२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

बागलुङ विद्यालयमा अतिथि शिक्षक कार्यक्रम सञ्चालन

शिक्षकहरु जुन विद्यालयमा अध्यापन गर्छन उनीहरुले दैनिक आफ्ना विद्यार्थीलाई कसरी पढाउने बाहेक अन्य कुरा सोच्दैनन। आफ्नो विद्यालयको शैक्षिक सुधार कसरी गर्ने भन्ने मात्र चिन्ता हुन्छ।  किनही अहिलेसम्म चलिरहेको परम्परा नै त्यही छ। जुन विद्यालयमा नियुक्त भयो त्यही विद्यालयबाट अवकास हुने पनि धेरै छन। आफ्ना सिप र अनुभवहरु वर्षौ सम्म एउटै विद्यालयमा उनै विद्यार्थीलाई बाँढ्ने बाहेक केही हुँदैन। न अन्य  विद्यालयमा पुगेर आफ्नो ज्ञान सिप र शैली बाँडेका छन न लिएका छन्।

जिल्लाको बागलुङ नगरपालिकाले भने अब एउटा विद्यालयको शिक्षकलाई अर्को विद्यालयमा पढाउन पठाउने भएको छ। नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षक अब वर्षको १ दिन अर्को विद्यालयमा गएर पढाउनुपर्ने भएको छ।

नगरपालिकाले विद्यालयमा अतिथि शिक्षक कार्यक्रम संचालन गरी यो प्रावधान ल्याएको हो। कार्यक्रम लागु भए सँगै एउटा विद्यालयमा पढाउने शिक्षकको ज्ञान सिप र शैली अर्को विद्यालयका विद्यार्थीले प्राप्त गर्ने भएका छन्। चालु आर्थिक वर्षको निति तथा कार्यक्रम मार्फत नै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले यो कार्यक्रम ल्याएका थिए अहिले कार्यान्वयनको भै रहेको छ।

शिक्षक विद्यार्थीहरुलाई फरक–फरक  शिक्षक र शिक्षण शैलीको अनुभव गराउन र शिक्षकहरु विच सिकाई अनुभव आदान प्रदान गर्ने मुल उद्देश्यले अतिथि शिक्षक कार्यक्रम संचालन गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए। कार्यक्रम माफर्त विद्यालयको शिक्षण शैली र सिकाई अनुभवलाई थप प्रभावकारी बन्ने विश्वास लिइएको छ। ‘राम्रा अभ्यासको अबलम्बनको लागि विद्यालयलाई जागरुक बनाउनु तथा विद्यार्थी विचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो पोखरेलले भने,–‘कार्यक्रमले विद्यार्थीहरुको पढाईप्रति स्वउत्प्रेरणा जगाउनुका साथै विद्यालयले अपलम्बन गरेको राम्रो अभ्यासको पालिकाभरका स्कुलमा लागु गरिनेछ । यसले शिक्षाको गुणस्तर सुधारका निम्ती  सहयोग गर्नेछ।’

नगरपालिकाका संस्थागत र सामुदायिक विद्यालयका हरेक विषयका विषयगत शिक्षकहरुले अब अन्य विदालयमा पुगेर अनिवार्य रुपमा कक्षा संचालन गर्नुपर्ने नगरपालिकाका शिक्षा अधिकृत गौरव राना मगरले बताए। रानाका अनुसार नगरपालिकाले विषयगत शिक्षकलाई नियुक्ती पत्र नै दिएर १ दिन कक्षा संचालन गर्ने र १ दिन अर्को विषयगत शिक्षकको कक्षा हेर्नेछन। कक्षा संचालन गर्दा जुन विद्यालयमा जुन विषयको शिक्षक पुग्छ सोही विषयको शिक्षकले विद्यार्थी सँगै बाहिरबाट गएको शिक्षकको अनुभव सिक्ने छ।

