ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाका १३ वटा सामुदायिक विद्यालयलाई ल्यापटप तथा प्रिन्टर वितरण गरेको छ।
विद्यालयको शैक्षिक वातावरणमा सहयोग पुगोस् भन्ने ध्येयले पालिका उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए। उनका अनुसार ३ वटा विद्यालयले ल्यापटप तथा प्रिन्टर पाएका छन् भने बाँकी १० मध्ये कतिपय विद्यालयले ल्यापटप र कतिपयले प्रिन्टर पाएका छन्।
पालिकाका अनुसार तेल्लोकको भगवती आधारभूत विद्यालय, खेवाङको महेन्द्र आधारभूत विद्यालय र याम्फुदिनको कृष्ण आधारभूत विद्यालयले ल्यापटप तथा प्रिन्टर पाएका छन्। सिनामको हरन्दी आधारभूत विद्यालय, सिकैचाको दुर्गा मावि, मामाङ्खेको सुदाप आधारभूत विद्यालय र सिनामको डाँडा आधारभूत विद्यालयले १–१ थान ल्यापटप पाएका छन्।
पेदाङको गंगा आधारभूत विद्यालय, याङपाङ आधारभूत विद्यालय र भञ्जरे आधारभूत विद्यालय, आम्बेगुदिनको आदर्श आधारभूत विद्यालय, सिकैचाको लक्ष्मी आधारभूत विद्यालय र खेवाङको सितलादेवी आधारभूत विद्यालयले एक–एक थान प्रिन्टर पाएका छन्। पालिकाका शिक्षा अधिकृत डिल्लीराज खड्काका अनुसार गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष लालकृष्ण चौहानले उक्त सामग्रीहरू मंगलबार सामूहिक रूपमा हस्तान्तरण गरेका छन्।
प्रकाशित: ८ पुस २०८२ १२:४५ मंगलबार





