मावि तहमा शिक्षकको पद रिक्त भएकाले कक्षाकोठामा सिकाइ उपलब्धि राम्ररी हुन सकेको थिएन। यही भएर अब सरकारले बर्सेर्नि रिक्त दरबन्दी पूर्ति गर्दै जाने लक्ष्यसहित यसपटक शैक्षिकसत्र सुरु हुनुअगावै पदपूर्ति गर्ने तयारी आयोगको रहेको छ।

एसइई नतिजामा मुख्य रूपमा विज्ञान, अंग्रेजी, नेपाली, गणितलगायतका अप्ठ्यारा विषयमा कम विद्यार्थी पास हुनुको मुख्य कारण यही विषयमा विद्यालयमा शिक्षक पनि नहुनु नै रहेको सरकारी अनुसन्धानले देखाएको छ।

 यसकारण अब आयोगले कक्षाकोठाको सिकाइ स्तर अभिवृद्धि गर्न र बालबालिकाको सिकाइ उपलब्धिमूलक बनाउन शिक्षकको रिक्त दरबन्दी पूर्ति गर्न समयमै ध्यान दिएको आयोगले जनाएको छ।

आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेललका अनुसार यसपटक सातवटै प्रदेशबाट माग आएअनुसार कुल रिक्त दरबन्दी चार सय ३६ रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकको आधारमा आयोगले पदपूर्तिका लागि पुस ८ गते विज्ञापन आह्वान गरेको हो।

‘यसपटक सबैभन्दा बढी विज्ञान विषयको शिक्षकको माग आएको छ। विज्ञानमा मात्र एक सय २४ पद रिक्त रहेको छ,’ पोखरेलले भने, ‘विद्यालय तहको शिक्षण सिकाइको स्तर बढाउन मावि तहमा शिक्षक अनिवार्य हुनैपर्छ। यसले बालबालिकाको सिकाइ मापनमा भूमिका खेल्छ।

अर्को अप्ठ्यारो विषय हो गणित यसमा ८५ र अंग्रेजीमा ७९ दरबन्दीको पूर्तिका लागि विज्ञान खोलिएको छ। खुला विज्ञापनमा योग्यता पुगेको सबैले भाग लिन पाउने छन्।’

यसैगरी, सातै प्रदेशबाट प्राप्त भएको तथ्यांकअनुसार नेपालीमा ६७, समाजिकमा ५३, अर्थशास्त्रमा सात, कार्यालय सञ्चालन तथा लेखामा १५, संस्कृत व्याकरणमा तीन र कप्युटर विज्ञानमा तीन शिक्षक माग आयोगले गरेको छ।

गत वर्ष पुस २५ मा माध्यमिक तहको विज्ञापन भएको थियो। ‘यस वर्ष पनि पुस २५ अघि नै विज्ञापन गर्‍यौं,’ आयोगका प्रमुख प्रशासकीय प्रमुख डा. पोखरेलले भने भने, ‘गत वर्ष सात सय १८ शिक्षक पदपूर्तिका लागि विज्ञापन भएको थियो। यसपटक दुई सय ८२ शिक्षक कम भए। यसपटक आयोगले चैत ३ गते सामान्य परीक्षा लिने छ। ५० अंक ल्याउनेहरू मात्र विषयगत परीक्षामा सहभागी हुन सक्नेछन्। परीक्षामा ४० अंक र त्योभन्दा माथि ल्याउनेहरू अन्तरर्वार्तामा सहभागी हुन्छन् ।’

उनका अनुसार आयोग यसपटक असोज महिनाभित्रै सबै प्रक्रिया पूरा गरी विद्यालयहरूमा शिक्षक सिफारिस गर्ने तयारी छ।’

विगतमा सामुदायिक विद्यालयका शिक्षकको अवकाश भए पनि मावि तहमा समयमै विज्ञापन नहुँदा शिक्षक व्यवस्थापन चुनौती बन्दै गएको थियो।

तीन वर्षयता हरेक वर्ष विज्ञापन हुन थालेपछि रिक्त हुनबित्तिकै प्रतिस्पर्धाबाट छनोट भएका योग्य शिक्षकले कक्षाकोठाभित्र पढाउने अवसर पाएको उनको दाबी छ।

प्रकाशित: १६ पुस २०८० ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App