५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

बलजफ्ती स्कुल बन्द गराए फौजदारी मुद्दा

काठमाडौं महानगरपालिकाले महानगरभित्र कुनै संघसंस्थाले कुनै पनि बहानामा बन्द गराउन नपाइने सबै विद्यालयलाई निर्देशन दिएको छ। यदि कुनै संस्थाले बल प्रयोग गरी महानगरभित्रका विद्यालय बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी त्यस्तालाई नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिने महानगरपालिकाका मेयर बालेन्द्र साहले जनाएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद्ले संघीय सरकारले आफ्नो माग पूरा नगरेको भन्दै आइतबारदेखि देशभरिका सामुदायिक विद्यालय आनिश्चतकालीन बन्दको घोषणा गरेसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले असार २ गते अर्थात् शनिबारै आफ्नो फेसबुक स्टाटसमा लेख्दै असार ३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको जनाएका छन्।

काठमाडौं महानगरपालिकाले महानगरभित्र कुनै संघसंस्थाले कुनै पनि बहानामा बन्द गराउन नपाइने सबै विद्यालयलाई निर्देशन दिएको छ।

मेयर साहले नेपाल सरकारको मिति २०६८ जेठ ११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्नेजस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै महानगरभित्रका विद्यालयमा शान्ति क्षेत्रको अवधारणाविपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको उल्लेख गरेका छन्।

‘साथै काठमाडौं महानगरपालिका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ,’ मेयर साहले समाजिक सञ्जाल फेसबुकमार्फत निर्देशन दिएका छन्, काठमाडौं महानगरपालिकाका विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीलाई नियमानुसार कारबाही हुनेछ।’ नियमविपरीत विद्यालय बन्द गरे कडा कारबाही गरिने चार बुँदे चेतावनीसमेत उनले दिएका छन्।

शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ। विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ।

महानगर शिक्षा विभागप्रमुख सीताराम कोइरालाले सरकारले नै विद्यालय शान्तिक्षेत्र घोषणा गरिसकेको अवस्थामा काठमाडौं महनगरपालिकाले विद्यालयभित्र कुनै किसिमको राजनीति वा बन्द हडताल बन्देज गरेको जनाए। उनले आइतबार बिहानैदेखि महानगरले आफ्नो संयन्त्र तथा स्रोत परिचालन तथा नियमन गरी बल प्रयोग गर्नेलाई तत्काल कारबाही गर्ने जनाए।

शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गरी देशभरिका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रूपमा सञ्चालन गर्न निर्देशन दिएको थियो। परिषद्ले कर्मचारीको विभिन्न सेवासुविधासहित पेसागत स्थायित्वको माग नीति तथा कार्यक्रममा सम्बोधन भएको तर जेठ १५ गतेको बजेटमा सम्बोधन नभएको भन्दै आन्दोलन गर्दै आएको छ।  

प्रकाशित: ३ असार २०८० ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App