२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

भक्तपुरमा शैक्षिक प्रदर्शनी सुरु

भक्तपुरको ख्वप कलेजले देकोचामा बुधबारदेखि दुईदिने शैक्षिक प्रदर्शनी सुरु गरेको छ। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको २३औं, ख्वप कलेजको २१औं र शारदा क्याम्पसको ३२औं वार्षिकोत्सव तथा ख्वप कलेज अफ लको स्थापना एवं सञ्चालनको अवसरमा प्रदर्शनी सुरु भएको हो।

कलेजका प्राचार्य एव वार्षिकोत्सव समारोह मूल समारोह समितिका संयोजक रूपक जोशीले प्रदर्शनीमा एक सयभन्दा बढी स्टल रहेको जानकारी गराए। प्रदर्शनीमा कलेजमा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययनरत दुई हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष सहभागी रहेको उनले जनाए। कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँचवटा संकायमा ११ देखि स्नातकोत्तर तहसम्म पढाइ हुने गरेको छ। प्रदर्शनीमा विद्यार्थीले आफूले पढेका विषयसँग सम्बन्धित स्टलहरू राखेका छन्। यसअघि वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले गरेका थिए।  

वार्षिकोत्सवकै अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। कलेजमा विभिन्न संकायमा अध्ययनरत मास्टर्ससम्मका त्रिविबाट सञ्चालित बोर्ड परीक्षामा वर्षगत, सेमेस्टरगत तथा संकायगत परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल ख्वप कलेज तथा शारदा क्याम्पसका विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो। कार्यक्रममा १० वर्षसम्म निरन्तर सेवारत शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको थियो। साथै वार्षिकोत्सव अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टिमहरूलाई पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। 

प्रकाशित: ४ फाल्गुन २०७९ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App