१० मंसिर २०८१ सोमबार
image/svg+xml
शिक्षा

‘व्यवस्थापन’ पढ्छ नेपाल

विद्यार्थी त्यही विषय पढ्छन् जसको बजार छ। विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन्। पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा रुझान व्यवस्थापन विषय बनेको तथ्यांकले देखाएको छ। भलै हाम्रो देश कृषि प्रधान हो तर अचेल कृषि विषय पढ्न चाहनेको संख्या निकै न्यून रहेको विश्वविद्यालय अनुदान आयोगको तथ्याँकले देखाएको छ। एक दशक अघिसम्म कक्षा १२ पास गरेकामध्ये अधिकले शिक्षा शास्त्र अध्ययन गर्थे तर अहिले त्यस्तो छैन। सरकारले प्राविधिक शिक्षामा जोड दिने नीति लिए पनि उच्च शिक्षातर्फ यो विषय पढ्ने विद्यार्थीको रुचि खासै देखिँदैन। प्राविधिक शिक्षातर्फका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना प्रतिशत २२.१८ मात्र रहेको विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ।  

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार विगतका केही दशकमा मानविकी तथा सामाजिक संकायतर्फका विषयमा विद्यार्थीको रुझान बढी थियो। किनभने गैरसरकारी र सरकारी संस्थामा समेत समाजशास्त्र, ग्रामीण विकास, सामाजिक कार्य, द्वन्द्व व्यवस्थापनलगायत विषयमा विद्यार्थी रुचि थियो। तर अहिले स्थानीय तहमै विभिन्न नयाँ विषय पढ्न पाउने अवसर सिर्जना हुन थालेपछि विद्यार्थीको रुझान पनि बदलिँदै गएको शिक्षाविद् कोइरालाको बुझाइ छ। ‘अवसरको खोजी र आर्थिक रूपमा सक्षम हुने चाहनाले विद्यार्थी बजार भएकै विषय अध्ययन गर्न चाहन्छन्’, उनी भन्छन्, ‘पालिकामा कानुन विषय पढेको जनशक्तिको माग बढी भएकाले पछिलो समय विद्यार्थीको रुचि पनि त्यतैतिर बढेको देखिन्छ। त्यस्तै उद्योग, व्यवसाय, कार्यालय, अस्पताल, स्कुल, कलेज, लोकसेवा, बैंक तथा बित्तीय संस्था, सरकारी र गैरसरकारी कार्यालयमा व्यवस्थापन विषयका जनशक्तिको माग बढी भएकाले कक्षा १२ पास अधिकतर विद्यार्थीको उच्च शिक्षा रुझान व्यवस्थापन संकायका विषयतर्फ बढेको छ।’  

अवसरको खोजी र आर्थिक रूपमा सक्षम हुन विद्यार्थी बजार भएकै विषय अध्ययन गर्न चाहन्छन्। विद्यानाथ कोइराला शिक्षाविद्

उच्च शिक्षा अध्ययनरतमध्ये धेरैले बजारमुखी विषय रोजेको तथ्याँकले प्रष्ट्याएको छ। विद्यार्थीको रुचि प्राविधिकभन्दा पनि साधारणतर्फका व्यवस्थापन, शिक्षा, समाजशास्त्रलगायतका विषयमै देखिन्छ। विश्वविद्यालय अनुदान आयोगका अनुसार हाल मुलुकमा १३ वटा विश्वविद्यालय भए पनि ११ वटामा मात्र पठनपाठन हुन्छ। त्रिभुवन, नेपाल संस्कृत, काठमाडौ, पूर्वाञ्चल, लुम्बिनी बौद्ध, कृषि तथा वन, सुदूरपश्चिम, मध्यपश्चिम, नेपाल खुला र राजर्षी जनक विश्वविद्यालयमा पठनपाठन भइरहेको छ। नयाँ खुलेका मदनभण्डारी विज्ञान तथा प्रविधि र विदुषी योगमाया विश्वविद्यालयमा पढाइ सुरु भएको छैन। विश्वविद्यालय अनुदान आयोगको गत ६ वर्षको तथ्याँक हेर्दा व्यवस्थापन संकायका विषयमा विद्यार्थी निरन्तर बढ्दै गएका छन् भने अन्य संकाय र संस्थानका विषयमा विद्यार्थी संख्या घट्दो छ।  

विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन्। पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा रुझान व्यवस्थापन विषय बनेको तथ्यांकले देखाएको छ।

पठनपाठन सञ्चालन गरेका ११ वटा विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि आर्थिक वर्ष २०७४-७५ मा ३ लाख ६१ हजार ७७ विद्यार्थी भर्ना भएका थिए। जसमध्ये ४२.४४ प्रतिशत व्यवस्थापन संकाय, २४.२३ प्रतिशत शिक्षाशास्त्र संकाय, १०.७४ प्रतिशत मानविकी तथा सामाजिक शास्त्र संकाय, ९.८६ प्रतिशत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, १.७१ प्रतिशत कानुन संकाय, ६.३३ प्रतिशत चिकित्साशास्त्र अध्ययन संस्थान र ४.६८ प्रतिशत इन्जिनियरिङ अध्ययन संस्थानमा भर्ना भएका थिए।  

आव २०७५-७६ मा व्यवस्थापनतर्फ विद्यार्थी भर्ना संख्या ३९.८५ प्रतिशतमा झर्यो। आव २०७९-८० मा भने व्यवस्थापनमा विद्यार्थी भर्ना प्रतिशत ४५.२३ प्रतिशत पुग्यो। शिक्षा शास्त्र संकायतर्फ भने भर्ना प्रतिशत घट्दो छ। आव २०७५-७६ मा २२.५२ प्रतिशत र २०७९-८० मा २२.१७ प्रतिशत विद्यार्थी भर्ना भएको तथ्याँक विश्वविद्यालय अनुदान आयोगसँग छ। त्यस्तै मानविकी संकायतर्फ आव २०७५-७६ मा विद्यार्थी भर्ना संख्या बढेर १३.२४ प्रतिशत पुगे पनि २०७९-८० मा भने ह्वात्तै घटेर ७.९७ प्रतिशत पुग्यो।  

विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा २०७५-७६ मा ८.५२ प्रतिशत र २०७९-८० मा ८.३३ प्रतिशत विद्यार्थी भर्ना तथ्याँक छ। कानुन संकायमा आव २०७४-०७५ मा विद्यार्थी भर्ना प्रतिशत १.७१ रहेकोमा २०७५-७६ मा ०.३३ मा झर्यो। २०७७-७८ देखि भने कानुन संकायमा विद्यार्थी भर्ना प्रतिशत बढ्न थाल्यो। उक्त आवमा कुल विद्यार्थीमध्ये २.२३ र २०७९-८० मा २.२८ प्रतिशत विद्यार्थी कानुन संकायमा भर्ना भए।  

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीका अनुसार विगतका केही दशकमा धेरैको रुचि शिक्षण पेसा भएकाले त्यतिखेर शिक्षा शास्त्र संकायमा विद्यार्थीको आकर्षण बढी थियो भने सरकारी र गैरसरकारी संस्थामा जागिर खान पनि विद्यार्थीले मानविकीतर्फका विषय अध्ययनमा रुचि राख्थे। ‘तर अहिले समय फेरिएको छ। अहिले जागिरका लागि सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संस्थाले विज्ञापन खुलाउँदा व्यवस्थापन विषय अध्ययन गरेको सर्त राख्न थालेका छन्,’ अधिकारीले भने, ‘विगत आठ वर्षयता व्यवस्थापन संकायमा विद्यार्थी भर्ना संख्या ह्वात्तै बढ्नुको मुख्य कारण बजारको माग पनि हो।’  

बजारमा जनशक्तिको माग बढेकैले आठ वर्षयता व्यवस्थापन संकायमा विद्यार्थी आकर्षण बढ्दो छ। देवराज अधिकारी, अध्यक्ष विश्वविद्यालय अनुदान आयोग

उनका अनुसार मुलुकमा व्याप्त अन्योल र अवसरको कमीले प्राविधिकतर्फका मेडिकल र इन्जिनियरिङमा पनि विद्यार्थीको रुचि मर्दै गएको छ। ‘व्यवस्थापनतर्फका विषय अध्ययन गरेको जनशक्ति होटेल, अस्पताल, उद्योग, बैंक, वित्तीय संस्था, सरकारी र गैरसरकारी कार्यालयलगायत सबै क्षेत्रमा मिल्छन्,’ अधिकारीले भने, ‘कक्षा १२ पासमध्ये धेरै विदेश गएका छन्् र यहाँ रहेकामध्ये पनि अधिकको रोजाइ व्यवस्थापनतर्फका विषय भएको देखिएको छ। नेपालमा सस्तो र स्तरीय मेडिकल तथा इन्जिनियरिङ शिक्षा हुँदाहँुदै पनि अवसर नपाएर विद्यार्थी महँगो शुल्क तिरेर विदेश पलायन भइरहेका छन्।’

त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका पूर्वडिन प्राध्यापक डा. प्रकाशमान श्रेष्ठको मत पनि अधिकारीसँग मिल्दो छ। विगतमा शिक्षण पेसामा आकर्षण बढेकाले उच्च(िशक्षामा पनि शिक्षाशास्त्रतर्फका विषयमा विद्यार्थीको रुचि बढेको थियो। तर हाल शिक्षण पेसा ओझेलमा परेकाले शिक्षाशास्त्रमा विद्यार्थी घटेको उनको बुझाइ छ। ‘विश्वका विभिन्न मुलुकमा शिक्षण पेसालाई प्रष्ठिाको रूपमा हेरिन्छ। तर नेपालमा यो पेसालाई हेला गरिन्छ,’ श्रेष्ठले भने, ‘शिक्षक सेवा आयोगले पनि जुनसुकै विषय अध्ययन गरेकालाई शिक्षण अध्यापन अनुमति पत्र दिने व्यवस्था गरेपछि शिक्षाशास्त्र पढ्ने घट्दै गए भने अवसर हुने विषयमा बढ्दै गए।’

कृषि प्रधान देशमा कृषिलाई बढवा दिन उच्चशिक्षामा कृषिलाई महत्व दिनुपर्नेमा त्यसो हुन सकेको छैन। कृषि तथा पशु विज्ञान अध्ययनतर्फ विद्यार्थीको रुचि छैन। विश्वविद्यालय अनुदान आयोगले पनि कृषि विषय अध्ययन गर्ने विद्यार्थीको तथ्याँक आव २०७६-७७ देखि मात्र राख्न थालेको छ। उक्त आवमा उच्चशिक्षा अध्ययनका लागि भर्ना भएका ४ लाख २३ हजार ९ सय ९६ विद्यार्थीमध्ये १.०२ प्रतिशत मात्र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका थिए। त्यस्तै आव २०७७-७८ मा १, आव २०७८-७९ मा १.१७ र आव २०७९-८० मा १.०३ प्रतिशत विद्यार्थी कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा भर्ना भएको तथ्याँक छ।  

कृषि, आयुर्वेद, संस्कृत, एनिमल विज्ञान, बुद्धिज्म, वन विज्ञानलगायतका विषयमा बजार र अवसर कम भएकाले विद्यार्थीको रुचि पनि देखिँदैन।

प्रकाशित: ९ भाद्र २०८० ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App