१९ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यालय बन्द गरेर शिक्षक धर्नामा

हरिपूर्वा नगरपालिकाका सबै काम प्रभावित

सलार्हीको हरिपुर्वा नगरपालिकामा शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा र विकास निर्माणका सबै कार्यक्रम ठप्प बन्न पुगेको छ। स्थानीय तहको निर्वाचन भएको डेढ वर्षमा पनि नगर सभा बस्न नसक्दा हरिपुर्वा नगरपालिकाले कुनै काम गर्न सकेको छैन। नगरपालिका शिक्षक तथा कर्मचारीले तलब नपाएपछि उनीहरू विद्यालय बन्द गरेर छ दिन देखि नगरपालिका घेराउमा बसेका छन्।

नगरपालिका भित्रको १६ विद्यालय विगत ६ दिनदेखि ठप्प छ। ७ हजार विद्यार्थीको पठनपाठन चौपट बनेको छ। ५ हजार बृद्धबृद्धाले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता पाएका छैनन्। सामाजिक सुरक्षा बापतको बृद्धाबृद्धहरुले वृद्ध भत्ता तथा पोषण भत्ता पाएका छैनन् भने विकास निर्माणको १५ करोड रकम आर्थिक वर्ष २०७९ ’०८०को फ्रिज भएको छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर सभा बस्न नसक्दा आर्थिक वर्ष २०८०/२०८१ को बजेट समेत पारित नभएकोले नगरपालिका ठप्प बनेको छ।

यति मात्र होइन यस नगरपालिकामा डेढ वर्षभित्र ६ वटा प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारको समाने प्रशासन मन्त्रालयले पठाएको तर राजनीतिक खिचातानीले गर्दा कोही बाटोबाटै त कोही हाजिर नहुँदै सरुवा भएका छन्।

रामजानकी मावि वसन्तपुरका शिक्षक रामनाथ यादबले नगरपालिकामा बढ्दै गरेको राजनीति चलखेलकै कारण नगरभित्रको शिक्षा स्वास्थ्य र विकास निर्माणको काम ठप्प बनेको गुनासो गरे। ‘विद्यालयमा शैक्षिक सामाग्री समेत छैन यस्तो अवस्थामा बालबालिकालाई कसरी पढाउने,’ शिक्षक यादवले भने ‘शिक्षक कर्मचारीले तलब नपाएको चार महिना भयो। घर परिवार समेत चलाउन मुस्किल परेको छ।’

नगरपालिका प्रमुख विनोद कुमार साहले आफुले एउटा प्रमुख प्रशासकीय अधिकृत माग गर्न मन्त्री, सांसददेखि प्रधानमन्त्रीसम्मको ढोका ढकढकाएको तर सबैले नगरपालिकामाथि राजनीतिक दाउपेच खेलेर नगरपालिकालाई बन्धक बनाएको प्रतिक्रिया दिए। ‘म पदभार सम्हालेको डेढ वर्ष भयो। समाने प्रशासन मन्त्रालयले ६ वटा प्रमुख प्रशासकीय अधिकृत दियो तर कोही हाजिर नहुँदै, कोही बाटोबाटै त कोही नियुक्ति लिएको साताभित्रै सरुवा भए। मन्त्रालयले फिर्ता बोलायो,’ मेयर साहले आफ्नो बाध्यता सुनाए,‘बैंक खाता प्रमुख प्रशासकीय अधिकृतको नाममा हुन्छ। स्वास्थ्य चौकीहरूमा सिटामोलसम्म किन्ने रकम छैन। ’

प्रकाशित: १० मंसिर २०८० ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App