‘एउटा विद्यालयमा एउटा विषयको एउटा कक्षा संचालन हुन्छ, त्यो कक्षामा सोही विद्यालयको विषयगत शिक्षक पनि सँगै बस्छ। रानाले भने,–‘सोही विद्यालयको विषयगत शिक्षकको अध्यापन गर्ने शैली हेरेपछी विद्यार्थी सँगै अनुभव प्राप्त गरेको शिक्षक अर्को विद्यालयमा जान्छ र उसको अनुभव पनि विषयगत शिक्षकले हेर्ने छ बुझन्ेछ। तत पश्चात सुझावहरु आदानप्रदान हुनेछ। यसले गर्दा विद्यार्थीहरुमा पनि थप उत्सुकता हुन्छ। एक अर्काको अनुभवहरु र अध्यापन गर्ने शैली आदान प्रदान हुनेछ।’

नगरपालिकाले पहिलो चरणमा गणित, विज्ञान, अंगेजी र नेपाली विषयबाट सुरुवात गरेको रानाले बताए। त्यसका लागि मंगलबार अभिमुखिकरण कार्यक्रम संचालन गरिएको थियो। नगरपालिकामा अहिले माध्यामिक तहमा मात्र यो कार्यक्रम संचालन हुनेछ। नगर क्षेत्र भित्रका २४ वटा सामुदायिक विद्यालय र १६ वटा संस्थागत विदालयमा उक्त कार्यक्रम संचालन हुने रानाले बताए।

कक्षा संचालन जुन विद्यालयको विषयगत शिक्षकले कक्षा जहाँ पु¥याएको छ त्यहीबाट संचालन गरिनेछ। शिक्षकहरुले अर्को विद्यालय जाँदा आफ्नो विद्यालयले अबलम्बन गरेको असल अभ्यासको बारेमा प्रध्यानध्यापक तथा विषयगत शिक्षकलाई जानकारी दिनेछन भने  आफुले अध्यापन गरेको पाठको पाठयोजना सहितको प्रतिवेदन विद्यालयमा र शिक्षा शाखामा बुझाउने छन।

अथिति शिक्षक कार्यक्रमले एक अर्को विद्यालयको अर्को विद्यालयलाई पढन पाठन गर्ने शैलीको आधानप्रदान हुने नगर उपप्रमुख राजु खड्का बताउँछन। विषेश गरी निजी विद्यालय र सामुदायिक विद्यालयको अनुभव आदान प्रदान गर्नका निम्ती यो कार्यक्रम संचालन गरिएको खड्काले बताए। ‘हामी नगरपालिकाको शैक्षिक गुणस्तरलाई सुधार गर्ने दृढ संकल्प साथ अगाडी बढ्ेका छौं। एउटा विद्यालयमा हुने शैक्षिक गतिविधिका बारेमा अर्को विद्यालयलाई थाहा भयो भने यसले थप सहयोग पुग्ने छ, खड्काले भने,–‘यसले केही नतिजा ल्याउनेमा विश्वास लिएका छौं। नगरपालिकाले एक विद्यार्थी एक डेक्स कार्यक्रम पनि अगाडी बढाएको उनले बताए।

बागलुङ नगरपालिकामा ८४ वटा सामुदायिक विद्यालय र १८ वटा संस्था माध्यामिक विद्यालय छन। अतिथि शिक्षक कार्यक्रममा हरेक विद्यालयका प्रध्यानध्यापकलाई अनुगमन कर्ताको रुपमा खटाउने  नगरपालिकाले निर्णय गरेको छ। कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ११ का वडा अध्यक्ष  ज्ञानेन्द्र गौतमले शिक्षा क्षेत्रको सुधारका निम्ती नगरपालिकाले आगामी दिनमा पनि  अझै प्रभावकारी कार्यक्रम संचालन गर्ने बताए।  

प्रकाशित: ३१ जेष्ठ २०८० १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App