१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

मुस्ताङ बौद्ध विद्यालय: तीन सय जनालाई खाना पकाउने स्टिम प्रविधि

स्टिम प्रविधि प्रयोगबारे जानकारी दिंदै प्रधानाध्यापक अवन तुलाचन। तस्बिर: हरिकृष्ण/नागरिक

मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे झिलिङस्थित नालन्दा बौद्ध विद्यालयमा दाउरा प्रयोग गरी बाफ प्रविधिबाट खाना पकाउने गरिएको छ।

६ वर्षयता विद्यालयले दैनिक तीन सय जनालाई खाना पकाउने स्टिम प्रविधि प्रयोग गर्दै आएको छ। छात्रावास बस्ने दुई सय विद्यार्थी, शिक्षक र स्टापलाई स्टिम प्रविधिबाटै खाना पकाउने गरिएको विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले बताए।

प्रधानाध्यापक तुलाचनले खाना पकाउने ग्यास र विद्युतीय उपकरणको तुलनामा स्टिम प्रविधि सस्तो, छिटो र प्रभावकारी भएको बताए।

‘वार्षिक १० लाखभन्दा बढीको दाउरा खपत हुन्छ, ग्यास र विद्युतीय उपकरण धेरै प्रयोग गर्दैनौं’ प्रअ तुलाचनले भने। उनका अनुसार स्टिम प्रविधिको प्रयोगबाट तातो पानी, चियादेखि खाजाका परिकारसमेत पकाइन्छ।

एकैपटकमा पाँचवटा भाँडामा पाँच सयभन्दा बढीलाई खाना पकाउन सकिने भएकाले यो प्रविधि भित्र्याइएको तुलाचनले बताए। उनका अनुसार स्टिम प्रविधिमा करिब १५ मिनेटमा सबैलाई पुग्ने खाना तयार हुन्छ। विद्यालयको माथिल्लो भागमा रहेको भवनमा जडान गरिएको स्टिम प्रविधिबारे विद्यार्थी र शिक्षकलाई समेत जानकारी गराइएको छ।

फलामको पाइप लाइनबाट आगोको भट्टीमाथि राखिएको ६० लिटर क्षमताको फलामकै ठूलो भाँडोमा पानी तताएपछि उत्पन्न हुने बाफलाई अर्को कोठामा रहेका खाना पकाउने भाँडामा पुर्‍याउने संरचना जडान गरिएको छ।

भट्टीबाट फलामको पाइपलाइनमा आपूर्ति गरी आवश्यक परेको भाडामा अनुकूल समयमा बाफ आपूर्ति गराई पकाउन सकिन्छ। तातो बाफले भाँडा तात्ने र भित्र राखिएको दाल, चामल, तरकारी तयार हुन्छ। आगोमा र ग्याँसमा पकाउन लाग्ने समयभन्दा धेरै सहज र खाना पनि स्वादिलो हुने प्रअ तुलाचनको भनाइ छ।

२०६७ सालमा पद्मसम्भव च्यारिटी फाउन्डेसनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा कक्षा १ देखि १० सम्म निःशुल्क आवासीय सुविधासहित दुई सय १५ विद्यार्थी अध्ययनरत छन्।

विद्यालयमा नेपालका साथै भारतका विभिन्न जिल्लाबाट समेत आर्थिक अवस्था कमजोर भएका र लामा शिक्षा पढ्न विद्यार्थी आउने गर्छन्। लामा पृष्ठभूमिका बाहेक बाहुन, क्षेत्री, चेपाङ, दलित लगायत विभिन्न समुदायका विद्यार्थीसमेत अध्ययनरत छन्।

सरकारी पाठ्यक्रमका साथै नेपाली, अंग्रेजी र तिब्बती पाठ्यपुस्तकका माध्यमबाट औपचारिक बौद्ध शिक्षा पनि प्रदान गरिएकाले अन्य समुदायसमेत यहाँ अध्यनका लागि उत्साहित छन्।

विद्यालयमा छात्रलाई मात्रै पठनपाठन गर्ने गरिएकोमा आगामी शैक्षिक सत्रदेखि ५० जनाको हाराहारीमा छात्रालाई समेत पठनपाठन गराउने विद्यालयको योजना छ। करिब डेढ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विद्यालय भौतिक संरचनाको दृष्टिकोणले जिल्लाकै उत्कृष्ट मानिन्छ।

प्रकाशित: १० मंसिर २०८० ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App