२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

पर्यटन विकास पढेका विद्यार्थीको हातमा भारतीय इतिहासका गहकिला प्रश्न! धन्य हो त्रिवि!

फाइल तस्बिर

सोमबार त्रिभुवन विद्यालयका अन्तर्गत देशभरका करिब २२ सय विद्यार्थी परीक्षा हलमा बसिरहेका छन्। देशभरमा गरी करिब ३० वटा परीक्षा केन्द्रमा ती विद्यार्थीहरू परीक्षा दिन तम्तयार थिए।

उनीहरू स्नातक तह चार बर्से पर्यटन विकास विषयका विद्यार्थी थिए। तेस्रो वर्षको परीक्षाका लागि पर्यटन विकास विषयको अध्ययन गरेर आएका थिए।

उनीहरूको हात–हातमा प्रश्न पत्र त पर्‍यो। तर त्यसमा भारतीय इतिहासबारे व्यापक प्रश्नहरू सोधिएका थिए। विद्यार्थीहरू त अक्क न बक्क। एक अर्कालाई हेर्ने सिवाय अरू उपाय उनीहरूसँग रहेन।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले नेपालको पर्यटन विकासबारे पढेर गएका विद्यार्थीको हातमा भारतीय इतिहासबारे सोधिएका प्रश्न पत्र थपाइदियो। ती दिल्ली विश्वविद्यालयका प्रश्न पत्र थिए।

त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त नै छ भन्नका लागि यो भन्दा भरपर्दो उदाहरण अरु के हुन सक्छ र ?  त्यसो त नेपालको सबैभन्दा र पुरानो विश्वविद्यालय यो अवस्थामा पुग्दा समेत नीति, निर्माता र सरकारमा बस्नेहरूका टाउको दुखाई भएको छैन। उनीहरू यसलाई सामान्य रूपमा नै लिन्छन्। त्यसो त समयमा कहिल्यै परीक्षा नलिने लिइहाले पनि वर्षौसम्म परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको अग्रस्थानमा छ त्रिवि।

त्यसमाथि यस्ता लापरबाही पटक–पटक दोहोरिरहेकै छन्। सोमबार मानविकी संकायअन्तर्गतको वार्षिक प्रणालीबाट सञ्चालन भएको उक्त परीक्षामा परीक्षा नियन्त्रण कार्यालयले पर्यटन विकास विषयको प्रश्नपत्रको साटो दिल्ली विश्वविद्यालयको प्रश्न पत्र वितरण गर्दा विद्यार्थीहरू अलमलमा परेका थिए।

नेपालको पर्यटन विकासबारे अध्ययन गरेका विद्यार्थीलाई भारतीय इतिहासबारे सबै प्रश्न सोधिएको थियो। यसले त्रिविको हदैसम्मको लापरबाही गर्ने प्रवृत्ति छरस्पष्ट भएको छ। परीक्षा एउटा विषयको अनि प्रश्न अर्कै विषयको सोधिँदा तीन घण्टाको परीक्षामा विद्यार्थीहरू परीक्षा हलमा ३० मिनेट अन्योलमा परेका थिए। ७० पूर्णाकको प्रश्नमा समूह ए मा ३० नम्बरको तीन प्रश्न र समूह बी मा ४० नम्बरको चार वटा प्रश्न सोधिएको थियो। सबै भारतीय इतिहासबारे थिए। जुन विद्यार्थीले अध्ययन गरेकै थिएनन्।

परीक्षा नियन्त्रण कार्यालयको यस्तो लापरबाहीप्रति विश्वविद्यालयकै प्राध्यापक तथा पदाधिकारीहरूले पनिकाको पदाधिकारीको कामप्रति प्रश्न उठाएका छन्। मानविकीका डिन राजकुमार पोखरेलले पर्यटन विकासमा नेपालको पर्यटनकै बारेमा पढाइने भएकोले विद्यार्थीलाई सोही विषयसँग सम्बन्धित प्रश्न सोधिनुपर्नेमा भारतीय इतिहासको प्रश्न सोधिनुले पनिकाको गैरजिम्मेवारीपन छर्लङ्ङ भएको औँल्याए।

‘पर्यटन विकासको विषयमा भारतीय इतिहासको प्रश्न पत्र पनिकाले परीक्षा हलमा बाँड्नु भनेकै पनिकाले प्रश्न पत्र निर्माणमा खेलाँची गरिरहेको प्रस्ट हुन्छ,’ डिन पोखरेलले नागरिकसँग भने, ‘प्रश्न पत्र निर्माण गर्दा विषय विज्ञसँग छलफल हुनुपर्छ। प्रश्न ठिक भए नभएकोबारे जाँच गर्न मोडरेसन अनिवार्य गर्नुपर्ने त्रिवि नियममै छ। तर पर्यटन विकासको प्रश्न पत्रले पनिकाले मोडिरेसन नगरेको देखियो। यो ठूलो लापरबाही हो।’

परीक्षा नियन्त्रक पुष्पराज जोशी भने पनिकाले प्रश्न पत्रमा त्रुटि गरेको स्वीकार गरेका छन्। उनका अनुसार असार २८ गते नै सम्पन्न भएको भारतीय इतिहास विषयको प्रश्न पत्र सोमबारको पर्यटन विकास विषयको परीक्षामा मानवीय त्रुटिवश केन्द्रमा पुग्न गएको हो। 

‘त्रिविले २९ वटा ऐच्छिक विषयको पठनपाठन गराउँछ। इतिहासमा भारतीय, अमेरिका, युरोपलगायत थुप्रै देशका पढाइन्छ। विद्यार्थीले रुचिअनुसारको विषय छनोट गरी पढ्छन्,’ नियन्त्रक जोशीले भने, ‘सोमबारको पर्यटन विषयको परीक्षामा पनि मानवीय त्रुटि भएको हो। 

३० मिनेटमा हामीले पुन पर्यटन विषयकै प्रश्न पत्र विद्यार्थीलाई केन्द्रमा बाँड्यौँ र समस्या समाधान भयो। पर्यटन विकास विषयका १ हजार २ सय विद्यार्थी देशभरिबाट अध्ययन गरिरहेका छन्।’ पनिका अबदेखि यस्ता गल्ती हुन नदिन सावधानी अपनाउने पनि उनको प्रतिबद्धता छ।

मानविकी संकायअन्तर्गतको नेपाल पर्यटन विकास पाठ्यक्रम एच्छिक विषय जस्तै भारतीय इतिहास पनि एच्छिक विषय हो। सोमबार  पर्यटन विकासको परिक्षामा पुगेको प्रश्नपत्र भारतीय इतिहासको प्रश्नपत्र रहेको श्रोतले बताएको छ। नेपालमा अहिलेसम्म भारतीय इतिहासको प्रश्नपत्र भने दिल्ली विश्वविद्यालयबाट आउने गरेको श्रोतले जानकारी दिए। 

प्रकाशित: ९ श्रावण २०८० ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App