५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

गुरुप्रति सम्मान प्रकट गरेर मनाइयो गुरु पूर्णिमा

प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ।

प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको हो।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्र शास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ:

गुरु ब्रह्मा  गुरुविष्णु गुरुर्देवो  महेश्वरः ।

गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम:।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ।

गुरु पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन्। यस अवसरमा विश्व हिन्दु महासङ्घको कार्यालय बाँसबारीमा आयोजना गरिएको कार्यक्रममा गुरुको महत्त्वका बारेमा प्रकाश पारिएको थियो। 

यसैगरी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि आज गुरु पूर्णिमाका अवसरमा कार्यक्रम आयोजना गरेको थियो। नेपाल महर्षि वैदिक फाउन्डेसनले दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्दनगरमा आयोजित कार्यक्रममा वैदिक गुरु परम्पराका गुरुप्रति सम्मानभाव प्रकट गरिएको थियो।

प्रकाशित: १८ असार २०८० १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App