शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखा भक्तपुरमा विदेश अध्ययन गर्न अध्ययन अनुमति लिनेको बिहीबार बाक्लो भिड थियो। उपस्थित सबै विद्यार्थी किशोर किशोरी समूहका थिए। उनीहरू जसरी पनि अनुमति लिएर विदेशमा अध्ययनका लागि उड्ने तरखरमा देखिन्थे।
स्वदेशमा चार वर्षे स्नातक तह पाँच वर्षमा पनि पुरा नहुनु , कोर्ष परिमार्जन नहुनु, कमाइ र पढाइको व्यवस्था नहुनु र वार्षिक परीक्षाको नतिजाका लागि एक वर्षसम्म कुर्नुपर्ने जस्ता बेथितिका कारण विद्यार्थीमा स्वदेशी शिक्षाप्रति निराशा बढ्दै गएको पर्सा वीरगन्जका निरज शुक्लाले बताए। उनी अष्ट्रेलियाको एक विश्वविद्यालयको अफर लेटर लिएर एनओसी लिन काठमाडौं आएका हुन्। तीन दिनदेखि एनओसीका लागि सास्ती खेपेका उनी जसरी भए पनि विदेशिन चाहन्छन्।
आइटिमा स्नातक अध्ययनका लागि उनी अष्ट्रेलिया जान लागेका हुन्। २० वर्षीय निरज परिवारमा एक्लो सन्तान हुन्। ‘म विदेश रहरले होइन, बाध्यताले जान लागेको हुँ। नेपालमा अध्ययन गर्दा आमाबुवामाथि आर्थिक रूपमा भर पर्नुपर्छ। घरबाट चार वर्षको रासनपानीको व्यवस्था गरी काठमाडौं आइन्छ तर कोर्ष पाँच वर्षभित्र पनि पूरा हुँदैन,’ निरजले भने, ‘बरु विदेशमा राम्रो शिक्षा पनि पाइने र लगानी गरेको रकम आफैंले कमाएर उठाउन सकिने व्यवस्था छ। म कमसेकम आत्मनिर्भर त बन्नछु। हाम्रो देशमा विद्यार्थीका लागि त शैक्षिक लोनको पनि व्यवस्था छैन। बरु विदेश जानेलाई बैंकले लोन पनि दिने रहेछ।’
निरज मात्र होइन बिहीबार एनओसी लिन आवेदन दिनेहरू ६ सय ८७ रहेकामध्ये मन्त्रालयको एनओसी शाखाले कागजात पुगेका ५ सय १४ लाई मात्र एनओसी जारी गरेको शाखा प्रमुख वासुदेव वस्तीले बताए।
‘शाखामा दैनिक एनओसी लिन आउनेको भिड देख्दा देशको अवस्था निकै डरलाग्दो लाग्छ। किनभने एक दिन हाम्रो देशका सबै युवा विदेशिने र वृद्धवृद्धाको मात्र देश बन्न सक्ने जोखिम बढेको सहजै अनुमान गर्न सकिन्छ,’ कार्यालयमा काम गर्न भ्याइनभ्याइ अवस्थाको वर्णन गर्दै प्रमुख वस्तीले भने, ‘ अझ दुःद लाग्दो कुरा त विद्यार्थीहरू कुनै नयाँ विषय नभएर नेपालमै पढाइने विषयमा पनि एनओसी लिइरहेका हुन्छन्। साउनदेखि मंसिर महिनाभित्र हाम्रो शाखाले ३८ हजा ६१ जनाको एनओसी जारी गरिसक्यो। वर्षको अन्त्यभित्र एक लाख बढी छ। राजस्व त १ करोड २१ लाख ३२ हजार शुल्कबाटै उठेको छ। तर यो खुसी हुने विषय भने होइन।’ अर्कातर्फ राष्ट्र बैंको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म २२ अर्ब ६१ करोड उच्च शिक्षाका लागि बाहिरिएको छ। गत वर्षको तथ्यांक हेर्ने हो भने उच्च शिक्षामा ६८ अर्ब विदेशिएको थियो। ‘अब सरकारले विदेशमा उच्च शिक्षामा रकम बाहिरनलाई रोक्नु पर्छ। यसकोलागि हाम्रो शैक्षिक गुणस्तर कायम राख्नु पर्यो र विद्यार्थीकोलागि पढाइसाथै कमाइको पनि वातावरण बनाउनु पर्छ,’ वस्तीले भने।
पाँच महिनको तथ्यांक हेर्दा कुल ५९ देशमध्ये सबै भन्दा बढी विद्यार्थी अष्ट्रेलियका विभिन्न शैक्षिक संस्थामा अध्ययनका लागि एनओसी लिएका छन्। यो देशका लागि एनओसी लिने विद्यार्थीको संख्या १० हजार ७ सय ९९ रहेको छ भने दोस्रोमा जापान छ। यसका लागि ६ हजार ६ सय २५ ले एनओसी लिएका छन् भने क्यानाडाका लागि एनओसी लिने विद्यार्थीको संख्या ६ हजार ५ सय ३१ छ। यसैगरी बेलायतका लागि ५ हजार ३ सय ४ र अमेरिका १ हजार ५ सय ५९ ले एनओसी लिएका छन्। यी विद्यार्थीहरू मेडिकल, नर्सिङ, इन्जिनियरिङ, आइटी, होटेल व्यवस्थापन, कम्प्युटर साइन्स, भाषा विज्ञान, व्यवस्थापन विषयमा नै एनओसी लिएको वस्तीले बताए।
‘मन्त्रालयका अब एनओसीमा केही कडाइ गरेको छ। अब नेपाली रकम विदेशिनबाट बचाउन डलर सटही गरेको रकम फिर्ता गरेपछि मात्र नयाँ वा अर्को एनओसी जारी गर्ने व्यवस्था गरिएको छ। यसका लागि मन्त्रालयले सफ्टवेयर पनि अपडेट गरिसकेको छ,’ प्रमुख वस्तीले भने, ‘नक्कली कागजात पेश गरी एनओसीका लागि आवेदन दिने ८ शैक्षिक परामर्श दातृ निकायलाई मन्त्रालयले कारबाही अघि बढाएको छ। अब अफर लेटरको म्याद सकिएपछि विद्यार्थीको सोही आइडीमा अर्को नयाँ एनओसी जारी नगरिने व्यवस्था गरिएको छ। आइडी पत्ता लगाउने सफ्टवेयरसमेत मन्त्रालयले अपटेट गरिसकेको छ।’
प्रकाशित: १० पुस २०७९ ०१:०६ आइतबार