१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै

फाइल तस्बिर

रुकुमपश्चिममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाभर ९२ पक्की विद्यालय भवन निर्माण भइरहेका छन्। चालु आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको हो।  

छ स्थानीय तह मिलेर बनेको रुकुमपश्चिममा तीन गाउँपालिका र तीन नगरपालिका छन्। त्यसमा सबै स्थानीय तहमा अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोट भएका पक्की विद्यालय भवन निर्माणको काम जारी छ।

केही ठाउँमा विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा छ भने केही ठाउँमा एक तलाको काम सम्पन्न गरेर दुई तलाको काम चलिरहेको छ। सानीभेरी गाउँपालिकामा राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १७ सामुदायिक विद्यालय छनोट भएकामा सबै सामुदायिक विद्यालयका भवन निर्माणको काम भइरहेको गाउँकार्यपालिका प्रवक्ता पहलसिंंह घर्तीले बताए।  

त्यस्तै त्रिवेणी गाउँपालिकामा पनि सो कार्यक्रमअन्तर्गत छनोट भएका २४ सामुदायिक विद्यालयका भवन निर्माणको काम जारी रहेको गाउँकार्यपालिकाका प्रवक्ता सुन्दर ओलीले जानकारी दिए। उनका अनुसार कुनै विद्यालय भवन ठेकेदारमार्फत निर्माण भइरहेका छन् भने कुनै स्थानीय निर्माण समितिमार्फत काम भइरहेको छ।  

निर्माणकार्य सञ्चालन भइरहेका सामुदायिक विद्यालयमा गाउँपालिकाले बेला–बेलामा अनुगमन पनि गरिहेको त्रिवेणीका प्रवक्ता ओलीले बताए। चालु आवमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आठबीसकोट नगरपालिकामा १९, चौरजहारी नगरपालिकामा १२, बाफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा १०–१० सामुदायिक विद्यालयका भवन निर्माण कार्य जारी छ।  

निर्माण भइरहेका सामुदायिक विद्यालयमा दुईकोठे, चारकोठे भवन हुनेछन्। त्यसमा दुईकोठे भवन निर्माणका लागि रु २५ लाख र चारकोठे भवनका लागि रु ५० लाख बजेट खर्च हुने छ। उक्त सामुदायिक विद्यालयमा भवन निर्माण गर्न चालु आवमा रुकुमपश्चिममा ९२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका थिए।

प्रकाशित: १० चैत्र २०७९ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App