७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

उपकुलपति डा. बास्कोटाको पालामा त्रिविमा ३४१ दिन तालाबन्दी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक डा. धर्मकान्त बास्कोटा उपकुलपति नियुक्त भए यता ३४१ दिन तालाबन्दी भएको छ।

बास्कोटाको कार्यकाल सकिन ३ महिना मात्र बाँकी छ। यो तथ्याङकले त्रिविको अवस्था र भविष्यको संकेत गरेको छ।

विभिन्न राजनीति दलका भ्रातृ संगठन तथा प्राध्यापकका संगठनहरूले विभिन्न माग राखरे तालाबन्दी गरेका हुन्। पछिल्लो समय त्रिविपीडित संघर्ष समितिले तालाबन्दी गरेको छ। बास्कोटाको चार बर्षे कार्यकालमा ३४१ दिन तालाबन्दी भएको हो।

त्रिविमा शैक्षिक प्राज्ञिक उन्नयनतर्फ लाग्नुपर्ने पदाधिकारीहरूको अधिकांश समय आन्दोलनकारीहरूसँग वार्ता र छलफलमै बितिरहेको प्राध्यापक बताउँछन्। त्यसो त त्रिविमा दलीय आधारमा पदाधिकारी नियुक्त हुने भएकाले उनीहरू प्राज्ञिक सुधारभन्दा पनि दलगत स्वार्थपूर्ति मै व्यस्त हुने गरेका छन्। यस्तैयस्तै बेथितिका कारण बास्कोटाको कार्यालकालमा पनि विश्वविद्यालयमा शैक्षिक र प्राज्ञिक उन्नयनको काम हुन सकेन।

२०७६ कात्तिक १६ गते उपकुलपति नियुक्त भएका बास्कोटाको चार वर्षे कार्यकाल सकिन करिब तीन महिना बाँकी छ। यस अवधिमा विभिन्न संगठनले ३४१ दिन त्रिवि केन्द्रीय कार्यालयसहित विभिन्न निकाय र विभागमा तालाबन्दी गरेका छन्।

पछिलो समय त्रिविपीडित संघर्ष समिति कीर्तिपुरले त्रिविका विभिन्न निकायमा कीर्तिपुरबासीलाई रोजगारी दिनुपर्ने, त्रिविले गरेको सहमतिअनुसार तीन सय शड्ढयाको अस्पताल बन्नुपर्ने, विभिन्न विभागमा उपलब्ध छात्रावृत्तिमा कीर्तिपुरवासीका सन्तानलाई प्राथमिकता दिनुपर्ने, अनधिकृत रूपमा त्रिविको जग्गा हडपेका संघसंस्था र व्यक्तिलाई त्यहाँबाट अविलम्ब हटाउनुपर्नेलगायतका माग राखेर असार ७ गतेदेखि उपकुलपति, रेक्टर, रजिस्ट्रार र प्रिन्सिपलको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ। संघर्ष समितिले तालाबन्दी गरेका कारण त्रिविका शैक्षिक, प्रशासनिक र आर्थिक कामकारबाही प्रभावित बनेको पदाधिकारीले बताएका छन्।

प्रकाशित: २१ श्रावण २०८० ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App