१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

पढिन छाडे पुस्तक, अधुरो हुँदैछ ज्ञान

पत्रकार तथा साहित्यकार आरके अदिप्त गिरीले लेखक गनेस पौडेललाई सोधे—पुस्तक किन पढ्ने? पौडेलले छोटो जवाफ दिए, ‘मान्छे मान्छे बन्नका लागि पुस्तक पढनुपर्छ।’पुस्तकले ज्ञानका साथै परिपक्क विचार निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ। राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ पारेर विद्या मन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको पुस्तक र पुस्तकालय संवाद विमर्श कार्यक्रममा पौडेलले कमसल सिर्जना समावेश गरेर पुस्तक बजारमा आउँदा पाठक विचलित हुँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘अहिले त जो पनि पनि लेखक बन्नेजस्तो लेखे पनि छापिदिने गरेका कारण पाठक भड्किएका छन्’, उनले भने, ‘सही र राम्रा किताब छानेर पढ्ने पाठकको संख्या निकै कम छ। हलुका सामग्रीले नयाँ पाठकलाई पुस्तक मोहतर्फ तान्न कठिन भएको छ।’

असल र जिम्मेवार नागरिक बन्नका लागि किताबले ठूलो सहयोग गर्ने पौडेल तर्क गर्छन्। ‘जसरी हर बिहान चिया पिइन्छ, त्यसरी नै हरेक दिन थोरै समय भए पनि छुट्ट्याएर पुस्तक पढ्न सकियो भने पठन संस्कृतिको विकास हुन्छ’,उनी भन्छन्।

धेरै पुस्तक पढ्ने र थोरै लेख्ने लेखकले मात्रै राम्रो सिर्जना पाठकसम्म पुर्याउने दाबी गर्दै पौडेलले हतारोमा लेखक साहित्यकार बन्ने प्रचलनले नेपाली भाषा साहित्यलाई नै कमजोर बनाएको बताए। ‘एउटा पुस्तक पढिसकेपछि त्यो पाठकलाई अर्को पुस्तक पढ्न लालायित बनाउने खालको पुस्तक लेखिएन भने त्यसको कुनै अर्थ हुँदैन’,उनी भन्छन्, ‘कमसल पुस्तकले भाषा र साहित्यलाई हानि पुर्याइरहेको छ। पाठकलाई पुस्तकबाट टाढा बनाइरहेको छ।’ गिरी र पौडेलको संवादको निचोड पुस्तक पढ्ने पाठकको संख्या घट्दै गइरहेको भन्ने भनाइ थियो।

के पुस्तकालयमा पुगेर किताब पढ्ने समय अब इतिहास भएको हो? पत्रकार दिल शिरीषले वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठलाई प्रश्न तेस्र्याए। प्रतिउत्तरमा श्रेष्ठले भने, ‘ईशापूर्वको छैटौं शताब्दीबाट सुरु भएको पुस्तालयको अवधारणा अहिलेसम्म पनि उत्तिकै महत्वको छ। त्यसैले अहिल्यै इतिहास भएको भन्न त मिल्दैन, तर पुस्तकालयलाई समयसापेक्ष भने बनाउनुपर्छ।’सूचना प्रविधिको विकाससँगै किताब पढ्ने र अझ पुस्तकालयमै पुगेर पढ्नेको संख्या निकै थोरै भएको उनको भनाइ थियो। ‘पुस्तक र पुस्तकालयको आवश्यकता गौण भएको पक्कै होइन तर प्रविधिको विकासले यसलाई छायाँमा पारेको छ’, उनी भन्छन्, ‘अहिले प्रविधिको प्रयोगले मान्छेले सजिलै सूचना पाएका त छन् तर किताबबाट जस्तो राम्रो ज्ञान पाएका छैनन्।’

पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले समाज देश र विश्वलाई गहिरो गरी अध्ययन गर्न किताब पढ्नैपर्ने बताए। ‘प्रविधिको विकासले मानिसलाई सामाजिक सञ्जालको दास बनाएको छ’,उनी भन्छन्, ‘समाजलाई गहिरोसँग बुझ्नका लागि किताब पढ्नैपर्छ। किताबले हरेक विषयलाई गहिराइमा पुगेर पर्गेल्न मद्दत गर्छ।’बौद्धिक वर्ग उत्पादनका लागि पुस्तकालयको आवश्यकता अझै पनि रहेको र त्यसलाई समयसापेक्ष बढाउँदै लैजानुपर्ने उनको तर्क छ।

जसरी हर बिहान चिया पिइन्छ, त्यसरी नै हर दिन थोरै समय भए पनि छुट्ट्याएर पुस्तक पढ्न सकियो भने पठन संस्कृतिको विकास हुन्छ। धेरै पुस्तक पढ्ने र थोरै लेख्ने लेखकले मात्रै राम्रो सिर्जना पाठकसम्म पुर्याउन सक्छन्।

सौह्रौं राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा विद्या मन्दिर पुस्तकालय बागलुङले साताव्यापी कार्यक्रम गर्यो। हरेक कार्यक्रममा पुस्तक र पुस्तकालयको महत्वको चर्चा भयो र पाठकको संख्यामा कमी आएको चिन्ता व्यक्त गरियो। कार्यक्रममा समाजसेवी देबहादुर श्रेष्ठले विगत स्मरण गर्दै भने, ‘हामीले यो पुस्तकालयको हलभरि जम्मा भएर पत्रपत्रिका र पुस्तक पढ्यौं, अहिले सबै हातहातमा रहेको माबोइलमा क्षणक्षणमा सूचना आउने भएपछि पुस्तकालय आउने र पढ्ने चलन हरायो’, उनले भने, ‘तर प्रविधिले सूचना दिए पनि अधुरो ज्ञान दिएको छ।’ पाठकको अभावमा सार्वजनिक पुस्तकालय विस्तारै बन्द हुँदै गइरहेकोमा उनले दुःख व्यक्त गरे।

६० को दशकमा विद्या मन्दिर पुस्तकालयमा किताब र पत्रपत्रिका पढ्नका लागि पालो कुरेर बस्नुपरेको यामबहादुर थापा सम्झन्छन्। ‘त्यो बेला म नियमित रूपमा पुस्तकालय जान्थें, पत्रपत्रिका र किताब आफैं किन्ने आर्थिक हैसियत पनि हुन्थेन, त्यो बेला हामी पालो कुरा पढ्थ्यौं’,थापाले भने, ‘अहिले त्यो चलन विस्तारै कम भएको छ। पहिलो कुरा त प्रविधिले सहज बनाइदिएर पनि हो। मुख्य कुरा भने गहन रूपमा अध्ययन र चिन्तन गर्ने चलनै छैन।’ पुस्तकालयमा बसेर पढ्ने बानीले आफूलाई लोक सेवा आयोग पास गर्न सहज बनाएको उनी सुनाउँछन्।

विद्या मन्दिर पुस्तकालय गण्डकी प्रदेशकै जेठो पुस्तकालय हो। विक्रम संवत् २००३ सालमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यलगायतका साथी मिलेर उक्त पुस्तकालय स्थापना गरिएको थियो। तत्कालीन समयमा उक्त पुस्तकालयलाई घरेलु उद्योग विद्या मन्दिर बागलुङ भनेर स्थापना गरिएको थियो। अहिले पुस्तकालयमै आएर किताब पढ्नेको संख्या निकै न्यून भएको विद्या मन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अविरल बताउँछन्। ‘अहिले पुस्तकालय आउने र पढ्ने चलन निकै घटेको छ। हामीले समयसापेक्ष प्रविधिलाई पनि आत्मसात गरौं भने ई—लाइब्रेरीको समेत व्यवस्था गरेका छौं’, उनी भन्छन्, ‘पहिले–पहिले भीडभाड हुने पुस्तकालयमा अहिले दिनमा २५÷३० जना पुग्न गाह्रो हुन्छ। त्यही पनि किताब पढ्नेभन्दा ईमेल र इन्टरनेट प्रयोग गर्ने धेरै छन्।’  

प्रकाशित: १६ भाद्र २०८० ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App