२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सेन्ट जेभियर्समा सर्वसाधारणको लागि कोटा बढाएर भर्ना प्रक्रिया सुचारु

ललितपुर जावलाखेलमा रहेको सेन्ट जेभियर्स स्कुलको चैत्र ९ गते स्थगित भएको कक्षा १ को भर्ना प्रक्रिया सर्वसाधारणको लागि कोटा बढाएर सुचारु गरिने भएको छ।

ललितपुर महानगरपालिका र स्कुलबिच भएको बैशाख ५ गतेको सहमति अनुसार अब सर्वसाधारणले ६३ प्रतिशत कोटा तय गरिएर भर्ना खुला गरिएको महानगरपालिका शिक्षा विभाग प्रमुख महेन्द्र क्षेत्रीले जनाए। यस अघि यो कोटा ४० प्रतिशत मात्र थियो।

‘अभिभावक तथा विद्यार्थीको आकर्षण सेन्ट जेभियर्समै छ। त्यही भएर खुला तर्फको कोटा ४० प्रतिशतबाट ६३ प्रतिशतमा पुर्‍याएर भर्ना प्रक्रिया सुरु गराउन महानगर र स्कुलको सहमति भयो,’ शिक्षा विभाग प्रमुख क्षेत्रीले सहमतिपछि नागरिकसँग भने ‘कक्षा १ मा एक सय ७० सिटमध्ये अब सय ७ सर्वसाधारणको पहुँचमा भयो यो सकारात्मक पक्ष हो।’ उनले थपे ‘स्कुलमा कार्यरत शिक्षक र कर्मचारीको छोराछोरीकोलागि भने १२ प्रतिशत कोटा छुटाइएको छ।’

स्कुल व्यवस्थापन समितिका अध्यक्ष फादर अमृत राईका अनुसार महानगर र स्कुलसँग भएको सहमति अनुसार ५ प्रतिशत दलित समुदायका बालबालिका, सीमान्तकृत एवं विपन्न, एकल महिला, शारीरिक रूपले अक्ष भएका व्यक्तिका बालबालिकाकालागि १० प्रतिशत, अल्पसङ्ख्यक समुदायका बालबालिकालाई १० प्रतिशत सिट तोकिएर यही आधारमा अब आउँदो शनिवार अर्थात् अप्रिल २४ तारेखदेखि भर्ना प्रक्रिया सुरु गरिने उनले जनाए।

‘अप्रिल २६ मा लटरी प्रक्रियाबाट विद्यार्थीको भर्नाकोलागि छनौट गरिने छ,’ फादर अमृतले नागरिकसँग भने ‘मे २ तारेखबाट कक्षा सुरु हुन्छ। यो वर्ष विद्यालयमा अध्ययनरत विद्यार्थीका सहोदर भाइबहिनी कोटा हटाइयो। यसले अभिभावक र बढी जसो स्कुलमा अध्ययनरत बालबालिकाको भाइबहिनीलाई मानसिक तनाव हुने देखिन्छ।’ उनले थपे ‘तर अर्को तर्फ खुला ६३ प्रतिशत पुर्‍याएर धेरै भन्दा धेरै सर्वसाधारणलाई अवसर पाउनु पनि सकारात्मक पक्ष हो।’

यसैगरी यो वर्षदेखि पूर्व विद्यार्थीका छोराछोरी, ललितपुर महानगरपालिका बडा नम्बर ४ का स्थायी बासिन्दा र ललितपुर महानगरपालिकाका क्षेत्रभित्रका स्थायी बासिन्दाको कोटा हटाइएको फादर अमृतले जनाए।

प्रकाशित: ७ वैशाख २०८० १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App