१ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्‍योः उपप्राध्यापक चलाउने

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयबिरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार अदालतभित्र होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नुअघि उनले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको बताए।

उनले देशमा न्याय मरेको र मानवता हराएको बताए। उनले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गरे। आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय गरेपछिको आफूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए। सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको आरोप उनको छ।

उनले भने, ‘म अदालतको चक्कर काटेको ५ वर्ष भयो। यो देश गुण्डाहरुले राज गरेको देश रहेछ। यहाँ न्याय पनि केही पाइँदो रहेनछ। सरकारले सत्य, न्याय, मानवता मारेको छ। म न्याय खोज्न कहाँ जाउँ? अदालतमा दर्ता भएको मुद्दा सरकारले फिर्ता लियो। अब म न्याय खोज्न कहाँ जाउँ? त्यसले म समाजमा न्याय खोज्न आएँ। मेरा सबै बाटो बन्द भए। जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ। तर सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ। ममाथि संगठित अपराध भएको थियो। ममाथि हमला भएको थियो। उनीहरु विद्यार्थी थिएनन्।’

आफूलाई न्याय दिनुको साटो सरकारले अदालतलाई बाइपास गरेर सुनुवाई हुनुभन्दा दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिनु उचित नभएको बताए। उनले अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिनु राजनीतिको अपराधीकरण भएको बताए।  

प्रकाशित: ४ असार २०८० ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App