८ वैशाख २०८१ शनिबार
शिक्षा

पढाइ मेलामा विद्यार्थीहरुका सिर्जना, सीप र कला प्रतिभाहरु प्रदर्शन

जुम्लाको हिमा गाउँपालिकाले दुई दिने पढाइ मेला सम्पन्न गरेको छ। गणतन्त्र दिवसको अवसरमा गाउँपालिकाले पालिकास्तरीय पढाइ मेला आयोजना गरेको थियो। बालबालिकाको प्रतिभा पहिचानका लागि जुम्लामा पढाइ मेलाको आयोजना गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए।  

उक्त दुई दिने मेलामा पालिकाभित्रका २० विद्यालयहरु सहभागी थिए। विद्यालयहरुले विद्यार्थीहरुमार्फत आफ्ना सिर्जनाहरु, सीप र कला प्रतिभाहरु प्रदर्शन गरेका थिए।प्रतिभा प्रस्फुटनको लागि पढाइ मेला गरिएको अध्यक्ष शाहीले जानकारी दिए।  

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले हिमा गापाले सिर्जनात्मक र नयाँ कामको सुरुआत गरेको बताए। प्रमुख आचार्यले भने,पढाइ मेला विद्यार्थीको प्रतिभा पहिचान गर्ने, उनीहरुको ज्ञान सीपको सम्मान गर्ने र विद्यालयको पढाउने तरिका देखाउने माध्यम हो।विकासको आधारशिला नै शिक्षा भएकोले पढाइमेला सञ्चालन गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उदाहरण प्रस्तुत गरिएको अध्यक्ष शाहीले बताए।

बालबालिकाको भविष्य घर आँगनमा नै तयार पार्ने गरी शिक्षाको जग बसाल्ने प्रयास हो,पढाइ मेला त्यसैको निरन्तरता हो।उपाध्यक्ष सुपुर्ना शाहीलेशिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताइन्।शिक्षाको दियो चम्किलो नहुन्जेल हिमा उज्यालो हुने छैन, उनले भनिन्,त्यो दियो चम्किलो बनाउने काम विद्यालयले दिने शिक्षा र पढाइ मेला जस्ता सिर्जनशील कार्यक्रमले गर्नेछ।

पढाइ मेलामा हरेक वडाभित्रका विद्यालयलाई सामूहिक रुपमा स्टल प्रदान गरिएको थियो। स्टलमा विद्यार्थीले तयार पारेका स्थानीय उत्पादनलाई प्रदर्शनीका रुपमा राखिएको थियो। जसमा दैनिक रुपमा उपयोग हुने सामग्रीहरु थिए।

नेत्राज्योति माध्यामिक प्राविधिक विद्यालयका विद्यार्थी भीमबहादुर बुढाले भने,हामीले पढाइ सँगसँगै सीप पनि सिकिरहेका छौं। च्याउ खेतीलगायत विभिन्न किसिमका तरकारी खेती पनि विद्यालयमा हुने गरेका छन्।पढाइ मेलामा बालबालिकाले बनाएका सीपहरुको पढाइ मेलाले पालिकाका विद्यालयलाई प्रतिस्पर्धी बनाएको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए। पढाइसँगै व्यवहार सिकाउन यो पढाइ मेला सार्थक भएको उनको भनाई छ। 

निजी विद्यालय प्रतिको आर्कषण घटाउन, सामुदायिक विद्यालयको शिक्षालाई व्यावहारिक एवम् जीवन उपयोगी बनाउन, विद्यालय सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउन पढाइ मेला आयोजना गरिएको हिमाले जनाएको छ। हिमा गाउँपालिका–२ काइरेलीस्थित हिमा आधारभूत विद्यालयमा आयोजित पढाइ मेलामा पालिकाका ७ वडाका सात विद्यालयले विभिन्न शैक्षिक स्टल प्रदर्शन गरेका थिए। जसमा स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका कृषि तथा उद्यमशीलता सामाग्री, विषयगत पठन सामाग्री निर्माण, विद्यार्थीहरूले आफैं निर्माण गरेका सृजनात्मक सामाग्रीहरू– कथा, कविता, निबन्ध, गीत, चित्रकला, हस्तकलाका सामाग्री, विद्यालय स्तरमा बनेका शैक्षिक सामाग्रीलगायत विभिन्न स्टलहरू प्रदर्शनीका रुपमा राखिएको थियो। देउडा गीत, निबन्ध, वक्तृत्वकला, हाजिरीजवाफ, नृत्य र कम्प्युटर टाइपिङ प्रतियोगिता समेत गराइएको थियो। बाहृय ज्ञान प्राप्तिका लागि मेमोरी गेम समेत खेलाइएको थियो। मेलामा गाउँपालिकाको शिक्षा नीति–२०७९ समेत विमोचन गरिएको थियो। पालिकाभर रहेका २३ वटा सामुदायिक विद्यालयकै शैक्षिक अवस्था सुधार गर्न, बालबालिकाको पहुँच वृद्धिका लागि शिक्षा नीति एक नमुना हुने अपेक्षा गरिएको अध्यक्ष शाहीको भनाइ छ। पढाइ मेलामा पालिकाभरका अभिभावक, शिक्षक तथा विद्यार्थीसहित जिल्लास्थित सरोकारवालाहरू गरी करिब दुई हजारभन्दा बढीले मेलाको अवलोकन गरेका थिए।

प्रकाशित: १७ जेष्ठ २०८० ०४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App