२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

उपप्राध्यापक चलाउने भन्छन्: न्याय त पाएँ तर विदेशिएका अपराधीहरू कसरी पक्राउ पर्छन् ?

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने दोषीहरूलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजायको निर्णय गरेर उनको घाउमाथि मलम अदालतले लगाइ दिएकोमा चलाउनेले सन्तोषको सास फेरेका छन्। तर आक्रमणको मुख्य योजनाकारहरू अझै पनि फरार र विदेशिएकाले उनीहरुलाई पक्राउ गरी जेल पुर्‍याउनुमा उनी सशङ्कित बनेका छन्।

‘साढे तीन वर्ष अघि त्रिविको परिसरभित्रै ममाथि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका हरि आचार्य आफै उपस्थित भई गुन्डा लगाएर मलाई हातहतियार प्रयोग गरी आक्रमण गरेको थियो,’ उपप्राध्यापक चलाउनेले नागरिकसँग भने ‘अदालतले योगेन्द्र रावल,निरज रानामगर, हरि आचार्य,रुपेश साह, रबिन कुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठ गरी ६ अपराधीलाई जनही दुई वर्ष कैद सजाय तोक्यो। तर यसमध्ये हरि आचार्य अमेरिका,निरज रानामगर अस्ट्रेलियामा छन् । वाकी चार जना मध्ये सयुज श्रेष्ठ पक्राउ परेको साढे दुई वर्ष भयो। तर सँगै रहेको रविन कुमार लामा र रुपेस साह तथा योगेन्द्र रावल नेपालमै हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।’ उनले माग गरे‘मेरो एउटै माग हो विदेशिएका , फरार भएका र नेपालमै भएका अपराधिहरुलाई प्रहरीले तत्काल पक्राउ गरी जेल चलान गर्नु पर्छ।’

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले विहिबार गरेको निर्णयमा उपप्राध्यापक चलाउनेमाथि कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजायसहित उपप्राध्यापक चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५ सय ९३ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।

‘मैले भोगेको तीन वर्ष भन्दा बढी शारीरिक र मानसिक यातनाको सामुन्ने २८ लाख क्षतिपूर्ति केही पनि होइन,’ उनले भने, ‘विद्यार्थीले गुरु कुट्नु ठूलो अपराध हो। त्रिवि भित्र अचेल यस्ता विकृति बढ्दै गएको छ। अपराधीलाई पक्राउ गरी जेल चलान गरेपछि बल्ल राज्यले न्याय गरेको मलाई महसुस हुन्छ।’ यसले अन्य आपराधिक क्रिया कलाप गर्नेहरुलाई समेत निरुत्साहित गर्ने उनको ठहर छ। प्रेम बहादुरको चलाउनेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आरोपछि ६ जना विरुद्ध ज्या नमार्ने उद्योगमा मुद्धा दर्ता गराएको चलाउनेले जनाए।

‘तर काठमाडौं जिल्ला अदालतले आक्रमणकारीले टाउको प्रहार नगरेको र ज्यान मार्ने उद्योगमा नभएर शरीर अंगभंग गराउने उद्देश्यले आक्रामणा गरिएको भन्दै सजाय सुनायो ,’उनले भने, ‘जब कि हरि आचार्य लगाएतले मेरो टाउकोमा सात पटकसम्म रड र फलामको चिरपटले प्रहार गरेर मेरो टाउको अझै बेला बेलामा दुखी रहन्छ। यो न्याय पनि मैले पूर्ण रुपमा कहाँ पाएको हुँ छ? तर के भए पनि केही हदसम्म मेरो घाउमा मलम लगाउने काम अदालतले गरेको छ।’ उनको गोडा भाँच्चिएको छ भने कम्मर मुनिको भाग अझै पनि दुखाई ले दुःख दिइरहने गरेको उनले जनाए।

प्रकाशित: ८ मंसिर २०८० ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App